प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार

प्रधानमन्त्री देउवाको चुनावी खर्च २६ लाख १२ हजार
फाइल तस्वीरः रासस

काठमाडौं । यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दल र उमेदवार निर्वाचन खर्चको विवरण बुझाउन थालेका छन् ।

निर्वाचन खर्च बुझाउने क्रममा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिमार्फत चुनावी खर्च बुझाएका छन् । निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन् ।

प्रधानमन्त्री देउवाले आफ्ना प्रतिनिधि पार्टीका सहसचिव प्रेमबहादुर महरमार्फत खर्च विवरण पेश गरेका हुन् । उनले निर्वाचनमा २६ लाख १२ हजार खर्च गरेको विवरण निर्वाचन कार्यालयमा पेस गरेको सहसचिव महरले जानकारी दिए । प्रचार सामग्री छपाई, यातायात, खाना, सम्पर्क कार्यालय स्थापना र सञ्चालनलगायत सात शीर्षकमा उक्त खर्च भएको भन्दै विवरण निर्वाचन कार्यालयमा बुझाइएको उनले बताए ।

यस्तै नेपाली कांग्रेस (वीपी) का उम्मेदवार कर्णबहादुर मल्लले१३ लाख आठ हजार, स्वतन्त्र उम्मेदवार कर्णबहादुर रावलले   एक लाख १६ हजार, विक्रमबहादुर शाहीले  दुई लाख दुई हजार एक सय ९० र राप्रपा उम्मेदवार गोविन्द खडायतले  चार लाख ४० हजार खर्च भएको भन्दै विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख करुणाकर अवस्थीका अनुसार डडेलधुरामा प्रतिनिधिसभातर्फ ३१ लाख, प्रदेशसभा (१)का लागि   २१ लाख र प्रदेशसभा (२) का लागि  १९ लाख खर्चको सीमा तोकिएको थियो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभामा आठ र दुई वटा प्रदेशसभामा १२ गरी २० उम्मेदवार रहेका थिए । उनीहरुमध्ये १४ जनाले निर्वाचन खर्च बुझाइसकेको निर्वाचन अधिकारी अवस्थीले जानकारी दिए । उनका अनुसार मंगलबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवाले पनि चुनावी खर्चको विवरण प्रतिनिधिमार्फत बुझाएको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved