सरकारले अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल

नेपालभ्युज

सरकारले अर्थतन्त्रको शुद्धीकरण गरिरहेको छः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अहिले सरकार चिन्ताजनक अवस्थामा रहेको अर्थतन्त्रको शुद्धीकरण गरिरहेको बताएका छन् ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखिएका चुनौति र समस्या समाधानको लागि अर्थतन्त्रको शुद्धिकरण गरिरहेको बताएका हुन् ।

उनले सबै किसिमले आर्थिक अवस्था सामान्य हुँदा अर्थतन्त्र समस्यामा परिरहेको भन्दै समस्याग्रस्त अर्थतन्त्रको समाधान आफ्नो पहिलो प्राथमिकता रहेको बताए । मन्त्री पौडेलले अर्थतन्त्रका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउन सरकारले प्रयत्न गर्ने प्रतिवद्धता जनाए ।

उनले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको कोरोना महामारी पार गरेको नेपाली अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको बताए । उनले सबै अफ्ठ्याराहरु पार गरेको अवस्था अर्थतन्त्रलाई माथि उठाएर हिँड्न सक्षम पाइलट खोज्ने अवस्थामा किन पुग्नुपरेको भन्दै प्रश्न उब्जिएको बताए।

मन्त्री पौडेलले अर्थमन्त्री भएर आएदेखि मन्त्रालयको कार्यसम्पादन, अभ्यास र अनुभवहरु मुलुकको अर्थतन्त्रका बारेमा सुक्ष्म ढङ्गले अध्ययन गरिरहेको अर्थतन्त्रको समस्याको सार्थक र निर्णायक प्रहार गर्दै समाधानका साथ उपायहरु खोजिरहेको बताए । उनले अर्थमन्त्री भएर आएपश्चात निजी क्षेत्रका समस्याहरु समाधान गर्ने प्रयासहरु गरिएको बताए ।

उनले अर्थतन्त्रका समस्याका कारणहरु सुक्ष्म विवेचना र विश्लेषण गर्दै समाधान गरी नेपाली अर्थतन्त्रलाई अहिलेको अवस्थाबाट गतिशिल बनाएर अगाडि बढाउने संकल्पमा रहेको बताए ।

उनले भने,  ‘हामी आर्थिक रुपमा चिन्ताजनक अवस्थामा छौं किन ? किन अर्थतन्त्रलाई माथि लिएर हिड्न सक्षम पाइलट खोज्ने अवस्थामा छौं । किन इन्जिन ठिक छ वा छैन भन्ने अवस्थामा छौं । मेरो मनमा यी जबरजस्त प्रश्नहरु छन् ।’

मन्त्री पौडेलले राजश्व संकलन चिन्ताजनक अवस्थामा रहेको बताउँदै समस्या समाधानका लागि सरकारले तयारी गरिरहेको बताए । उनले पुँजीगत खर्च नबढेको, निर्माण सामग्रीको अभाव लगायतका समस्या समाधान गर्ने बताए । उनले उत्पादनमुलुक क्षेत्रको खर्च बढाउने, अनुत्पादक क्षेत्रको खर्च, साधारण खर्च घटाउने र आर्थिक अनुशासन कायम गर्नेतर्फ आफू लागेको बताए ।

उनले भने,‘ सरकारको राजश्व परिचालनको सन्दर्भमा जुन चिन्ता छ, यो समस्यालाई समाधान गर्न करको दायरा बढाउँछौं र राजश्व प्रशासनलाई प्रभावकारी बनाउँछौं ।’

मन्त्री पौडेलले सरकार निजी क्षेत्रको कुरा सुनेर अघि बढ्न तयार रहेको बताउँदै निजी क्षेत्रलाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सरकार र निजी क्षेत्र मिलेर सबै समस्या समाधान गर्ने गरि अर्थतन्त्रलाई सही दिशामा ल्याउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved