बँदेललाई थापेको पासोमा परेर दाङमा किशोर-किशोरीको मृत्यु भएको पुष्टि

पासो थाप्ने र शव व्यवस्थापन गर्ने चार जना सार्वजनिक

नेपालभ्युज

बँदेललाई थापेको पासोमा परेर दाङमा किशोर-किशोरीको मृत्यु भएको पुष्टि

काठमाडौं। दाङमा दुई किशोर-किशोरी हत्यामा संलग्न रहेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

रोशनी महतरा र शरद आचार्य हत्यामा संलग्न रहेका तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँका ३९ वर्षीय गणेश भनिने हरिश चन्द्र पौडेल, सोही ठाउँका २८ वर्षीय नुमानन्द कार्की, ३१ वर्षीय खिमबहादुर बुढा र ४७ वर्षीय प्रकाश भनिने अम्मर राज कार्कीलाई प्रहरीले सार्वजनिक गरेको हो।

दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीका अनुसार यी चार जनाले असोज २७ गते राति जंगली बँदेल मार्न थापेको विद्युतको पासोमा परेर रोशनी र शदरको ज्यान गएको थियो। तुलसीपुर-१३ स्थित जनकल्याण सामुदायिक वनमा उनीहरू दुबैको शव एकै ठाउँमा पुरिएको अवस्थामा असोज ३० गते दिउँसो फेला परेको थियो।

एसपी वलीका अनुसार असोज २७ गते राति करिब १० बजेतिर गणेश भन्ने हरिष चन्द्र पौडेलको घरबाट विद्युतको तार तानेर नजिकैको जंगलमा बँदेल मार्न पासो थापेको र त्यहीँ पासोमा परेर उनीहरूको सोही दिन राति मृत्यु भएको हो।

पासो थापेका अमरराज कार्की र गणेश भनिने हरिश चन्द्र पौडल असोज २८ गते बिहान साढे ५ बजेतिर हेर्न जाँदा दुबै जना मृत अवस्थामा फेला परेको देखेपछि दुबैले सल्लाह गरी शवलाई नजिकै जंगलको झाडीमा फालेको प्रहरीले बताएको छ।

सोही दिन दिउँसो पौडेलले शब ब्यबस्थापन गर्ने ठाउँ हेरेको र बेलुका नौ बजेतिर बोरामा हाली चारै जनाले सल्लाह गरेर शब फालेको तथ्य खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चारै जनालाई कर्तब्य ज्यान मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ। उनीहरू विरूद्ध थप अनुसन्धानका लागि एक साताको म्याद थप भइसकेको छ।

तुलसीपुर-१३ डाँडागाउँकी १५ वर्षीया रोशनी र दंगीशरण गाउँपालिका-६ थपगाउँ घर भई तुलसीपुर १३ दमारगाउँ स्थित मामाघर बस्दै आएका १४ वर्षीय आचार्यको शव असोज ३० गते दिउँसो भेटिएको थियो। उनीहरू घरबाट असोज २७ गते रातिदेखि बेपत्ता थिए। यी दुबै राति एक आपसलाई भेट्न निस्किएको समयमा विद्युतीय पासोमा परेका थिए।

रोशनीको बायाँ हातमा करेन्टले जलेको खत देखिएको थियो भने पोष्टमर्टम रिपोर्टले पनि उनको मृत्युको कारण ‘इलेक्ट्रिक शक’ लाई नै मानेको थियो।

रोशनी र शरदको करेन्टबाट मृत्यु भइसकेपछि घटनालाई मोड्न चार जना ‘शिकारी’ ले मिलेर उनीहरूको टाउको र शरीरका विभिन्न भागमा ढुंगाले थिचेको तथ्य खुलेको पनि प्रहरीले बताएको छ।

त्यहीँ घाउ चोटका आधारमा प्रहरीले उनीहरूको हत्या भएको बताउँदै आएको थियो। उनीहरू दुबैको टाउको र अनुहारका साथै शरदको अण्डकोषमा पनि गम्भीर चोट थियो। घटनास्थल रोशनीको घरदेखि करिब ८० मिटरको दुरीमा पर्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved