निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्ने महतको दाबी

नेपालभ्युज

निर्वाचनपछि कांग्रेस नेतृत्वमा स्थायी सरकार बन्ने महतको दाबी

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा स्थायी सरकार निर्माण हुने बताएका छन्।

आइतवार कञ्चनपुरको महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा महतले प्रवक्ता महतले मंसिर ४ मा हुने निर्वाचनपछि कांग्रेसको नेतृत्वमा स्थायी सरकार बन्ने बताएका हुन्।

उनले भने, ‘लामो समयदेखि अवरुद्ध विकास प्रक्रियालाई गति दिन तथा नेपालको समृद्धिका लागि पनि कांग्रेसको नेतृत्वमा सरकार आवश्यक छ। आगामी निर्वाचनपछि यस्तो सरकार बन्छ।’ महतले यो निर्वाचन सबैका लागि कोसेढुंगा सावित हुने पनि बताए।

उनले निर्वाचनपछि मुलुकमा स्थायी सरकार बन्नेमा जोड दिए। महतले निर्वाचनमा कांग्रेस नेतृत्वको वर्तमान सत्ता साझेदार दलको गठबन्धनले नै स्पष्ट बहुमत हासिल गर्ने बताए। ‘यो निर्वाचनमा स्पष्ट बहुमत कांग्रेसको पक्षमा आउँछ र कांग्रेसकै नेतृत्वमा सरकार पनि बन्छ,’ उनले भने, ‘हिजो संसद्‍मा नेपाली कांग्रेस थोरै सिटका साथ उपस्थित थियो र पनि नेपाली जनता तथा कांग्रेस बाहेकका अन्य पार्टीले कांग्रेसकै नेतृत्वको अपेक्षा गरे भने अबको चुनावपछि त कांग्रेस पहिलो पार्टी नै बन्ने निश्चित छ।’

प्रवक्ता महतले नेपाली कांग्रेसले आगामी चुनावमा समानुपातिकमा मत प्रतिशत पहिलेको तुलनामा धेरै बढाउने बताए। गठबन्धनका दलको उदेश्य एउटै भएकाले गठबन्धन गरिएको हो भन्दै चुनावपछि यही गठबन्धन मिलेर सरकार बनाउने र देशमा विकासको लहर ल्याउने उनको दाबी थियो।

‘विभिन्न रुपमा संविधानको मूल मर्ममाथि प्रहार हुन थालेको भन्दै प्रतिगामी विभिन्न बहानामा सल्बलाउने जस्तो देखियो,’ उनले भने,’नेपाली जनताले नै वर्तमान सरकारको चाह गरेका हुन्। अब पनि संविधानको रक्षा र देशको विकास गर्नु छ, हाम्रो यही दायित्व बहन गर्न कांग्रेस नेतृत्वको सरका आवश्यक हो।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved