वर्तमान सत्तारुढ गठबन्धनलाई नै अगाडि बढाउने पक्षमा नेकपा एकीकृत समाजवादी

नेपालभ्युज

वर्तमान सत्तारुढ गठबन्धनलाई नै अगाडि बढाउने पक्षमा नेकपा एकीकृत समाजवादी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउने पक्षमा उभिएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको नेकपा (एकीकृत समाजवादी) को बैठकले वर्तमान सत्तारुढ गठबन्धनलाई अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष माधवकुमार नेपालले देश दक्षिणपन्थी दिशातिर जाने खतरा रहेको भन्दै आफूहरूले सतर्क हुनुपर्ने आवश्यकताको महसुस गरेको बताए । उनले गठबन्धनका दलहरुका बीचमा भइरहेको सहकार्यलाई अगाडि बढाएर लानुपर्ने बताए । त्यस्तै सचिवालय बैठकमा पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा पुनः मतदान हुनुपर्ने माग राख्नुभएको सन्दर्भमा सो विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

‘हाम्रो पार्टीले देशभर पाएको मतको छलफल गर्‍यौं । इलाम र उदयपुरबारे छलफल गर्‍यौं । इलाममा अनेकौं खालका विसंगतिहरू देखिए । विसंगति देखिएको सन्दर्भमा उम्मेदवार हुनुभएका झलनाथ खनालले गम्भीर आपत्ति जनाएर वक्तव्य दिनुभएको सन्दर्भमा कुनै कानुनी उपचारमा जाने र पुनः मतदानको माग गर्ने कुरा उहाँले उठाउनुभएको छ ।

त्यस बारेमा छलफल भएको छ । राष्ट्रिय राजनीति कुन दिशातर्फ अगाडि बढ्छ भन्ने कुराको सन्दर्भमा हामीले गम्भीर चिन्तन, मनन गर्‍यौँ । देश कतै दक्षिणपन्थी दिशातिर त जाँदैन भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सतर्क हुनुपर्ने आवश्यकता महशुस गर्‍यौँ । यस हिसाबमा गठबन्धनका दलसँगको हाम्रो सहकार्य छ, त्यो सहकार्यलाई अगाडि बढाएर लैजानुपर्छ भन्ने हामीले ठानेका छौँ,’ उनले भने ।

गठबन्धनका कारण प्राप्त गरेका उपलब्धिलाई रक्षा गर्दै आगामी दिनमा पनि गठबन्धनकै भावनाअनुसार काम गर्ने पार्टीको निष्कर्ष रहेको स्पष्ट पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले बताए । ‘आज जे–जस्तो मत परिणाम हामीले प्राप्त गर्‍यौँ । यो मतपरिणाम हामीले सोचेजस्तो छैन ।

तर, सोचेजस्तो छैन भन्दैमा हामीले गठबन्धन सँगसँगै लागेर गठबन्धनका कारणले प्राप्त गरेका उपलब्धिहरूलाई रक्षा गर्नुपर्छ भन्ने ठाउँमा र गठबन्धनको भावनाअनुसार भोलि पनि काम गर्नुपर्छ भन्ने ठाउँमा यो निष्कर्षमा हामी पुगेका छौँ,’ उनले भने । निर्वाचनको समग्र समीक्षा भने सबै जिल्लाहरूबाट रिपोर्ट आइसकेपछि आगामी बैठकमा गरिने उनले बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved