४५ रुपैयाँको नुन लिन तीन हजार रुपैयाँ खर्च !

कर्णालीका दुख:-पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउन धाउँदा तीन हजार रुपैयाँ खर्च हुन्छ ।

४५ रुपैयाँको नुन लिन तीन हजार रुपैयाँ खर्च !

सुर्खेत। कालिकोट नरहरिनाथ गाउँपालिका–९ का भीमबहादुर रावल पुस २० गते कालिकोटको खाँडाचक्र नगरपालिका–१ मान्म रहेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड कार्यालयमा नुन लिन आए । उनलाई कार्यालयले अहिले अभाव रहेको भन्दै जम्मा पाँच किलो नुन दियो ।

रावललाई नरहरिनाथ गाउँपालिकाबाट मान्म बजारसम्म नुन लिन आउँदा तीन हजार भन्दा बढी खर्च लाग्यो । नरहरिनाथ गाउँपालिकाबाट मान्म आउन जान दुई दिन लाग्छ । रावलले नरहरिनाथ गाउँपालिकाबाट कर्णाली राजमार्गसम्मको कालेखोलासम्म पाँच सय गाडी भाडा तिरे ।

त्यहाँबाट मान्मसम्म तीन सय थप गाडी भाडा तिरे । ‘मान्मसम्म आउँदा–जाँदा मेरो करिब तीन हजार रुपैयाँ खर्च भयो ।’ उनले भने,‘पाँच किलो नुनको ४५ रुपैयाँ पर्छ । त्यही नुन ल्याउनका लागि तीन हजार रुपैयाँ खर्च भयो ।’

जिल्लामा एउटा मात्र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड हुँदा टाढा–टाढाबाट आउने उपभोक्ताले पाँच किलो नुनका लागि हजारौं खर्च गर्नुपर्ने बाध्यता रहेको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको कार्यालय कालिकोटको खाँडाचक्र नगरपालिकाको मान्म बजारमा मात्र छ । कालिकोटमा आयोडिनयुक्त एक किलो नुनको नौ रुपैयाँ पर्छ ।

जिल्लामा नुनको अभाव भएका कारणले खाँडाचक्र नगरपालिकाका बासिन्दालाई दुई किलो र टाढाका पालिकाबाट आउनेलाई पाँच किलो दिने गरेको साल्ट ट्रेडिङले जनाएको छ ।

कार्यालयका अनुसार केही दिन नुनको अभाव हुँदा डिपो नै बन्द गरिएको थियो । अहिले केही नुन आउँदा उपभोक्ताको दूरी हेरर दिने गरिएको छ ।

जिल्लाको रास्कोट नगरपालिका, तिलागुफा नगरपालिका, महावै गाउँपालिका, पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकाबाट नुन खरिद गर्न आउने उपभोक्ताले महँगो खर्च गर्ने गरेका छन् ।

राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष कृष्णबहादुर शाहीले जिल्लामा हरेक वस्तुको अभाव देखाएर दुःख दिने काम भएको बताए । उपभोक्तालाई सहज रुपमा नुन उपलब्ध गराउन उनले माग गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved