प्रदेश-१ मा माओवादीको असन्तुष्टि, तत्काल सरकारमा नजाने

नेपालभ्युज

प्रदेश-१ मा माओवादीको असन्तुष्टि, तत्काल सरकारमा नजाने

विराटनगर। नेकपा (माओवादी केन्द्र) प्रदेश-१ ले सत्ता साझेदार दलको केन्द्रले गरेको निर्णयप्रति असन्तुष्टि जनाएको छ । केन्द्रीय नेतृत्वले भागबन्डा गर्दा प्रदेश-१ को मुख्यमन्त्री पूर्ण कार्यकाल एमालेलाई दिने निर्णय गरेपछि नेकपा (माओवादी केन्द्र) तत्काल सरकारमा सहभागी नहुने भएको हो ।

माओवादी केन्द्रले निर्णय पुनरावलोकन भए मात्र सरकारमा सहभागिता जनाउने सर्त राखेकाे छ । माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बाले निर्णय पुनरावलोकन नभएसम्म सरकारमा सहभागी नहुने बताए । आधा/आधा कार्यकाल हुनुपर्ने माओवादी केन्द्रको माग छ ।

आङ्बोले केन्द्रको सहमतिले प्रदेशमा माओवादी पार्टीको अपमान भएको बताए । ‘केन्द्रको सहमतिले प्रदेश १ मा माओवादी केन्द्रकाे अपमान भएको छ,’ उनले भने,‘ निर्णय पुनरावलोकन नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौं ।’

आङ्बोले मुख्यमन्त्रीमा आलोपालो हुने बताउँदै आएका थिए । तर, आइतबार साझ बसेकाे सत्तारुढ गठबन्धनको बैठकले प्रदेश १ मा पाँच वर्ष नै एमालेलाई दिने सहमति गरेको थियो ।

एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मतकुमार कार्की आइतबार नै मुख्यमन्त्री नियुक्त भएका थिए । आज उनको शपथग्रहण लिनुका साथै मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी छ ।

सरकारलाई दिएको समर्थन भने यथावत् रहने आङ्बोले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved