सन्दीप लामिछाने : खेलदेखि जेलसम्मको यात्रा

खेलदेखि जेलसम्मको सन्दीपको यात्रा अहिले अनिश्चित छ । उनको भविष्य र करिअर अब अदालतको फैसलामा निर्भर छ । 

सन्दीप लामिछाने : खेलदेखि जेलसम्मको यात्रा

काठमाडौं। नेपाली क्रिकेट र नेपाललाई नै विश्वमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याएका सन्दीप लामिछानेको भविष्य अन्योलमा परेको छ । नेपालका स्पोर्ट्स स्टारका रुपमा चिनिएका सन्दीप अहिले थुनामा छन् । नाबालिगमाथि बलात्कारको आरोपले सन्दीपको करिअर नै धरापमा परेको छ ।

यसले उनको व्यक्तिगत तथा खेल जीवनको छवि नै धमिलो बनाएको छ । लामिछानेमाथि बलात्कारको आरोप लाग्दा जसरी हलचल मचिएको छ । त्योभन्दा पनि आश्चर्य लाग्दो शैलीमा लामिछानेको नेपाली क्रिकेटमा आगमन भएको थियो ।

राष्ट्रिय टोलीमा अनौपचारिक डेब्यू

सन् २०१५ नोभेम्बरमा १५ वर्षको उमेरमा लामिछानेले राष्ट्रिय टोलीमा अनौपचारिक रुपमा डेब्यू गरेका थिए । त्यो एमसीसीको भ्रमण खेल थियो । एमसीसीसँगको खेलमा सन्दीपले हङकङका विकेटकिपर स्कट मेकेग्नीलाई २ पटक पेभेलियन फर्काए ।

सन् २०१६ मा आयोजना भएको आईसीसी यू–१९ विश्व कप क्रिकेटमा सन्दीप लोकप्रिय बने । विश्वकपमा आयरल्याण्डविरुद्धको खेलमा ह्याट्रिक गरेर उनले सबैको ध्यान आकर्षित गरे । ह्याट्रिक गर्ने सन्दीप पाँचौ खेलाडी बनेका थिए । उक्त खेलमा उनले २७ रन खर्चेर ५ विकेट लिएका थिए ।

सन्दीप १४ विकेटका साथ सो प्रतियोगितामा धेरै विकेट लिने दोस्रो खेलाडी पनि बने । नामिबियाका फ्रिट्ज कोएत्जी १५ विकेटसँगै सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए ।

राष्ट्रिय टोलीमा औपचारिक डेब्यू

सन् २०१६ अप्रिलमा बङ्गलादेशमा भएको आईसीसी विश्व क्रिकेट लिग २ मा नामिबियाविरुद्धको खेलमा सन्दीपले राष्ट्रिय टोलीमा डेब्यू गरे । यससँगै उनको ख्याति बढ्दै गयो ।

फलस्वरुप सन् २०१६ मेमा हङकङ टी–२० ब्लिट्जमा काउलुन क्यान्टन्समा लेगस्पिनरको रुपमा सन्दीपले खेल्ने अवसर प्राप्त गरे । सोही प्रतियोगितामा सन्दीपको भेट अष्ट्रेलियाली कप्तान माईकल क्लार्कसँग भएको थियो ।

सन्दीपको आक्रामक र विविधतायुक्त बलिङ प्रदर्शनबाट क्लार्कको ध्यानाकर्षण गर्न सफल भए । त्यसपछि क्लार्कले सन्दीपलाई आफ्नो एकेडेमीमा बोलाए । र सिडनी  प्रिमियर क्रिकेटमा पनि खेल्ने अवसर दिए ।

आईपिएलमा सहभागी हुने पहिलो नेपाली क्रिकेटर

१७ वर्षको उमेरमा सन्दीपले अर्को सुनौलो अवसर प्राप्त गरे । सन्दीप सन् २०१८ को आईपिएल अक्सनमा परे । ११ औँ संस्करणको आइपिएलको बोलकबोलमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई भारु २० लाख रुपैँयामा टोलीमा आबद्ध गरेको थियो । दिल्लीको प्रशिक्षकमा रिकी पोन्टिङ थिए ।

आईपिएलमा देखापरेसँगै सन्दीपले विश्वका अन्य फ्रेन्चाईज क्रिकेट लिगमा खेल्ने अवसर प्राप्त गरे । अष्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यान्डाको ग्लोबल टी–२०, अफगानिस्तान प्रिमियर लिग, बङ्गलादेश प्रिमियर लिग र क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सन्दीपले खेलिसकेका छन्।

सन्दीपको अन्तराष्ट्रिय प्रदर्शन 

विश्वको प्रसिद्ध फ्रेन्चाईज लिग खेल्नुको साथै उनले विभिन्न कीर्तिमान पनि बनाएका छन्। सन् २०१८ मा नै भएको नामिबियामा भएको डब्लुसीएल डिभिजन २ मा सन्दीपले १९ विकेट लिँदै नेपाललाई दोस्रो पटक विश्वकप छनोटमा पुर्‍याउन उनले महत्वपूर्ण योगदान गरे । सन्दीपले ‘प्लेयर अफ द टुर्नामेन्ट’ को उपाधि पनि प्राप्त गरे ।

सोही वर्ष सन्दीप संयुक्त टोलीबाट टी–२० आईमा डेब्यू गर्ने पहिलो क्रिकेटर बने । सन् २०१८ मे ३१ मा आइसीसी विश्व–११ बाट वेस्टइन्डिजविरुद्ध टि–२० आई खेलमा सन्दीपले डेब्यु गरेका थिए । त्यस समय नेपालले टी–२० को मान्यता गुमाएको थियो ।

एकदिवसीय सिरिजमा भने ६९ विकेट लिएका छन् । साथै २२ एकदिवसीय खेलमा ५०–विकेटको कोशेढुङ्गा पार गर्दै उनी छोटो समयमा ५० विकेट लिने दोस्रो खेलाडी पनि बने । सन्दीपले टी–२० मा २९ खेलमा ५० विकेट लिन सफल भए।

नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान

सन् २०२१ डिसेम्बर १५ मा क्यानले सन्दीपलाई राष्ट्रिय टोलीको कप्तानमा नियुक्त गरेको थियो । सन्दीपको कमानीमा नै नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिज जित्यो ।

केन्याविरुद्धको ५ टी–२० खेलको सिरिज पनि नेपालले ३–२ ले जित्यो । केन्याविरुद्धको ३ वन डेमा अनुपस्थित भएका लामिछाने सीपीएल खेल्न सेन्ट लुसिया गएका थिए ।

नयाँ मोड

सीपीएलको क्रममा हुँदा सन्दीपको  जीवनमा अर्को मोड आयो । नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्दीपविरुद्ध भदौ २१ मा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो।

त्यसको भोलिपल्ट २२ गते प्रहरीले सन्दीपविरुद्ध जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको थियो । जाहेरी पर्दा उनी केन्यासँगको ट्वान्टी–२० क्रिकेट शृङ्खला सकेर सीपीएल खेल्न वेस्ट इन्डिज पुगेका थिए ।

त्यहीबाट अमेरिका गएका लामिछाने असोज २० मा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परे । क्यानले भदौ २३ मा सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गर्‍यो ।

अहिले उनलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। मुद्दाको अन्तिम फैसला नभइसकेकाले उनलाई पुर्पक्षका लागि जेल पठाइएको हो। यससँगै सन्दीप अहिले सुन्धारास्थित केन्द्रीय कारागारमा छन्।

खेलदेखि जेलसम्मको सन्दीपको यात्रा अहिले अनिश्चित छ । उनको भविष्य र करिअर अब अदालतको फैसलामा निर्भर छ ।

यो पनि पढ्नुहोस्ः

किन पठाइयो सन्दीपलाई कारागार ? के हुन्छ अबको प्रक्रिया ?

सन्दीप लामिछाने कारागार चलान, पुर्पक्षका लागि थुनामै राख्न अदालतको आदेश

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

सन्दीपविरुद्ध किशोरीको बयान : आफू निदाएको बेला दुईपटक जबरजस्ती करणी गरे

ममाथि गम्भीर षड्यन्त्र भयो, जतिसक्दो चाँडो फर्किएर कानुनी लडाइँ लड्छु : सन्दीप लामिछाने

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved