नेम्वाङ भन्छन्- ‘पानी बाराबारको स्थिति सकियो, माओवादी केन्द्रसँग पनि सहकार्य हुनसक्छ’

‘कसैको बहुमत आएन, अब मुलुक अस्थिरतातर्फ जान्छ भनेर कतिपयले भनेको सुनेँ । हामीले संविधानमा नै मिश्रित निर्वाचन प्रणाली भन्यौँ, यो भनेको त हामीले त्यसलाई स्वीकारेका छौँ भनेका होइनौँ र ?’

नेपालभ्युज

नेम्वाङ भन्छन्- ‘पानी बाराबारको स्थिति सकियो, माओवादी केन्द्रसँग पनि सहकार्य हुनसक्छ’

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अबको आवश्यकता दलहरूबीचको सहकार्य भएको बताएका छन् ।

अहिले नयाँ परिवेश बनिसकेको र त्यसअनुरूप नै दलहरू चल्नुपर्ने भन्दै उनले नेपालभ्यूजसँग भने, ‘दलहरूबीच पानी बाराबारको स्थिति सकियो, अब मिलेर अगाडि बढ्नुको विकल्प देख्दिनँ ।’

एमाले-माओवादी केन्द्रबीच पनि लगातार संवाद भइरहेको छ, मिलेर अगाडि बढ्नसक्ने स्थिति बन्छ ? भन्ने जिज्ञासामा उनले कूटनीतिक जवाफ दिए— हामी पाएको जनादेशअनुसार अगाडि बढ्छौँ ।

त्यसअघि उनले भनेका छन्, ‘एमाले, कांग्रेसलगायतका सबै दलहरूसँग हामी संवादमा छौँ । यसलाई राजनीतिक भेटका रूपमा बुझ्नुपर्छ । जहाँसम्म एमाले र माओवादी केन्द्रबीच पुन: सहकार्य हुन्छ भन्ने सवाल छ, त्यसमा मैले हुन्छ नै भनेर भन्ने कुरा त रहेन । तर, हुन नसक्ने पनि नहोला ।’

नेपालमा कुनै पनि दलको बहुमत नआउने र दलहरू मिलेरै अगाडि बढ्नुपर्ने अभ्यास रहेको स्मरण गर्दै उनले भने, ‘कसैको बहुमत आएन, अब मुलुक अस्थिरतातर्फ जान्छ भनेर कतिपयले भनेको सुनेँ । हामीले संविधानमा नै मिश्रित निर्वाचन प्रणाली भन्यौँ, यो भनेको त हामीले त्यसलाई स्वीकारेका छौँ भनेका होइनौँ र ?’

संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले भनेका छन्, ‘जबकी संविधानमै हामीले मिश्रित निर्वाचन प्रणालीबारे लेख्यौँ भने अहिले कसैको बहुमत आएन, अस्थिरता आउने भयो भनेर किन रुवाबासी गर्ने ? हामीलाई संविधानले नै मिल्नुपर्‍यो भनेर भन्छ । यसलाई स्वीकार्नु भनेको दलहरूको धर्म हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved