कृत्रिम रङ होइन प्राकृतिक मेहेन्दीबाटै पाउनुहोस् सुन्दर कपाल

नेपालभ्युज

कृत्रिम रङ होइन प्राकृतिक मेहेन्दीबाटै पाउनुहोस् सुन्दर कपाल

एजेन्सी । कपाललाई सुन्दर, चम्किलो तथा बलियो बनाउन परापूर्वकालदेखि नै मेहेन्दी लगाउने चलन छ । हुन त कपालमा लगाउनका लागि अहिले बजारमा विभिन्न कृत्रिम रङ (हेयर कलर) आएका छन् । यस्ता हेयर कलरले प्राकृतिक मेहेन्दी लगाउने चलन निकै कम भएको छ ।

तथापि, जो आफ्नो कपाललाई रसायनबाट जोगाएर प्राकृतिक रूपमै सुन्दर बनाउन चाहन्छन्, उनीहरूले अहिले पनि मेहेन्दी नै कपालमा लगाउने गर्छन् ।

किनकि, मेहेन्दी आफैँमा प्राकृतिक रङ भएकाले यसले कपाललाई हानि गर्दैन । मेहेन्दी कपालमा किन, कसरी र कस्तो अवस्थामा लगाउने ? यसबारे आज हामी जान्ने प्रयास गर्नेछौं ।

कपालमा मेहेन्दी लगाउनका कारण

– फुलेको कपाललाई छोपेर प्राकृतिक रूपमा बर्गन्डी रङको बनाउन मेहेन्दी लगाइन्छ ।
– कपाललाई चम्किलो बनाउन लगाइन्छ ।
– कपालको जरासँगै रेसाहरूलाई बलियो एवं मजबुत बनाउन लगाइन्छ ।
–  कपालमा चाँया कम गर्न तथा चिलाउने समस्यालाई कम गर्न पनि मेहेन्दी लगाइन्छ ।
– कपालमा मेहेन्दी लगाउँदा यसले कन्डिसनरको रूपमा पनि काम गर्छ ।

यस्तो कपालमा लगाउन हुँदैन

– वातावरण तथा विभिन्न रोगका कारण अत्यधिक सुक्खा र फुंग भएको कपालमा मेहेन्दी लगाउनुहुन्न । यसले अझ सुक्खा बनाउँछ ।
– कृत्रिम रङ (कलर) गरेको तथा हाइलाइट गरेको कपालमा मेहेन्दी लगाउनु हुँदैन । यस्तो कपालमा मेहेन्दी लगाउँदा त्यो कपाल झन् सुक्खा हुन्छ ।
–  कपाललाई स्ट्रेट बनाउनु छ भने त्यस्तो कपालमा मेहेन्दी लगाउनु हुँदैन ।

मेहेन्दी लगाउने विधि

आजभोलि प्राकृतिक मेहेन्दी पनि बजारमा धुलो (पाउडर)को रूपमा तयारी प्याकेटमा किन्न पाइन्छ । त्यसैले यस्तो तयारी मेहेन्दी किनेर ल्याउने ।

मेहेन्दीको आवश्यक धुलो (पाउडर)मा मेथीको केही मात्रा धुलो पाउडर मिसाउने । अनि त्यसमा थोरै तोरीको तेलसँगै आवश्यक पानी राखेर भिजाउने । यसमा अन्डा पनि मिसाउन सकिन्छ ।

यसरी रातभरि भिजाएको मेहेन्दीलाई भोलिपल्ट लगाउने । हातमा पञ्जा लगाएर मात्र अनुहार तथा अन्य छालामा नपर्ने गरी मेहेन्दी लगाउने ।

यसरी मेहेन्दी लगाइसकेपछि ४५ मिनेटसम्म त्यसलाई राख्ने । अब सफा पानीले कपाल धुने । त्यसपछि कपालमा मेहेन्दीको रङ देखिन्छ । यसरी लगाएको मेहेन्दी निकै लामो समयसम्म कपालमा रहन्छ ।

साथै मेहेन्दीमा दही मिसाएर लगाउन पनि सकिन्छ । यदी तपाईंको कपाल रुखो र सुख्खा भएको छ भने मेहेन्दीमा दही मिसाएर लगाउँदा रंग धेरै नबसे पनि कपाल भने चम्किलो र सिल्की हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved