केपी ओलीले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको कडा आलोचना

नेपालभ्युज

केपी ओलीले गरे राष्ट्रिय स्वतन्त्र पार्टीको कडा आलोचना

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना गरेका छन् । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् ।

उनले संयोग नै भए पनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकिर गरे । पार्टी निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ, नेपालले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम र झण्डा तथा अमेरिकाको फ्रिडम पार्टीको नाम र झण्डा फोटोकपीको रूपमा आएको भन्दै त्यसले नेपालको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने बताए ।

ओलीले अर्काको नक्कल गर्ने, अरूको इतिहास पढने र सुन्ने यस खालको गतिविधिले नेपालको गर्व गर्न लायक इतिहासलाई बिर्साउने खतरा रहेको समेत बताए ।

उनले भने, ‘हामीले आफैँलाई बिसियौं । आफूप्रति गर्व गर्न छाड्यौं । आफ्नो संस्कृति र पहिचान मेटाउन लाग्यो । दुरुस्तै अर्काको नक्कल गर्न थाल्यो । संयोग नै भन्नुपर्ला–अमेरिकामा एउटा फ्रिडम पार्टी छ, फ्रिड्म पार्टी अफ अमेरिका । त्यसको चुनाव चिन्ह पनि घन्टी । संयोग नै होला । दुरुस्तै खालको घण्टी यहाँ पनि आएको छ । संयोग नै होला ।’

उनले थपे, ‘तर, अस्तीसम्म स्याप्पै थियो त्यो बेलुन । तर, हावा नहाली कसरी भयो यत्रो ? केही त होला । त्यतातिर पनि नजाउ । मैले खाली हाम्रो संस्कृति, हाम्रो पहिचान रक्षा गरेर मात्रै हाम्रो पहिचानलाई कायम गर्न सकिन्छ भन्नु खोजेको हुँ ।’

ओलीले लामिछाने नेतृत्वको पार्टीलाई ह्वात्तै फुलेको बेलुनको रूपमा चित्रण गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved