‘ह्याट्रिक’ को दाउमा रहेका प्रेम आलेलाई छैन सहज

नेपालभ्युज

‘ह्याट्रिक’ को दाउमा रहेका प्रेम आलेलाई छैन सहज

काठमाडौं। सत्ता गठबन्धनले डोटीमा प्रतिनिधि सभाका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेलाई टिकट दिएको छ। नेकपा एकीकृत समाजवादीका नेता आलेले टिकट पाएपछि सत्ता गठबन्धनकै प्रमुख दल नेपाली कांग्रेसमा व्यापक असन्तुष्टि देखिएको छ।

कांग्रेस जित्ने बलियो सम्भावना रहेको जिल्लामा चौंथो स्थानमा रहेको पार्टीलाई टिकट दिएपछि नेता कार्यकर्ताहरूमा ब्यापक असन्तुष्टि बढेको हो। आलेविरुद्ध कांग्रेसका नरेन्द्र खड्काले स्वतन्त्र उम्मेदवारी दिएका छन्। डोटीलाई प्रदेशको स्थायी राजधानी बनाउने मुद्दा उठाउँदै आएका खड्का आलेलाई भारी बन्ने संकेत देखिएको छ।

एमालेले पूर्व सांसद् गौरी ओली टिकट दिएको छ। ओलीसँगै स्वतन्त्र उम्मेदवार खड्काले पनि चुनावी माहोल बनाएपछि आलेलाई धक्का लाग्ने आकलन गरिएको छ।

राजधानीको मुद्दालाई अघि सारेर चुनावमा होमिएको खड्काले बताए।  ‘माटो बेच्नेहरू फेरि भोट माग्न गाउँगाउँमा आएका छन्। तिनीहरूलाई पुन: प्रतिनिधि बनाउँदा डोटीले अर्को घाटा सहनुपर्छ त्यसैले राजधानीको मुद्दा लिएर चुनावमा होमिएको छु’, खड्काले भने,’जनताको मुद्दा लिएर चुनावमा जाने निर्णय गरेको हुँ। जित भयो भने सबै डोटेली जनताको हुन्छ। हार भएपनि जनताकै हुन्छ।’

तत्कालिन सरकारले प्रदेशको अस्थायी राजधानी धनगढीमा तोकेसँगै राजनीतिक दलसँग बिच्किएका खड्का निरन्तर संघर्षमा छन्। सुदूरपश्चिम सरकारले प्रदेशको स्थायी राजधानी कैलालीकै गोदावरी तोकेपछि उनी डोटी राजधानीको माग गर्दै आन्दोलनमा समेत उत्रिएका थिए। डोटी उद्योग वाणिज्य संघको अध्यक्षसमेत भइसकेका खड्का डोटीमा परिचित नाम हो।

पुरानो क्षेत्रीय सदरमुकाम रहेको ठाउँबाट प्रदेश राजधानी कैलाली सरेपछि असन्तुष्ट डोटेलीले खड्कालाई सहयोग गर्ने बताइरहेका छन्। गठबन्धनको मतका आधारमा जित लगभग सुनिश्चित देखिको डोटीमा आलेले अब प्रतिनिधिसभाको यात्रा तय गर्नका लागि दुई जनासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ।

२०६४ को पहिलो संविधान सभा सदस्यको निर्वाचनमा पाराजित भएका आले ०७० मा भने निर्वाचित भएका थिए। त्यो बेला डोटीमा प्रतिनिधि सभाका दुई निर्वाचन क्षेत्र थिए। बाम गठबन्धन बनेको २०७४ मा आले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए। त्यो बेला आलेले पूर्व मन्त्रीसमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरलाई पराजित गरेका थिए।

सत्ता गठबन्धनको सहयोगमा तेस्रो पटक चुनाव जित्ने दाउमा रहेका आलेप्रति कांग्रेसका अधिकांश नेता कार्यकर्ताहरू असन्तुष्ट छन्। कांग्रेसले सहयोग नगरे डोटीमा आलेलाई जित सहज देखिदैन।

आलेले प्रतिनिधि सभा निर्वाचनका दौरान आफूले जिते दिपायललाई प्रदेशको राजधानी बनाउने भन्दै भोट मागेका थिए। तर, सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी तोकिएपछि सांसद आलेप्रति डोटीबासी आक्रोशित भएका छन्। झुटो बोलेर जनतालाई झुक्याएको भन्दै आलेलाई गृह जिल्लामै स्थानीयले कालोझण्डासमेत देखाएका थिए।

डोटीमा एकीकृत समाजवादीको मत कम भएपनि गठबन्धनको आधारमा चुनाव जित्ने दाउमा आले छन्। आले संलग्न पार्टी भने डोटीमा चुनाव जित्नेमा ढुक्क छ। एकीकृत समाजवादीका डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटीले आफ्नो पार्टीको जित निश्चित भएको दाबी गरे।

‘बहुदलिय व्यवस्थामा दलको विकल्प दल हो। त्यसकारण डोटीमा प्रतिनिधि सभामा आले कमरेडको जित निश्चित छ। स्वतन्त्र व्यक्ति प्रतिनिधि बन्न सक्दैनन्,’ उनले भने।

कांग्रेसले डोटीका नौ वटा पालिकामध्ये एकल चुनाव लडेर सात वटामा प्रमुख र आठ वटामा उपप्रमुख जितेको छ। पार्टी सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको टिकट समाजवादीलाई दिएर कांग्रेसका प्रदेश सभापति बलायरलाई कैलाली-४ बाट चुनाव लडाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved