दार्चुलामा मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा : गठबन्धनमाथि एमाले एक्लै भारी !

दुवै उम्मेदवारले सहज जित निकाल्ने दाबी गरे पनि स्थानीय तहको परिणाम र उम्मेदवारको अवस्था हेर्दा कडा प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका बाबजुद पनि यहाँ बडूलाई जित निकाल्न सहज छैन ।

नेपालभ्युज

दार्चुलामा मन्त्री र पूर्वमन्त्रीबीच प्रतिस्पर्धा : गठबन्धनमाथि एमाले एक्लै भारी !

धनगढी । सुदूरपश्चिमको सुदूर जिल्ला दार्चुलामा चुनावी चहपहलसँगै कसले जित्छ भन्ने चासो देखिन्छ । एक मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा आगामी मंसिर ४ गते मुख्यत कांग्रेस र एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुँदैछ ।

दार्चुलामा कांग्रेसबाट वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेबाट पूर्व मन्त्री गणेशसिंह ठगुन्ना चुनावी मैदानमा छन् । बडु दुईपटक प्रत्यक्ष र दुईपटक समानुपातिक गरेर अहिलेसम्म ४ पटक सांसद भइसकेका छन् । ठगुन्नाले पनि दुईपटक जितेका छन् ।

२०४८ र २०५६ मा दार्चुलाबाट निर्वाचित भएका बडू कांग्रेसका प्रभावशाली नेता हुन् । उनी २०७० र २०७४ मा सामानुपातिक सांसद बनेका थिए । बडू यसपटक गठबन्धनको सहयोगमा चुनाव जित्नेमा ढुक्क भएर फेरि प्रतिस्पर्धामा उत्रिएका छन् ।

विकासका दृष्टिले निकै पछाडी रहेको दार्चुलामा दुवै उम्मेदवारले भने आफू सांसद हुँदा धेरै काम गरेको दाबी गरिरहेका छन् । बडू विगतका काम हेरेर जनताले भोट दिने बताउँछन् । आफू निर्वाचित भएपछि पूर्वाधार विकास, खानेपानी, शिक्षा, स्वास्थ्य, सडक निर्माणमा थुप्रै काम भएको उनको दाबी छ ।

बडूले एमाले आएपछि धेरै काम अवरुद्ध भएको आरोप लगाउँदै पुरानो अवस्थालाई निरन्तरता दिन आफूलाई जिताउनुको विकल्प नभएको भन्दै मत मागिरहेका छन् । उनी भन्छन् “विकास निर्माण , संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न र नेकपा एमालेको प्रतिगमनबाट देशलाई जोगाउन गठबन्धनका उम्मेदवारले जित्ने पक्का भइसक्यो ।’

एमालेबाट उम्मेदवार बनेका पूर्व मन्त्री ठगुन्ना २०७० र २०७४ को चुनावमा दार्चुलाबाट निर्वाचित भएका थिए । उनी पनि जिल्लामा आफूले गरेका विकास निर्माणका काम हेरेर जनताले मत दिने बताइरहेका छन् । आफूले जति काम अरु कसैले गर्न नसक्ने भन्दै ठगुन्नाले जनताले अत्यधिक मत दिनेमा शंका नरहेको बताए ।

उनले आफू निर्वाचित भएपछि मिचिएको नेपाली भूमि नक्सामा समेटेको, महाकाली करिडोरको निर्माण सुरु गरेको, गोकुलेश्वर विमानस्थल निर्माण अघि बढाएको जस्ता काम नै आफ्नो जित्ने आधार भएको बताए । “दार्चुलामा एमाले निकै बलियो छ, कम्युनिस्ट सरकार बनाउने भनेर भोट माग्ने तर कांग्रेसका देउवालाई प्रधानमन्त्री बनाउनेलाई जनाताले प्रतिगमनकारी भनेर भोट हाल्दैनन् ।” उनको दाबी छ ।

जिल्लामा स्थानीय तहको मतभार

गत वैशाखमा भएको स्थानीय तहको चुनावमा वडा अध्यक्षले पाएको मत हेर्दा गठबन्धनभन्दा एमाले सामान्य मतले अघि देखिन्छ । एमालेका वडा अध्यक्षका उम्मेदवारहरूले गठबन्धनभन्दा ७ सय ७ मत बढी पाएका छन् ।
एमालेले २९ हजार ३८५ र गठबन्धनमा आवद्ध दलले २८ हजार ६७८ मत पाएका थिए ।

गठबन्धनमा कांग्रेसले २१ हजार २५४ र माओवादी केन्द्रले ७ हजार ३०६ मत पाएको थियो । दुवै उम्मेदवारले सहज जित निकाल्ने दाबी गरे पनि स्थानीय तहको परिणाम र उम्मेदवारको अवस्था हेर्दा कडा प्रतिस्पर्धा हुने देखिन्छ । गठबन्धनका बाबजुद पनि यहाँ बडूलाई जित निकाल्न सहज छैन ।

जिल्लामा स्थानीय तह निर्वाचनभन्दा एक हजार ६६४ नयाँ मतदाता थपिएका छन् । जिल्लामा आगामी चुनावका लागि ८९ हजार ९४९ मतदाता छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved