ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह

नेपालभ्युज

ब्याजदर घटाउन पहल गरिदिन मुख्यमन्त्रीसँग आग्रह

गण्डकी । पोखरा उद्योग वाणिज्य सङ्घले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग बैंक तथा वित्तीय संस्थाहरूले बढाएको ब्याजदर घटाउन सहजीकरण गरिदिन आग्रह गरेको छ ।

सङ्घका अध्यक्ष पवनकुमार प्रजापति नेतृत्वको प्रतिनिधिमण्डलले आज मुख्यमन्त्री पोखरेललाई भेटेर उक्त आग्रह गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर वृद्धि गरेपछि पोखरा उद्योग वाणिज्य सङ्घसहित देशका निजी क्षेत्रसँग सम्बद्ध सङ्घ/संस्थाहरूले आपत्ति जनाउँदै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

पोखरा उद्योग वाणिज्य सङ्घले पनि ब्याजदर घटाउनुपर्ने, विभिन्न शीर्षकमा अनुचित सेवा शुल्क असुल्न बन्द गरिनुपर्ने लगायतका माग राख्दै सङ्घर्षका कार्यक्रम गर्ने निर्णय गरेको छ । आन्दोलनका लागि सङ्घका अध्यक्ष प्रजापतिको संयोजकत्वमा एक सय एक सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरिएको महासचिव बलराम आचार्यले जानकारी दिए ।

भेटघाटमा मुख्यमन्त्री पोखरेलले बैंक तथा वित्तीय संस्थाहरूले पछिल्लो समय ब्याजदर बढाएकोबारे आफू जानकार रहेको र ब्याजदर घटाउन पहल गर्ने आश्वासन दिए । ‘यस विषयमा प्रदेश सरकारले नेपाल राष्ट्र बैंकको प्रदेश कार्यालय, बैंक तथा वित्तीय संस्थाहरूका प्रमुखसँग छलफल गरेर समस्या समाधानको पहल गर्नेछ’, उनले भने । प्रतिनिधिमण्डले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलसँग पनि भेटघाट गरी यो समस्याबारे जानकारी गराएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved