काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काबुलस्थित रुसी दूतावासमा बम विष्फोट, दुई कर्मचारीको मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुलस्थित रूसी दूतावासबाहिर सोमबार भएको आत्मघाती बम विस्फोटमा परी दूतावासका दुई कर्मचारी र कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी अधिकारी र रूसी सरकारी समाचार संस्थाले जनाएको छ ।

आक्रमणकारी आफैले विष्फोट गराएको हो वा सुरक्षाकर्मीले गोली चलाउँदा विस्फोट भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । मृत्यु हुनेको सङ्ख्या अझै बढी हुने अनुमान गरिएको छ भने ८ देखि १० जना घाइते भएको बताइएको छ ।

रूसी नोभोस्ती समाचार संस्था, आरआईएका अनुसार एक रुसी कुटनीतिज्ञ भिसाका लागि उम्मेदवारको नाम लिन दूतावासबाहिर पर्खिरहेका मानिसहरूसामु बाहिर निस्केपछि विस्फोट भएको थियो । मस्कोको विदेश मन्त्रालयलाई उद्धृत गर्दै एजेन्सीले दूतावासका दुई जना कर्मचारीको मृत्यु भएको जनाएको छ ।

काबुल प्रहरी प्रमुखका प्रवक्ता खालिद जादरानले कम्तीमा एक सर्वसाधारणको मृत्यु भएको र अन्य १० जना घाइते भएको बताएका छन् । जादरानले विस्फोटमा एक आत्मघाती आक्रमणकारीको संलग्नता रहेको बताएका छन्। उनले दूतावासबाहिर कुरेर बसेको आक्रमणकारीको भीडको नजिक पुग्नुअघि नै पहिचान सुरक्षाकर्मीले गरेको बताए ।

जादरानका अनुसार सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली हानेका थिए । आक्रमणकारीले गोली चलाउनुअघि विस्फोट गराउन सफल भएको थियो वा गोलीले विष्फोटक पदार्थ विस्फोट गराइएको थियो भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन ।

जादरानले घटनाको अनुसन्धान भइरहेको र प्रहरीले उक्त क्षेत्र बन्द गरेको बताए । रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानको राजधानी काबुलस्थित रुसी दूतावासको कन्सुलर सेक्सनको प्रवेशद्वार नजिकै विस्फोट भएको र एक अज्ञात लडाकूले विस्फोटक पदार्थ विस्फोट गराएको जानकारी भएको छ ।’

उनले भने, ‘आक्रमणका कारण कूटनीतिक नियोगका दुई सदस्यको मृत्यु भएको छ र एक अफगानी नागरिक पनि मारिएका छन् ।’

तालिवानले सत्ता कब्जा गरेको एक वर्ष यता भएको यो पछिल्लो विस्फोटको जिम्मेवारी तत्काल कसैले लिएको छैन । गत वर्ष अमेरिका र नेटोका सेना फिर्ता हुने अन्तिम चरणमा पुगेका बेला पूर्व विद्रोहीले देश कब्जा गरेयता इस्लामिक स्टेट समूहको स्थानीय सहयोगी समूहले तालिवान र सर्वसाधारणविरुद्ध आक्रमणलाई तीव्र बनाएको छ । सिन्ह्रा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved