कोरोना बीमाको भुक्तानी आजदेखि सुरु, सबैले भने नपाउने

नेपालभ्युज

कोरोना बीमाको भुक्तानी आजदेखि सुरु, सबैले भने नपाउने

काठमाडौं। कोरोना बीमाको भुक्तानी आज मंगलबारदेखि सुरु भएको छ । सरकारले आफ्नो दायित्व पुरा नगरेको भन्दै बीमा कम्पनीहरुले सर्वसाधारणको प्रिमियम बुझेर नाफासमेत देखाउन भ्याएका थिए। तर, भुक्तानी गरेका थिएनन्। सरकारले निर्वाचनअघि पैसा जसरी पनि दिन निर्देशन दिएको थियो। निर्वाचन लगत्तै बीमा कम्पनीहरुले एक अर्ब रुपैयाँ भुक्तानी सुरु गरेका हुन्।

बीमा कम्पनीहरूको छाता सङ्गठन बिमक सङ्घले पनि कोरोना बीमाको भुक्तानी सुरु गर्न कम्पनीहरूलाई आग्रह गरेको छ । कम्पनीहरूले व्यक्ति र परिवारको नाममा रहेको पोलिसीलाई प्राथमिकता राखेर भुक्तानी गर्ने नेपाल बिमक सङ्घले जनाएको छ ।

सङ्घका अनुसार व्यक्ति र परिवारको २५ हजार चारवटा पोलिसीको दाबी भुक्तानी गर्न बाँकी छ । तर, अहिले सरकारले निकासा गरेको र बीमा प्राधिकरणसहित कम्पनीहरूले भुक्तानी गर्नुपर्ने रकम जोड्दा एक अर्ब एक करोड रुपैयाँ मात्रै भुक्तानी गर्न सकिन्छ ।

यो रकमबाट १८ हजार ६० वटा बीमा पोलिसीको मात्रै दाबी गर्न सकिने सङ्घको भनाइ छ । कम्पनीहरूले रकम थप गर्न नमानेपछि सरकारले रकम निकासा गरेको एक महिना बितिसक्दा पनि कोरोना दाबी रकम भुक्तानीमा ढिलाइ भएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले रकम थप नगर्ने बीमा प्राधिकरणलाई जवाफ दिएको छ । सरकारले दिएको एक अर्ब रुपैयाँ र आफ्नो ८ प्रतिशत दायित्वबापत १४ करोड ५४ लाख रुपैयाँ गरी कुल १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ यसअघि नै बीमा प्राधिकरणले सङ्घलाई दिइसकेको छ । सरकारले पैसा नदिएको भन्दै बीमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बीमाको भुक्तानी रोकेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved