३ सदस्यीय पारा तेक्वान्दो टोलीको बिदाइ

नेपालभ्युज

३ सदस्यीय पारा तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं । विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुने २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीको बिदाइ गरिएको छ । ललितपुरको सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको भवनमा शुक्रबार साउदी अरबियाको रियादमा हुने ग्रान्ड प्रिक्समा जाने नेपाली टोलीलाई बिदाइ गरिएको हो ।

डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् । के- ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोवर्द्धन र ५२ केजीमुनि सिर्जना घिसिङले प्रतिस्पर्धा गर्नेछन् ।

प्रशिक्षकमा इन्टरनेसनल लेभल- २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा छन् ।

पेरिस पारा ओलम्पिकका लागि र्‍याङ्किङ प्रतियोगितासमेत भएकाले प्रतियोगिता महत्त्वपूर्ण भएको बताए । विश्व वरीयतामा शीर्ष १६ स्थानमा रहने खेलाडीले मात्र यो प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्छन् । विश्व वरीयतामा पलेशा १०औं र सिर्जना १४ औं स्थानमा छन् ।

प्रशिक्षक लामाकाअुनसार आफ्नो तौल समूहमा शीर्ष ६ स्थानमा रहने खेलाडी पेरिस पारा ओलम्पिकमा सिधै खेल्न पाउने प्रावधान रहेको छ ।अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा पलेशाले ३ तथा सिर्जनाले २ पदक जितेका छन् ।

प्रशिक्षक लामाले अनुभवी खेलाडी भएकाले दुवैबाट राम्रो नतिजाको अपेक्षा गरेको जानकारी गराए ।

प्रतियोगिताकै दौरान हुने विश्व तेक्वान्दो गाला अवार्डमा पनि नेपाली टोली सहभागी हुनेछ । डिसेम्बर १० तारिखमा हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष-महिला खेलाडी, प्रशिक्षक, रेफ्रीलगायतलाई सम्मान गरिनेछ ।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, सदस्यद्वय रामचन्द्र श्रेष्ठ र कुमार घिसिङले सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे ।

टोली सोमबार रियाद प्रस्थान गर्ने कार्यक्रम छ ।

सो प्रतियोगिता पेरिस पारा ओलम्पिक गेम्सलाई मध्यनजर गर्दै विश्व तेक्वान्दो महासंघले आयोजना गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved