आठौं संस्करणको टी-२० विश्वकप : आज दुई खेल हुँदै

नेपालभ्युज

आठौं संस्करणको टी-२० विश्वकप : आज दुई खेल हुँदै

काठमाडौं। आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछ। आठौं संस्करणको यो प्रतियोगितमा होवार्टमा आज पहिलो राउण्ड अन्तर्गत समूह ‘बी’ का दुई खेलहरु हुँदैछन्।

पहिलो खेलमा स्कटल्याण्ड र वेस्ट इण्डिज खेल्दै छन्। बेरिलिभ ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ९:४५ मा सुरु हुनेछ।
स्कटल्याण्ड आफ्नो पाँचौं विश्वकप खेल्दै छ।

पूर्व च्याम्पियन वेस्ट इण्डिज भने हरेक विश्वकपमा सहभागी रहदै आएको छ। यी दुई टोली टी-२० अन्तराष्ट्रियमा पहिलो पटक खेल्दै छन्। सोमबार नै हुने दोस्रो खेलमा समूह ‘बी’ का जिम्बाबे र आयरल्याण्ड खेल्दै छन्। बेरिलिभ ओभलमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा हुनेछ।

आयरल्याण्ड आफ्नो सातौं टी-२० विश्वकप खेल्दै छ। जिम्बाबेले यसपटक छैठौं विश्वकप खेल्दै छ। यी दुई टोलीबीचको पछिल्लो पाँच भेटमा तीन पटक आयरल्याण्डले जित हात पार्दा दुई खेल जिम्बाबेले जितेको छ। यस विश्वकपमा १६ राष्ट्र सहभागी छन्। १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन्।

पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन्। पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स छन्। समूह ‘बी’ मा वेस्ट इण्डिज,जिम्बाबे,आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन्।

दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन्। यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा बिभाजन गरिने छ।

दुई समूहका शीर्ष २/२ टोली सेमिफाईनलमा पुग्ने छन्। सुपर १२ को समूह एकमा अष्ट्रेलिया,न्युजिल्याण्ड,अफगानस्तान,इंग्ल्याण्ड,पहिलो राउण्ड समूह ‘ए’ को बिजेता र पहिलो राउण्ड समूह ‘बी’ को उपबिजेता रहनेछन्।

समूह दुईमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेश पहिलो राउण्ड समूह ‘बी’ को बिजेता र पहिलो राउण्ड समूह ‘ए’ को उपबिजेता रहने छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved