प्रचण्ड भन्छन्- सत्ता गठबन्धन विस्तृत शान्ति सम्झौताकै नयाँ कडी

‘यो गठबन्धन गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेकाे विस्तृत शान्ति सम्झौताकै नयाँ कडी हो ।’

नेपालभ्युज

प्रचण्ड भन्छन्- सत्ता गठबन्धन विस्तृत शान्ति सम्झौताकै नयाँ कडी
फाइल फोटो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनलाई शान्ति सम्झौताकै नयाँ कडी भएको बताएका छन् । आसन्न प्रतिनिधि सभाका लागि गोरखा २ का उम्मेदवारसमेत रहेका उनले यस्तो बताएका हुन् । शुक्रबार बिहान गोरखा नगरपालिकाको याङ्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो गठबन्धन गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेकाे विस्तृत शान्ति सम्झौताकै नयाँ कडी हो ।’

सत्ता गठबन्धनमा शान्ति सम्झौतामा सम्बद्ध नेताहरू नै रहेको उल्लेख गर्दै प्रचण्डले भने, ‘शान्ति सम्झौतामा सहमत हुने नेताहरू नै छौँ यहाँ । यो नयाँ कडीलाई अझ बलियो बनाएर लाने हाम्रो सोच छ ।’

यस्तै फरक प्रसङ्गमा उनले आफ्नो अनुकूलमा संविधान च्यात्नेहरूको कमी नभएको बताए । पूर्वप्रधानमन्त्री केपी शर्माप्रति लक्षित गर्दै प्रचण्डले भने, ‘संविधानमा सबै नेताहरूले हस्ताक्षर गरिसकेपछि त हुन्छ होला भनेको त होइन रहेछ । यहाँ त कतिबेला मेरो अनुकूल हुन्छ र संविधान च्यात्छु भनेर पनि लुकेर/ढुकेर पनि बसेका रहेछन् । जुन नेकपाको सरकार बनेको ३ वर्ष बित्दा/नबित्दै देखियो ।’

त्यसअघि उनले भने, ‘नेपालमा संघीय लोकतान्त्रिक व्यवस्था आउँदैन, संविधान बन्दैन, नेपालमा संविधान बन्नु र संघीय लोकतान्त्रिक व्यवस्था आउनु भनेको अमेरिकाको वासिङ्टन गोरुगाडा चढेर पुग्नु उस्तै हो भन्ने नेताहरू थिए । ती नेता को हुन् भनेर तपाईंहरू सबैलाई थाहा छँदैछ । ती प्रवृत्तिहरू पुन: सलबलाएका छन् । उनीहरूलाई हामीले प्रतिगमनकारी भनेका छौँ, प्रतिक्रान्तिकारी भनेका छौँ । यसलाई चुनावमार्फत नै परास्त गर्नुपर्छ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved