निर्वाचनको ७२ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्ने सहमति, मदिरामा रोक

निर्वाचनको ७२ घण्टाअघि नेपाल–भारत सीमा बन्द गर्ने सहमति, मदिरामा रोक

जनकपुरधाम। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेपाल–भारत सीमा ७२ घण्टा अगाडि बन्द हुने भएको छ । जिल्लास्तरीय सीमा सुरक्षा समन्वय समितिको बैठकले ७२ घण्टा अघि सीमा बन्द गर्ने निर्णय गरेको हो ।

शनिबार बसेको बैठकले सो निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार बैठकमा दुवै देशका सुरक्षा अधिकारी सहभागी थिए । उनीहरूले दुवै देशको सीमा भएर हुने अपराध, अवैध हातहतियार, चोरी पैठारी, लागुऔषध ओसार-पसारलगायत अवैध कारोबार नियन्त्रण गर्ने विषयमा बृहत् छलफल भएको छ ।

बैठकमा अवैध कारोबार नियन्त्रणसम्बन्धी र कारोबार सम्बन्धी गोप्य सूचनाहरू पनि दुवै देशका प्रतिनिधिहरूले आदान-प्रदान गरेको प्रजिअ पौडेलले जानकारी दिए।

उनले सूचना अदान-प्रदानपछि दुवै देशले रणनीति बनाएर यस्ता गतिविधि नियन्त्रण गर्ने सहमति गरिएको बताए ।

प्रजिअ पौडेलले सीमामा हुने अपराध नियन्त्रणका लागि दुबै देशले समन्वय गर्ने, विपद् पूर्व तथा विपद्का बेला सूचना आदान-प्रदान गर्ने, राजश्व चुहावट नियन्त्रण र सीमामा आवतजावत गर्दा हेल्थ डेस्कमा जाँच गर्ने लगायतका विषयमा छलफल भएको बताए ।

बैठकमा नेपालका तर्फबाट धनुषा, महोत्तरी, सिरहा र सप्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका प्रतिनिधि र भारतको तर्फबाट मध् वनी जिल्लाको मजिस्ट्रेट तथा भन्सार कार्यालयका प्रतिनिधिको सहभागिता थियो । समन्वय समितिको बैठक हरेक तीन–तीन महिनामा बस्ने गरेको छ ।

त्यसैगरी, जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार कात्तिक २६ गते देखि जिल्लाभर मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ६ (थ) मा भएको व्यवस्था, सर्वदलिय÷सर्वपक्षिय, समन्वय बैठकको निर्णय तथा जिल्ला सुरक्षा समितिको सिफारिसबमोजिम स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ अनुसार कात्तिक २६ गतेदेखि निर्वाचन कार्य सम्पन्न नहुन्जेलसम्म जिल्लाभर मादक पदार्थ ओसारपसार, विक्री वितरण र सेवन कार्यमा प्रतिवन्ध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।

सूचनाविपरीत निषेधित अवधिमा मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved