वर्तमानसहित तीन पूर्व प्रधानमन्त्रीको सुदूरपश्चिम दौडाहाले चुनावी माहोल रोचक बन्दै

नेपालभ्युज

वर्तमानसहित तीन पूर्व प्रधानमन्त्रीको सुदूरपश्चिम दौडाहाले चुनावी माहोल रोचक बन्दै

धनगढी। आम निर्वाचनको मिति नजिकिएसँगै सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताहरू सुदूरपश्चिम प्रदेशमा केन्द्रित भएका छन्।

प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभातर्फ ३२ सिट रहेको यस प्रदेशमा वर्तमान र तीन पूर्व प्रधानमन्त्रीहरू केन्द्रित हुँदा चुनावी रौनक बढेको छ।

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशका विभिन्न आम सभाहरूलाई सम्बोधन गरि रहेका छन्।

एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमबाटै चुनावी अभियान सुरु गरेपछि गठबन्धनका शीर्ष नेताहरूले पनि दार्चुलाबाट संयुक्त चुनावी आमसभालाई सम्बोधन गर्ने तयारी गरेका छन्। देशका शीर्ष नेताहरू सुदूरपश्चिम केन्द्रित भएपछि यहाँको चुनावी रौनक थप रोचक बन्दै गएको छ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र कञ्चनपुरको चुनावी सभालाई सम्बोधन गरिरहँदा प्रधानमन्त्री देउवा त्यही समय गृह जिल्ला डडेल्धुरामा आफ्ना लागि मत मागिरहेका थिए।

प्रधानमन्त्री देउवाले ४ दिने डडेल्धुरा बसाईका क्रममा विभिन्न ७ ठाउँमा आयोजना गरिएका चुनावी भेलालाई सम्बोधन गरेर अहिले पनि प्रदेशको अस्थायी मुकाम धनगढीमा छन्।

दुई दिनदेखि धनगढीस्थित निजी निवासमा बसिरहेका प्रधानमन्त्री देउवा दार्चुला र बैतडीमा सत्तारुढ गठबन्धनले आयोजना गर्न लागेको संयुक्त चुनावी सभालाई सम्बोधन गरी काठमाडौं फर्किने कार्यक्रम छ। त्यस्तै दार्चुला र बैतडीमा आज हुने सत्तारुढ गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र समाजवादीका अध्यक्ष नेपाल आज सुदूरपश्चिम प्रदेश आउँदै छन्।

ओली फेरि सुदूरपश्चिम आउने

तीन जिल्लामा चुनावी सभालाई सम्बोधन गरेर काठमाडौं फर्किएका एमाले अध्यक्ष ली फेरि सुदूरपश्चिम आउने भएका छन्। निर्वाचन केन्द्रित चुनावी सभालाई सम्बोधन गर्ने शीलशीलामै उनी आगामी कात्तिक २६ गते सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश कमिटीले जनाएको छ।

ओलीले सोही दिन डोटी र कैलालीमा आयोजना हुने तीन वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले जानकारी दिए। उनका अनुसार ओलीले २६ गतेका ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाइ सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved