एमालेले कसैसँग गठबन्धन गर्दैन : अध्यक्ष ओली

नेपालभ्युज

जनकपुरधाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कसैसंग गठबन्धन नगरी एमाले एक्लै चुनावमा जाने बताएका छन् ।

नेकपा एमाले धनुषाले सोमबार आयोजना गरेको वृहत जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै एजेण्डा र उद्देश्यका साथ एमाले एक्लै चुनाबमा जाने र कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका हुन् ।

आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनले एमालेलाई कुनै फरक नपार्ने जिकिर गर्दै अध्यक्ष ओलीले एमालेप्रति बढ्दै गएको आकर्षणका कारण पाँच दलीय गठबन्धनका नेताहरुको अनुहारमा चमक हराउँदै गएको दाबी गरे ।

‘अहिले देशभरका जनता तथा अन्य पार्टीका नेता कार्यकर्ताहरुको आकर्षण एमालेप्रति बढेको देखेर अरु दलका नेताहरु तर्सिएका छन्’, उनले भने,’त्यसैले उहाँहरु गठबन्धन गरी चुनावमा जाने रट लगाई रहनुभएको छ, किन कि उहाँहरुमा एमालेसँग एक्लै चुनाव लड्ने आँट छैन् ।’

तर उनले केही साना दलको अस्तित्व जोगाइदिन तालमेल गर्न सक्ने पनि बताए ।

‘एमाले कसैसँग गठबन्धन गर्दैन् तर, कहिले काँही अरु दलको अस्तित्व जोगाई दिनका लागि भएपनि हामी तालमेल गर्न सक्छौ । आफ्नो लागि होईन्,साना पार्टीलाई उद्धार गर्नको लागि मात्र तालमेल गर्नुपर्ने अवस्था आउन सक्छ ।’ ओलीको कथन थियो ।

‘हजारौको संख्यामा मधेशी समुदायका नेता, कार्यकताहरु पार्टीमा हुनुहुन्छ, अन्य पार्टी परित्याग गरि प्रवेश गर्दै हुनुहुन्छ’, उनले भने, ‘तर पनि केही पार्टी र नेताहरुले एमाले पहाडियाको पार्टी मात्रै हो, त्यसमा मधेशीको स्थान छैन् भन्ने जुन आरोप लगाईरहेको छ त्यो गलत सावित भईसकेको छ ।’

मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न निर्देशन दिँदै उनले जनताको पक्षमा र देशलाई अन्धकारमय हुनबाट बचाउन एमाले अग्रसर रहेको बताए । आगामी निर्वाचन समान्य निर्वाचन नभई मुलुकको भाग्य र भविष्य निर्धारण गर्ने निर्वाचन भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनबाट एमालेको सरकार नबने मुलुक संकटमा फस्ने दाबी समेत गरे ।

नागरिकता विधेयकको नाममा गठबन्धन सरकारले भ्रम फैलाउने काम गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्ने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved