घनश्याम भुसालको पाँच पेज लामो पत्र र एकीकृत समाजवादीसँगका अपेक्षा

उनले ढिलो चाँडो एमाले र माओवादी केन्द्र पनि एकिकृत समाजवादीकै वैचारिक लाइनमा आउँन बाध्य हुने निष्कर्ष निकाल्दै भनेका छन्–‘ कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकिकृत समाजवादी) कायम रहेको सैद्धान्तिक विन्दूमा नफर्कि सुखै छैन ।’

घनश्याम भुसालको पाँच पेज लामो पत्र र एकीकृत समाजवादीसँगका अपेक्षा

नेपाल भ्युज। चुनावअघि एमाले परित्याग गरी पाँच दलीय गठबन्धनको समर्थनमा रूपन्देही–१ मा स्वतन्त्र उम्मेद्वार बनेका वामपन्थी विचारक घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश गर्ने तयारीमा रहेको समाचार छ । उनले केही दिनभित्रै यसबारे निर्णय लिने र सम्भवत बिहीबार पार्टी प्रवेश गर्न सक्ने बताइएको छ ।

भर्खरै सम्पन्न आमचुनावमा स्थानीय कमिटीबाट सिफारिस भएर पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको टिकट नदिए पछि रुष्ट भएका भुसालले लामो समयदेखि काम गर्दै आएको मातृपार्टी परित्याग गरेका थिए । एमालेको दशौं महाधिवेशनमा ओली इतर समूहको नेताका रूपमा उम्मेदवारी दिएपछि उनको ओलीसँगको सम्बन्ध तिक्ततापूर्णं बन्न पुगेको थियो ।

गठबन्धनको समर्थनका बाबजुद उनी एमालेकै छविलाल विश्वकर्मासँग पराजित भएका थिए । कम्युनिस्ट आन्दोलनभित्रको बौद्धिक विमर्शमा रुचि राख्दै आएका भुसालले अब के गर्लान् भन्ने जिज्ञासा थियो । उनी त्यस्तो पार्टीमा प्रवेश गर्ने मनस्थितिमा पुगेको बताइन्छ, जुन पार्टीको अस्तित्व र भविष्यकै बारेमा अनेक आशंका उब्जेका छन् ।

यस सन्दर्भमा घनश्याम भुसालले पाँच पेज लामो पत्र सार्वजनिक गरेका छन् । त्यो पत्रमा उनले यस प्रश्नको समेत उत्तर दिने प्रयत्न गरेका छन्। नेकपा ( एकीकृत समाजवादी ) को वार्ता समिति संयोजकलाई सम्बोधन गरिएको सार्वजनिक पत्रमा उनले यो प्रश्नलाई समेत छोएका छन् ।

उनले भनेका छन–‘आज पार्टी कति सानो र ठूलो छ भन्ने कुरा गौण हो । पार्टी ठूलो हुनुले मात्रै सबै कुरा हुन्थ्यो भने हामीले दुईतिहाइ शक्तिका साथ संसदमा खडा भएको, संघीय र प्रादेशिक तहका सरकारमा एकछत्र वर्चश्व भएको, असाधारण शक्तिशाली पार्टी बनाएका थियौं। केबल केही व्यक्तिका गुट स्वार्थका लागि त्यत्रो पार्टी ढल्दै गर्दा हस्तक्षेप गर्न नसक्ने संरचना जतिसुकै ठूलो बनाए पनि त्यसले मुलुकलाई केही दिँदो रहेनछ ।’

भुसालले नेकपा (नेकपा) को विभाजनपछि एमाले र माओवादी केन्द्र आफ्नो पुरानै विचार र विरासतमा फर्किएको दाबी गरेका छन् । उनले भनेका छन्–‘ एमालेले नवौं महाधिवेशनभन्दा पछाडि फर्किएर जनताको बहुदलीय जनवादलाई २०४७ सालको संविधानको वरिपरि कैद गर्न पुगेको छ ।

अर्कोतिर माओवादी केन्द्रले मार्गदर्शक सिद्धान्तमा माओवाद नै कायम राखेर सैद्धान्तिक गन्जागोलमा फसेको छ । नेकपा (एकीकृत समाजवादी) भने सैद्धान्तिक रूपमा अहिले पनि नेकपा कै विन्दुमा छ, समाजवादी कार्यदिशामा प्रष्ट छ ।’

उनले ढिलो चाँडो एमाले र माओवादी केन्द्र पनि एकिकृत समाजवादीकै वैचारिक लाइनमा आउँन बाध्य हुने निष्कर्ष निकाल्दै भनेका छन्–‘ कुनै दिन नेपालको कम्युनिस्ट आन्दोलन फेरि एकीकृत हुँदा अहिले नेकपा (एकिकृत समाजवादी) कायम रहेको सैद्धान्तिक विन्दूमा नफर्कि सुखै छैन ।’

उनले एकपटक वामपन्थी आन्दोलनको वरिपरि भएको जनमत र व्यक्तित्वसमेत यसभन्दा बाहिर जान थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले भनेका छन्–‘कम्युनिस्ट तथा वामपन्थी आन्दोलनको समर्थक तथा शुभचिन्तक तर आफूलाई कम्युनिस्ट तथा वामपन्थी नभन्ने तर लोकतान्त्रिक प्रगतिशील विचार भएकाहरूको ठूलो पंक्ति कम्युनिस्ट विचार र आक्रामक हुँदै गएको छ । नयाँ पुस्ता कम्युनिस्ट पार्टीप्रति आकर्षित हुने सम्भावना कमजोर भएको छ ।’

एमाले र माओवादी केन्द्रलगायतका कम्युनिस्ट समूहले पूरा गर्न नसकेका ऐतिहासिक कार्यभारहरू अब एकीकृत समाजवादीले पूरा गर्न सक्नु पर्ने उनको अपेक्षा छ । पत्रमा उनले एकीकृत समाजवादीप्रति यस्तै अपेक्षा व्यक्त गरेका छन् ।

भुसाल भन्छन्–‘अहिलेका कम्युनिस्ट पार्टीहरूमध्ये लोकतन्त्रमा आधारित क्रान्तिकारी कम्युनिस्ट निर्माण गर्न पहलकदमी लिने अवसरलाई नेकपा (एकिकृत समाजवादी) ले एउटा मुख्यकार्यभार बनाएर अगाडि बढाउनुपर्दछ ।

एमाले र माओवादी आआफ्ना इतिहासका संकीर्ण व्याख्यामा फर्किएका छन् । एकिकृत समाजवादी इतिहासका यी जडताबाट मुक्त भई इतिहासको व्याख्या गर्न सक्ने ठाउँमा उभिएको छ । इतिहासमुखी होइन, भविष्यमुखी भएर आन्दोलनका बारेमा सोच्ने असाधारण अवसर छ ।’

भुसालले एमाले र अध्यक्ष ओलीको भने चर्को आलोचना गरेका छन् । उनले त्यस तर्फ लक्षित गर्दै–‘विचारहीन, मूल्यहीन, सिद्धान्तहीन र गुटबन्दी पूर्ण राजनीतिलाई पक्षपोषण गरेको’ आरोप लगाएका छन् । उनले अगाडि भनेका छन्–‘दम्भ र घमण्डलाई योग्यता ठान्ने, पपुलिस्ट चलखेल र षड्यन्त्रलाई नै राजनीति र शक्ति प्रदर्शनलाई नै सफलता देख्ने, आलोचना सुन्नै नसक्ने, सस्तो र झुठो प्रचारमा रमाउने, व्यक्ति पूजक आत्मप्रसंशामा लिप्त हुने, चाकडी र भक्तिलाई नै व्यक्तित्व विकासको वृत्ति ठान्ने प्रवृति विस्तार हुँदै गयो ।’

भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्दा त्यहाँ भने एमालेसँगै एकता गर्नुपर्छ भन्ने धारणा बलशाली हुँदै गएको छ भनिन्छ । कतै भुसालको एकीकृत समाजवादीमा प्रवेश घुमाउरो बाटो हुँदै फेरि एमालेमा पुग्ने राजनीतिक चातूर्य त हैन भन्ने प्रश्न उठ्न सक्ने ठाउँ पर्याप्त छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved