चुनावी पराजय अस्वीकार गर्दै ब्राजिलका निवर्तमान राष्ट्रपति अमेरिका उडे

नेपालभ्युज

चुनावी पराजय अस्वीकार गर्दै ब्राजिलका निवर्तमान राष्ट्रपति अमेरिका उडे

ब्रासिलिया । ब्राजिलका निवर्तमान राष्ट्रपति जायर बोल्सोनारो शुक्रबारअमेरिका पलयान भएका छन् । आफ्नो उत्तराधिकारीले सपथ लिनुभन्दा दुई दिनअघि अनुयायीसँग रुँदै बिदाइ भएर उनी अमेरिका गएका हुन् ।

उनी आफ्नो चुनावी हार स्वीकारेका छैनन् । उनले स्थानीय समयअनुसार अपराह्न २:०० बजे वायु सेनाको विमानबाट अमेरिकाको फ्लोरिडाका लागि प्रस्थान गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।

सिएनएन ब्राजिलले बोल्सोनारोलाई उद्धृत गर्दै भनेको छ, ‘म उडिरहेको छु, म चाँडै फर्कनेछु ।’ ‘एभिएसन ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयर’का अनुसार उनको विमान स्थानीय समयअनुसार शनिबार राति ९ बजेपछि ओर्लान्डोमा अवतरण गरेको थियो ।

यसको अर्थ उनले आइतबारको सपथ ग्रहण समारोहमा भाग लिने छैनन् अर्थात् उनले नवनिर्वाचित राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई पदभार हस्तान्तरण गर्ने छैनन् ।

बोल्सोनारो प्राविधिक रूपमा थप दुई दिनका लागि राष्ट्रपति भने रहिरहनेछन् । आरएनआर टेलिभिजनका अनुसार उनको कार्यकालमा उपराष्ट्रपति रहेका ह्यामिल्टन मौराओ अहिले कार्यवाहक राष्ट्रपति रहेका छन् र उनले शनिबार देशका नाममा सम्बोधन गर्नेछन् ।

भ्रमणको समय र उद्देश्यबारे एएफपीले सोधेको प्रश्नको जवाफ राष्ट्रपतिले दिन चाहेनन् ।

यसअघि शुक्रबार बोल्सोनारोले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण भएको एक सम्बोधनमा आफ्ना समर्थकलाई ‘जनवरी १ मा लुलाले राष्ट्रपतिको कार्यभार सम्हाल्दा संसारको अन्त्य हुने छैन’ भनेका थिए ।

उनले भने, ‘हाम्रो भविष्य राम्रो छ । अहिलेलाई युद्ध हारेको जस्तो भएको छ, तर हामी युद्ध हार्ने छैनौं ।’

एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved