कांग्रेसले पहिलेका चुनावको तुलनामा अहिले पाएको सिट र मत कति सन्तोषजनक ?

यसपटक कांग्रेसले प्रत्यक्षतर्फ ९१ सिटमा मात्रै उम्मेद्वारी दिएको थियो । ठूलो आकारको ५ दलीय महागठबन्धनको नेतृत्व गरिरहेको कारणले ९१ मध्ये ७१ सिट जित्न सक्ने अपेक्षा कांग्रेसले गरेको थियो तर, त्यसो हुन सकेन ।

कांग्रेसले पहिलेका चुनावको तुलनामा अहिले पाएको सिट र मत कति सन्तोषजनक ?

काठमाडौं । आगामी प्रतिनिधिसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्ने निश्चित भएको छ । केही स्थानको अन्तिम परिणाम प्राप्त भइनसके पनि प्रत्यक्षतर्फ कांग्रेसको ५५ देखि ५७ सिटसम्म जित्न सक्ने अनुमान छ । एमालेले ४४ सिट जित्ने देखिएको छ । त्यसैले कांग्रेस पहिलो दल हुने निश्चित भएको छ ।

समानुपातिकतर्फ एमाले अगाडि छ । तर, एमाले र कांग्रेसले प्राप्त गरिरहेको मतान्तर भने धेरै फराकिलो छैन । तसर्थ समानुपातिकतर्फ एमाले र कांग्रेस बीच २ सिटको भन्दा बढी भिन्नता हुने देखिन्न । यो परिणाम, सिट र भोट कांग्रेसको इतिहाससँग तुलना गर्दा सन्तोषजनक भने बिल्कुलै हैन ।

२०१५, २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ गरी ७ वटा आम चुनाव देशमा भइसकेका थिए । यसपटकको आठौं आम चुनाव हो । २०१५ सालको आम चुनावमा नेपाली कांग्रेसले १०९ मध्ये ७४ अर्थात् करिब ६८ प्रतिशत सिट र ३७.२ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको थियो ।

त्यसैगरी, २०४८ को आम निर्वाचनमा कांग्रेसले २०५ मध्ये ११० सिट अर्थात् करिब ५४ प्रतिशत सिट र ३९.५० प्रतिशत भोट प्राप्त गरेको थियो । २०५१ को चुनावमा २०५ मा ८३ करिब ४१ प्रतिशत सिट र ३४.६७ प्रतिशत मत प्राप्त गरेको थियो । २०४७ सालको संविधान अन्तर्गत भएका चुनावमा कांग्रेस सबैभन्दा कमजोर भएको चुनाव यही थियो । यो चुनावमा कांग्रेसले पहिलोपटक संसदमा बहुमत  गुमाएको थियो ।

तर,त्यसपछिको आम निर्वाचनमा फेरि बहुमत हासिल गरेको थियो । २०५६ को आम निर्वाचनमा कांग्रेसले १११ सिट अर्थात् ५४ प्रतिशत सिट र ३७.१७ प्रतिशत लोकप्रिय मत पाएको थियो ।

२०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने कांग्रेस कमजोर देखियो । उसले प्रत्यक्षतर्फ २४० मा ३७ सिट अर्थात् १५ प्रतिशत मात्रै जितेको थियो । समानुपातिकतर्फको ७३ र मनोनित ५ सहित ६०१ म ११५ मात्रै थियो । यो चुनावमा कांग्रेले २१.१४ प्रतिशत मात्रै लोकप्रिय मत प्राप्त गरेको थियो ।

तर, दोस्रो संविधानसभा निर्वाचन २०७० मा भने फेरि कांग्रेसको सिट तथा मत स्थितिमा सुधार आयो । ६०१ मा २०७ सिटसहित पहिलो पार्टी बन्न पुगेको कांग्रेसको समानुपातिक मत पनि २५.५५ प्रतिशत पुग्यो ।

२०७४ को आम चुनावमा भने वामगठबन्धनको कारणले कांग्रेस २३ सिटमा सीमित भयो । तर समानुपातिकतर्फ ३२.७५ प्रतिशत मत पाएको थियो ।

यसपटक ५७ सिट नै पायो भने पनि १६५ को ३४ प्रतिशत हुने छ । तर, समानुपातिकतर्फ भने करिब २६ प्रतिशत मत मात्रै कांग्रेसले प्राप्त गरिरहेको छ ।

यसपटक कांग्रेसले प्रत्यक्षतर्फ ९१ सिटमा मात्रै उम्मेद्वारी दिएको थियो । ठूलो आकारको ५ दलीय महागठबन्धनको नेतृत्व गरिरहेको कारणले ९१ मध्ये ७१ सिट जित्न सक्ने अपेक्षा कांग्रेसले गरेको थियो तर, त्यसो हुन सकेन । कांग्रेस प्रत्यक्षतर्फ पनि सोचेभन्दा कम नै सिट पायो भने समानुपतिक तर्फको मत पनि सोचेभन्दा कम पाइरहेको छ।

यी तथ्यांकले के देखाउँछ भने आगामी संसदमा सबैभन्दा ठूलो पार्टी हुँदै गर्दा समेत कांग्रेसले पाएको सिट र मत खासै सन्तोषजनक भने हैन । कांग्रेसले यसपटक मत वृद्धि गर्न नसक्नुमा मुख्य ३ वटा कारण देखिन्छन् ।

एक– प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग ‘मास अपिलङ’ को क्षमता नहुनु ।

दुई– गठबन्धनका कारण कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेद्वार सीमित हुनु र समानुपातिक तर्फको मत क्याम्पेनरहरूको अभाव हुनु । तीन– नयाँ दलहरूको उदय हुनु । विशेषतः राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय मत प्राप्त गर्नु ।

विश्लेषकहरू भन्छन्– सबैभन्दा ठूलो पार्टी हुँदै गर्दा पनि कांग्रेस सहज र सन्तोषजनक अवस्थामा भने छैन ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved