संसदीय दलको नेता बन्न गगनलाई सहज छैन, गठबन्धन टुट्न पनि सक्छ

कांग्रेसमा पुस्तान्तरणको बहस

देउवाको विकल्पका लागि संघर्षरत गगनलाई आफ्नै समूहका नेताले पनि साथ दिने वातावरण बनिसकेको छैन । गगनको पुस्तामा सत्ता पर्‍यो भने पुरानो पुस्ताको भविष्य सकिन्छ भन्ने निचोडमा बुढा नेताहरू छन् ।

नेपालभ्युज

संसदीय दलको नेता बन्न गगनलाई सहज छैन, गठबन्धन टुट्न पनि सक्छ

कांग्रेसको आन्तरिक चुनाव होस् या राष्ट्रिय चुनाव पुस्तान्तरणको बिषय निकै पेचिलो ढंगबाट उठ्छ । २०५२ सालमा भएको पुस्तान्तरणलाई उदाहरण दिएर नयाँ पुस्ताले जोड तोडकासाथ यो विषय उठाउने गरेको छ ।

त्यतिबेला, दोस्रो पुस्ताका नेता शेरबहादुर देउवा सर्वसम्मत रूपमा कांग्रेस संसदीय दलको नेता बनेका थिए । जतिबेला कांग्रेसमा गिरिजाप्रसाद कोइराला सर्वशक्तिमान थिए । यही नजिरलाई देखाएर गगन थापा समूहले देउवालाई संसदीय दलको नेताको दौडबाट बाहिरिन आग्रह गर्दै आएको छ ।

देउवा मात्र होइन कार्यवाहक पार्टी सभापति भएका बेला कृष्णप्रसाद भट्टराई, महामन्त्री भएका बेला गिरिजाप्रसाद कोइराला तथा केन्द्रीय सदस्य भएका बेला शेरबहादुर देउवा संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बनेको नेपाली कांग्रेसको इतिहास  छ ।

विगतमा भएका नजिर देखाएर युवा नेताहरूले देउवालाई विश्राम लिन सुझाइरहेका छन् । देउवालाई चुनौती दिन महामन्त्री गगन थापा मैदानमा छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको समेत साथ देखिन्छ । तर, गगन थापा भने आफैँमा ढुक्क छैनन् । यदि, अहिले भए निकै राम्रो र अहिले हुन नसके अर्को पटकका लागि वातावरण बन्छ भन्ने उनको मनसाय देखिन्छ ।

शेरबहादुर देउवा पनि गिरिजाप्रसादसँगको प्रतिस्पर्धामा पटक पटक पराजित भएका थिए र अन्तिममा सफलता हात पारेका हुन् । देउवा अन्तिम पटक सत्ताको श्वाद लिन खोजिरहेका छन् । अर्कोपटक स्वास्थ्य र वातावरण अनुकूल नहोला भन्ने उनलाई लागेको छ । तर, जनस्तरबाट र पार्टीभित्र पनि उनले विश्राम लिइदिए हुन्थ्यो भन्ने मत बलियो देखिन्छ ।

पार्टीभित्रको अंकगणित हेर्दा देउवा बलिया छन् । उनले आफ्नो विकल्प नदेख्नुमा यो पनि एउटा कारण हो । सर्सर्ती हेर्दा गठबन्धनबाट ९१ सिटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सिट जितेको छ । संस्थापन पक्षबाट ५० जनाले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन् ।

शेखर–गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, रामचन्द्र–शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन् । देउवासँग प्रतिस्पर्धा गर्न लागेका गगन थापाले योपटक जस्तो परिणाम आए पनि स्वीकारेर अर्को पटका लागि बलियो बन्ने दाउ हेरेका छन् ।

थापा जनस्तरमा पनि लोकप्रिय छन् । युवामा पनि उनको लोकप्रियता छ । नेपाली कांग्रेसलगायत पुराना दलमा बढेको वितृष्णाका बाबजुद आशाको सञ्चार गराउने व्यक्ति गगन नै हुन् । उनी बोद्धिक पनि छन् । धेरैको चाहना उनी योपटक नै नेतृत्वमा पुगून् भन्ने छ । तर, बाहिरबाट भन्दैमा मिल्दैन दलको विधि र प्रक्रियामा जानुपर्ने हुन्छ । त्यसमा गगन भन्दा देउवा बलियो भएकाले सहज देखिँदैन ।

नयाँ पुस्ताका चुनौती

नयाँ पुस्ताबारे जति नै चर्चा र बहस गरे पनि नेताहरूको सोच परिवर्तन नभएसम्म पुस्तान्तरण हुन सक्दैन । कांग्रेसकै कुरा गर्दा गगनको उडानलाई पुराना पुस्ताले स्वीकार गर्ने अवस्था देखिँदैन ।

देउवाको विकल्पका लागि संघर्षरत गगनलाई आफ्नै समूहका नेताले पनि साथ दिने वातावरण बनिसकेको छैन । गगनको पुस्तामा सत्ता पर्‍यो भने पुरानो पुस्ताको भविष्य सकिन्छ भन्ने निचोडमा बुढा नेताहरू छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बरु देउवा नै नेता बनून् भन्ने लाइनमा छन् ।

आफैँ प्रधानमन्त्रीको लाइनमा रहेका पौडेलले बहुमत जुटाउन नसकेपछि अन्तिममा देउवालाई नै समर्थन गर्ने देखिन्छ । योपटक देउवालाई समर्थन गरे अर्कोपटक आफ्ना लागि बाटो सहज हुने उनको बुझाइ होला ।

त्यस्तै, देउवा र पौडेल पछिका शेखर, शशांक पुस्ताले पनि योपटक गगन नभए अर्को पटक आफ्नो पालो आउला भन्ने योजना बनाएका होलान् । एकपटक युवामा गइसकेपछि फर्केर नआउने देखेपछि नेताहरू डराउन सक्छन् ।

गगन र नयाँ दलको कनेक्सन

गगन थापाले भनेर नयाँ दल उदाउने भन्ने विषयमा तुक नै छैन । पुराना दलप्रतिको वितृष्णाले गर्दा जनताले नयाँलाई रोजेका हुन् । नयाँ दलमा प्राय युवा छन् ।

उनीहरुको रुझानपनि देशमा परिवर्तन ल्याउन सक्ने, नयाँ उर्जा दिन सक्ने, नयाँ पुस्ताले मन पराएको, नयाँ पुस्ताले चाहेको व्यक्ति आओस भन्ने छ । जनस्तरबाट पनि मन पराएकाले गगनप्रति उनीहरू सकारात्मक हुनुलाई अन्यथा किन लिने ? नयाँ दलले गगनलाई मन पराउनुको कारण पनि यही हो ।

गठबन्धनभित्रको बुझाइ

गठबन्धनको सुनिश्चितता गगन आए पनि हुन्छ भन्ने सबै दललाई थाहा छ । उनी पनि राजनीतिक प्राणी हुन् । चलाख र सक्षम राजनीतिज्ञ पनि हुन् ।

सुरुवातमा पार्टीको फोरममा गठबन्धन नगरौँ भनेका हुन् तर पछि फेरी गठबन्धन गर्न कन्भिन्स भएकै हुन् । त्यो हिसाबले शेरबहादुरले गठबन्धनप्रति जुन नीति लिने हुन् गगनले पनि उहीँ नीति लिन्छन् । त्यसमा केही फरक छैन ।

तैपनि, कताकता शेरबहादुर देउवासँग विश्वासको वातावरण बनिसकेको र काम गर्न पनि सहज भएकाले अन्य दललाई नयाँ नेतृत्वप्रति केही आशंका हुन सक्छ । गगनको आनीबानी कस्तो होला, देउवासँग जस्तो सहज नहोला कि भन्ने गठबन्धनमा शंका हुन सक्छ ।

गठबन्धनको भविष्य

गठबन्धनको बैठकको निष्कर्ष हेर्दा र उनीहरूको वक्तव्यलाई आधार मान्दा शंका मेटाउने कसरत देखिन्छ । गठबन्धनप्रति टिकाटिप्पणी भयो, शंका–उपशंका भयो, हामी गठबन्धन कायम रहन्छ भनेर जाऊँ, भोट दिनेलाई निराश नपारौँ भनेर विज्ञप्ति निकालेको होला ।

तर, मुख्य कुरा भनेको को प्रधानमन्त्री हुने भन्ने छ । अढाइ–अढाइ वर्षबीचको कालखण्डमा नेतृत्व परिवर्तन गरेर जाने सहमति भए पनि पहिलो कालखण्डमा को प्रधानमन्त्री बन्ने भन्ने समस्या देखिन्छ । केपी शर्मा ओलीले धोका दिएको माओवादीले बिर्सिएको छैन । त्यसकारण प्रचण्ड अगाडि नै प्रधानमन्त्री बन्ने कसरतमा छन् ।

यता शेरबहादुर देउवाको कोणबाट हेर्ने हो भने गठबन्धनलाई जोगाएर यहाँसम्म मैले लिएर आएँ, मेरो उमेर पनि भइसक्यो थकित भैसकेँ, पछिभन्दा अहिल्यै नै मलाई चाहिन्छ भन्ने होला । सबैभन्दा ठूलो दल भएकाले उनको दाबी स्वाभाविक पनि हो ।

यसबीचमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि खेल्ने सम्भावना छ । उनी चतुर खेलाडी हुन् । यदि, ओलीले प्रचण्डलाई प्रधानमन्त्री अफर गरेर विश्वास दिलाउन सके भने यो गठबन्धन भत्कन सक्छ । यी सबै अवस्था हेर्दा देशको राजनीति तरल अवस्थामा छ । तर, तत्काललाई गठबन्धनको सरकार बन्ला प्रधानमन्त्री शेरबहादुर देउवा होलान् भन्ने मलाई लाग्छ ।

उनीहरूको सहमति अर्कोपटक माओवादीका अध्यक्ष प्रधानमन्त्री बन्ने होला । माधव नेपालले पनि अन्तिमको एक वर्ष मलाई भनेको खबर आएका छन् । यदि, कसैले बीचमा खेल्यो, गठबन्धनका दल  प्रलोभनमा परे भने यो गठबन्धन टुट्न पनि सक्छ ।

( कुराकानीमा आधारित )


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved