प्रदेश-१ मा भयो भागवण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

नेपालभ्युज

प्रदेश-१ मा भयो भागवण्डा : मुख्यमन्त्री एमाले र सभामुख माओवादीलाई

विराटनगर। प्रदेश-१ मा  मुख्यमन्त्री र सभामुखको भागवण्डा सकिएको छ, जसमा  मुख्यमन्त्री पद नेकपा एमालेले लिने भएको छ । शनिबार साँझ  शीर्ष नेताहरूबीच  भएको छलफलमा एमालेले मुख्मन्त्री र नेकपा माओवादी केन्द्रले सभामुख लिने सहमति जुटेको हो ।

बाँकी प्रदेशको भागबण्डा भने आइतबार साँझ ५ बजे बस्ने सत्ता साझेदार दलहरूको बैठकले टुंगो लगाउने नेताहरू बताउँछन् ।

प्रदेश १ मा मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले पुस १७ गते ७ दिनको समय राखेर दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

एमाले संसदीय दलका नेता हिक्मत कार्कीले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन् । माओवादी केन्द्रका संसदीय दलको नेता इन्द्रबहादुर आङ्बो एमालेले मुख्यमन्त्री लिने अनौपचारिक सहमति बनिसकेको बताउँछन् ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीका अनुसार आइतबार ४ बजे दाबी पेश गर्ने तयारी छ । एमाले, माओवादी केन्द्र, राप्रपा र जसपा गरी ६० सांसदको समर्थनमा उनले दाबी पेश गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved