जी–२० को बाली बैठकमा के के भयो ?

बैठकमा चिनियाँ राष्ट्रपति सी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीचको भेटघाट र सम्बन्ध भने तिक्ततापूर्ण रह्यो ।  भेटघाटको समाचार बाहिर ल्याएकोमा राष्ट्रपति सी प्रधानमन्त्री ट्रुडोसँग रिसाएका थिए । तर, ट्रुडोले आफूहरु लोकतन्त्र र पारदर्शीतामा विश्वास गर्ने राष्ट्र भएको हुँदा ‘लुकाउनु पर्ने केही नभएको र भविष्यमा पनि यस्तो हुने’ जवाफ फर्काए । 

नेपालभ्युज

जी–२० को बाली बैठकमा के के भयो ?

काठमाडौं । विश्वका ठूला औधोगिक अर्थतन्त्र भएका २० देशको समूह जी–२० को बैठक इन्डोनेशियाको बालीमा नोभेम्बर १५–१६ मा सम्पन्न भएको छ । यो समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेशिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की, अमेरिका, बेलायत र युरोपियन युनियन सदस्य छन् भने स्पेनलाई स्थायी आमन्त्रितको स्थान दिने गरिएको छ।

जी–२० राष्ट्रले विश्व अर्थतन्त्रको ८० प्रतिशत अंश ओगट्दछन् । त्यसै गरी विश्व व्यापारको ७५ प्रतिशत र विश्व जनसख्याको ६० प्रतिशत अंश यो समूहले ओगट्दछ । बाली बैठकको नारा ‘रिकभर टुगेदर, रिकभर स्ट्रोगर’ राखिएको थियो । कोभिड–१९ महाब्याधिले शिथिल र संकुचित भएको विश्व अर्थतन्त्रलाई लक्षित गरी यस्तो नारा बनाईएको थियो ।

बैठकमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबाहेक सबै सदस्य राष्ट्रका प्रमुखले भाग लिएका थिए । रुसी राष्ट्रपति पुटिन भने अन्तर्राष्ट्रिय दबाब झेल्नु पर्ने हुँदा बैठकमा भाग नलिएको आशंका गरिएको छ । जी–२० आर्थिक शक्ति राष्ट्रको सबैभन्दा ठूलो विश्व मञ्च हो । तर, यसका निर्णय कार्यान्वयन हुन्छन् नै भन्ने छैन । समकालिन विश्व परिप्रेक्ष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक सहयोगका आयामबारे समूहको बैठकले अभिमुखीकरण गर्ने गर्दछ ।

यसपटकको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ–‘ठूला अर्थतन्त्र भएक कारण हाम्रा उत्तरदायित्वहरु सामुहिक छन् । विश्व अर्थतन्त्रको पुनरुत्थानका लागि हाम्रो सहकार्य आवश्यक छ । हामीले बलियो, दीगो, सन्तुलित र समावेशी आर्थिक बृद्धिको आधारशीला खडा गर्न सक्दछौं।’

यसपटकको बैठकका मुख्य सवाल कोभिड–१९ महाब्यधिपछि विश्व अर्थतन्त्रको पुनरुत्थान, युक्रेन युद्धले निम्त्याएको खाद्य तथा उर्जा संकट, डिजिटल प्रविधिको रुपान्तरण, विश्व स्वास्थ्य र नविकरणीय उर्जा संक्रमण थिए ।

युक्रेन युद्धबारे सदस्य राष्ट्रका फरक-फरक अवस्था र अडान थिए । पश्चिमा राष्ट्र युक्रेन युृद्धको विपक्षमा छन् भने चीन मौन रहँदै आएको छ । त्यसै गरी भारतले वार्ता र संवादबाट युद्धको अन्त्य हुनु पर्ने धारणा राख्दै आएको छ । युक्रेन युद्धबारे बैठकले कुनै निर्णय गरेन ।

अन्तर्राष्ट्रिय वित्तिय संस्थाले यतिखेर एउटा अर्को विश्व मन्दीको सम्भावनालाई औल्याइरहेका छन् । गत महिना अन्तर्राष्ट्रिय मुद्रा कोषले कोभिड –१९ पछि शुरु भएको विश्व अर्थतन्त्रको शिथिलीकरण, युक्रेन युद्धले सिर्जना भएको खाद्य तथा उर्जा संकटका कारणले सन् २०३३ भित्र आर्थिक तथा वित्तिय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको थियो ।

जी–२० बैठकले आर्थिक संकट रोक्न व्यापार र विश्व बजारमा पुँजीको प्रवाह बढाउँनु पर्नेबारे छलफल गरेको छ । सन् २००८ को विश्व वित्तिय संकटलाई पनि जी–२० राष्ट्रले मिलेर सामना गरेका थिए । समूहको अध्यक्षता अब भारतले प्राप्त गरेको छ । कतिपय विश्लेषकले विश्व अर्थतन्त्र संकटोन्मुख भएको जटिल परिस्थितिमा नेतृत्व गर्नु भारतका लागि निकै चुनौतीपूर्ण हुने बताएका छन् ।

जी–२० समूहको गठन सन् १९९९ मा गरिएको हो । समूहको यसपटकको बाली बैठक १७ औं हो । जी–२० गठनको उद्धेश्यमध्ये एक ठूला औधोगिक र विकासशील राष्ट्रलाई सँगै ल्याएर आर्थिक सहकार्य गर्ने र सहश्राब्दि लक्ष्य हासिल गर्न विश्वलाई सहयोग गर्ने समेत थियो । यसपटकको बैठकमा यो बिषयमा कुनै कुराकानी भएन ।

बैठकको उपयोग गर्दै विश्वका नेताले साइडलाइन छलफल गरेका थिए । ती मध्ये अमेरिकी राष्ट्रपति जो वाइडन र चीनका राष्ट्रपति सि चिन फिङबीचको संवाद अर्थपूर्ण भयो । राष्ट्रपति वाइडनले चीनसँग शीत युद्ध नचर्काउने बचन दिएका छन् । चिनियाँ राष्ट्रपति सीले ताइवान मामिलामा अमेरिकाले कुनै हस्तक्षेप नगर्ने प्रतिबद्धता मागेका थिए तर, वाइडनले यसबारे कुनै उत्तर दिएनन् ।

पद सम्हालेपछि पहिलोपटक यस्तो विश्व सम्मेलनमा भाग लिएका बेलायती प्रधानमन्त्री ऋषि सुनक अर्का आकर्षण थिए । भारतीय मूलका सुनक र भारतीय प्रधानमन्त्री नरेन्द मोदीबीच यो बैठकमा पहिलो भेटघाट भयो । जसलाई विश्वका संचार माध्यमले उच्च महत्व दिए ।

बैठकमा चिनियाँ राष्ट्रपति सी र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीचको भेटघाट र सम्बन्ध भने तिक्ततापूर्ण रह्यो ।  भेटघाटको समाचार बाहिर ल्याएकोमा राष्ट्रपति सी प्रधानमन्त्री ट्रुडोसँग रिसाएका थिए । तर, ट्रुडोले आफूहरु लोकतन्त्र र पारदर्शीतामा विश्वास गर्ने राष्ट्र भएको हुँदा ‘लुकाउनु पर्ने केही नभएको र भविष्यमा पनि यस्तो हुने’ जवाफ फर्काए ।

भारतीय प्रधानमन्त्री मोदीले युक्रेन युद्धबारे तिखो टिप्पणी गरेका थिए । उनले भने–‘ यो युद्धको युग हैन, यो सहकार्य, वार्ता र संवादको युग हो ।’ प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति इम्मानुअल म्याक्रो बीचको साइडलाइन बैठक भने निक्कै फलदायी भएको बताइएको थियो ।

बैठकपछि म्याक्रोले फोटोसहित हिन्दीमा ट्वीट गरेका थिए–‘प्रधानमन्त्री नरेन्द्र मोदीके साथ, शान्तिके लिए हम एक ही एजेण्डा साझा करते है, हम भारतकी आगामी जी–२०’ अध्यक्षता के तहत इस पर काम करेंगे।’

युक्रेन युद्धबारे साझा धारणा भएका राष्ट्रले एक भिन्नै साइडलाइन बैठक गरी रुसको निन्दा गरेका थिए । जी–२० बैठकले भने रुससँग युक्रेन युद्ध अन्त्य गर्न माग गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved