विद्युतमार्फत नै देशको समृद्धि हुन्छ : कुलमान घिसिङ

नेपालभ्युज

529398725757726
कुलमान घिसिङ, फाइल तस्वीर।

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन्।

बिहीबार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताएका हुन्। उनले नेपालमा उत्पादन विद्युत् नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरू भइरहेको बताए।

घिसिङले विद्युत् खपतको लागि चार्जिङ स्टेसनहरू विस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताए। उनले विद्युत् प्रसारण, वितरण र सव स्टेसनको विकास नभई विद्युत् खपत बढाउन नसक्ने बताए। उनले प्राधिकरण गुणस्तरीय विद्युत् र चाहे जति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताए। घिसिङले गाउँ-गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताए।

उनले भने, ‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ। चार्जिङ स्टेसनहरू बढेको छ। प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं। सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं।

विद्युत् प्रसारण वितरण र सव स्टेशनको विकास नभई धेरै विद्युत् खपतको अपेक्षा गर्न सक्दैनौं। विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ। प्राधिकरण निरन्तर,गुणस्तरिय विद्युत् र चाहेजति विद्युत् सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं।

गाउँ-गाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं। यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ। केही वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था आउँदैन। वर्षाको समयमा विद्युत् निर्यात गरिरहेका छौं।

अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताउँदै उनले वर्षाको समयमा विद्युत् निर्यात गरिरहेको भन्दै विद्युत् निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नुभन्दा निर्यात गर्नु राम्रो भएको बताए। उनले विद्युत् खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत् पनि खेर फाल्नु नहुने बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved