बहस

मिखायल गोर्बाचेभ: साम्यवादी साम्राज्यका अन्तिम ‘सम्राट’ !

कसैका लागि 'नायक' र कसैका लागि 'खलनायक'

गोर्बाचेभ त्यस्ता पात्र हुन्, जसलाई कसैले नायक र कसैले खलनायकका रुपमा चित्रण गर्दछन । आज पनि विश्व कम्युनिष्ट आन्दोलनको कट्टरवादी हिस्साले उनलाई गद्धार र सिआएइको एजेन्ट मान्छ। कम्युनिष्टहरु खराब कम्युनिष्ट नेताको उदाहरण लिनु पर्‍यो भने गोर्बाचेभको नाम लिन्छन । ‘गोर्बाचेभजस्तो गद्धार’ भन्ने गर्छन। अर्कोतिर उनलाई सन् १९८९–१९९१ का विश्व घटनाक्रम र लोकतन्त्रको लहरका प्रेरणास्रोत पनि मानिन्छ ।

मिखायल गोर्बाचेभ: साम्यवादी साम्राज्यका अन्तिम ‘सम्राट’ !

आधुनिक विश्व इतिहासकै सर्वाधिक ठूलो राज्य ‘युएसएसआर’ अर्थात् ‘सोभियत समाजवादी गणतन्त्रहरूको संघ’ संक्षिप्तमा ‘सोभियत संघ’ का अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचेभको मंगलबार मस्कोमा निधन भयो । उनी ९१ वर्षका थिए । उनको निधनको समाचारले विश्वको ध्यान फेरि एकपटक सन् १९८० को दशकको विश्व राजनीतितिर आकर्षित भएको छ।

मानवीय दृष्टिकोणले गोर्बाचेभ पनि संसारका अर्बौं मानिसजस्तै एक सामान्य व्यक्ति थिए । तर, उनको जीवन अनेक रोचक ऐतिहासिक संयोगहरू भएर गुज्रिएको थियो । उनी विश्वको पहिलो कम्युनिस्ट क्रान्ति अर्थात् लेनिनको नेतृत्वमा भएको सन् १९१७ को अक्टोबर क्रान्तिबाट स्थापित सोभियत संघ भनिने साम्यवादी ‘साम्राज्यका अन्तिम सम्राट’ जस्तो रहे । उनकै शासनकालमा ७४ वर्ष लामो कम्युनिस्ट सत्ताको अन्त्य भएको थियो । करिब ७० वर्ष लामो सोभियत संघ विभाजित भई १५ वटा सार्वभौम गणराज्य बने ।

उनकै शासनकालमा दोस्रो विश्वयुद्धपछि निर्माण भएको ‘दुई महाशक्ति’ राष्ट्रबीचको शीत युद्ध सकियो । उनकै शासनकालमा कम्युनिस्ट राज्यहरूको सैन्य गठबन्धन ‘बार्सा प्याक्ट’ विघटनको पृष्ठभूमि तयार भयो । गोर्बाचेभ नै ती राष्ट्रपति थिए जसले लेनिनवादी–स्टालिनवादी शासन, राज्य र अर्थतन्त्रलाई ग्लास्तनोस्त (खुल्लापन ) र पेरेस्त्रोइका (पुनर्निर्माण ) नीति अबलम्बन गरी लोकतन्त्र र बजार अर्थतन्त्रतिर उन्मुख गराएका थिए । गोर्बाचेभको जीवन यस्ता अनेक ऐतिहासिक विश्व महत्त्वका घटना हुँदै गुज्रिएको थियो ।

गोर्बाचेभ त्यस्ता पात्र हुन्, जसलाई कसैले नायक र कसैले खलनायकका रूपमा चित्रण गर्दछन् । आज पनि विश्व कम्युनिस्ट आन्दोलनको कट्टरवादी हिस्साले उनलाई गद्दार र सीआएइको एजेन्ट मान्छ। उनका उदारवादी नीति र असक्षमताको कारणले ‘साम्यवादको मक्कामदिना’ पतन भएको इख पोख्ने गरिन्छ । उनलाई खलपात्र बनाएर गाली गरिन्छ । कम्युनिस्टहरू खराब कम्युनिस्ट नेताहरूको उदाहरण लिनु पर्‍यो भने गोर्बाचेभको नाम लिन्छन । ‘गोर्बाचेभजस्तो गद्दार’ भन्ने गरिन्छ। अर्कोतिर उनलाई सन् १९८९–१९९१ का विश्व घटनाक्रम र लोकतन्त्रको लहरका प्रेरणास्रोत पनि मानिन्छ ।

अफगान युद्धमा सोभियत सेनाको हारपछि गोर्बाचेभले सोभियत सेनाको वर्चश्वलाई विश्वभरि नै शिथिल बनाएका थिए । यही अवसरको उपयोग गरी पूर्वी युरोपेली मुलुक एकदलीय शासनबाट मुक्त भए । गोर्बाचेभकै नरम नीतिका कारण पूर्वी जर्मनीको पतन र जर्मन एकीकरण सम्भव भएको थियो । आवणिक हतियारको होडबाजी, अन्तरिक्षका लागि हुने प्रतिस्पर्धा र विश्व वर्चश्वका लागि हुने ‘दुई महाशक्ति’ बीचको तनावलाई शिथिलीकरण गर्न उनको ठूलो योगदान थियो । उनकै नीतिहरूका कारण सोभियत गणराज्यहरूमा बजार अर्थतन्त्र पुनर्स्थापित भएको थियो । रुसी तथा अन्य गणराज्यका जनताले विश्वसञ्चार माध्यम, विश्व कला, साहित्य, संगीत र सिनेमा हेर्न पाएका थिए । गोर्बाचेभको उदयअघि यी सामान्य अधिकारसमेत त्यहाँका जनताले करिब ७ दशकदेखि पाएका थिएनन्।

गोर्बाचेभ सोभियत संघमा ७४ वर्ष लामो एकदलीय कम्युनिस्ट शासन व्यवस्थाको अन्त्य चाहन्थे भन्ने आरोप घटनाक्रमले पुष्टि हुँदैन । उनी विस्तारै त्यसमा सुधार गर्न चाहन्थे । तर, उनको सुधारवादी लाइनविरुद्ध सत्तारुढ सोभियत कम्युनिस्ट पार्टीमा बोरिस एल्तसिनको लोकतन्त्रवादी र गेन्नाडी यानाभेवको कट्टर साम्यवादी धारबीच यति तीव्र संघर्ष भयो कि त्यसको बीचमा चेपिएर गोर्बाचेभको सुधारवादी लाइन अर्थहीन बन्यो ।

गोर्भाचेबको उदय

गोर्भाचेबको जन्म सन् १९३१ मार्च २ मा भएको थियो । उनी रुसी बुबा र युक्रेनी आमाका सन्तान थिए । गोर्बाचेभ जन्मिँदा सोभियत संघमा स्टालिनको उदय भएको एक दशक पुग्न लागेको थियो । सन् १९२८ मा स्टालिनले सोभियत संघमा समाजवादी क्रान्ति पूरा भई ‘साम्यवाद निर्माणको चरण’ प्रारम्भ भएको घोषणा गरेका थिए ।

गोर्बाचेभका हजुरबा कम्युनिस्ट पार्टीको सदस्य र स्टालिनका समर्थक थिए । तीन वर्षको उमेरमा उनी निजी घर छोडेर हजुरबासँगै सामूहिक कृषि कम्युनमा बस्ने भएका थिए। सन् १९३८ को स्टालिनको ‘महासफाया अभियान’ मा गोर्बाचेभका हजुरबालाई पक्राउ गरी श्रमशिविर पठाइएको थियो । गोर्बाभेचका पिता भने रुसी लाल सेनाका सिपाही थिए । सन् १९४७ मा सोभियत कम्युनिस्ट पार्टीको युवा संगठन ‘कोम्सोमोल’ मार्फत् गोर्बाचेभले राजनीतिक जीवन सुरु गरेका थिए । सन् १९७८ मा उनी पार्टी केन्द्रीय कमिटीको सचिव हुँदै राजनीतिमा उदाएका थिए ।

स्टालिन शासनकालमा सताइएको परिवारका सदस्य भएको हुँदा उनमा कट्टपन्थी साम्यवादमा विश्वास थिएन । उनी सोभियत शासन प्रणालीलाई सुधार गर्ने इच्छा राख्थे । सन् १९८५ मा पार्टी महासचिव बन्दा उनी ५४ वर्षका थिए । यति छिटो उनी पार्टी महासचिव र देशकै राष्ट्रपति होलान् भनेर कसैले कल्पना गरेको थिएन । तीन वरिष्ठ पार्टी नेताको केही वर्षभित्रै मृत्यु भएकाले उनलाई सहज भएको थियो । सन् १९८२ मा लियोनिद ब्रेझनेभको मृत्यु भयो । आन्द्रोपोभ सत्तामा आए । सन् १९८४ मा आन्द्रोपोभको मृत्यु भयो, चेर्नेन्को सत्तामा आए । सन् १९८५ मा चेर्नेन्कोको मृत्यु भयो । त्यसपछि गोर्बाचेभ पार्टी महासचिव र राष्ट्रपति बन्न पुगेका थिए ।

ग्लास्नोस्त र पेरेस्त्रोइका

पार्टी र राज्यसत्तामा उदाएको दुई वर्षपछि उनले ग्लास्नोस्त र पेरेस्त्रोइका नीति प्रारम्भ गरे । यी दुवै रुसी शब्द हुन् । ग्लास्नोस्तको अर्थ हो, खुल्लापन । यस नीतिअन्तर्गत उनले समाज र अर्थतन्त्रलाई खुल्ला बनाउँदै लैजाने घोषणा गरे ।  राज्य आधारित अर्थतन्त्रलाई बिस्तारै बजार अर्थतन्त्रमा फर्काउने, सोभियत नागरिकले स्वतन्त्रतापूर्वक विश्वभरि आवतजावत गर्न नपाइने नीतिलाई खुकुलो पार्ने काम उनले गर्न थाले । पेरस्त्रोइकाको अर्थ हो- पुनर्निर्माण, यस नीतिअन्तर्गत उनी एकदलीय राज्य प्रणालीलाई विस्तारै लोकतान्त्रिकरण गर्दै लैजान चाहन्थे ।

गोर्बाचेभ, यल्तसिन र यानायेवको त्रिकोणिय लडाइँ

सामान्यतः सोभियत कम्युनिस्ट प्रणालीमा पार्टी महासचिव र राष्ट्रपति एउटै व्यक्ति हुन्थ्यो । ती दुवै पदमा गोर्बाचेभ थिए । शक्तिको केन्द्रिकरण थियो । उनलाई तत्काल कसैले चुनौति देला, उनको पतन होला, सोभियत संघ र सोभियत प्रणालीकै पतन होला भन्ने कल्पना कसैले गरेको थिएन । तर, सोभियत कम्युनिस्ट पार्टीभित्र पाकिरहेको खिचडी भने फरक थियो । गोर्बाचेभको लाइन नै पार्टी र राज्यको आधिकारिक लाइन थियो, यसलाई ‘सुधारवादी लाइन’ भनिन्थ्यो ।

तर, पार्टी पोलिटब्यूरो सदस्य तथा मस्कोका मेयर बोरिस यल्तसिन भने एकदलीय कम्युनिस्ट प्रणाली नै अन्त्य गरी अमेरिकी मोडेलको प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएको लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्ने लक्ष्य राख्थे । अर्कोतिर, पार्टी उपमहासचिव तथा उपराष्ट्रपति गेन्नाडी यनायेव र उनको समूह थियो । जो, स्टालिनवादी कट्टर साम्यवादी शासन व्यवस्था र अर्थप्रणालीमा विश्वास गर्थ्यो । यो समूह गोर्बाचेभको सुधार नीतिबाट भित्रभित्रै चरम असन्तुष्ट थियो ।

यनायेव गुटको अगष्ट सत्ताविद्रोह 

सन् १९९१ को अगस्ट ४ मा गोर्बाचेभ छुट्टी मनाउन क्रिमिया गएका थिए। उनी अगष्ट २० मा मस्को फर्किएर सोभियत संघलाई पुनर्गठन गर्ने गणराज्यसँगको नयाँ सन्धीमा हस्ताक्षर गर्ने योजना थियो । तर, त्यसको एक दिन अघि अगष्ट १९ मा उपराष्ट्रपति यनायेवको गुटले सत्ता विद्रोह गर्दै सम्पूर्ण सत्ता आफ्नो हातमा आएको, गोर्बाचेभलाई बर्खास्त गरिएको घोषणा गर्‍यो । गोर्बाचेभ जिल्ला परे । राज्ययन्त्र पुरै गेन्नाडी यनायेवको पक्षमा मिलेको थियो । गोर्बाचेभ केही गर्न सक्ने स्थितिमा थिएनन् । उनी निरिह र लाचार थिए ।

यो स्थितिको राजनीतिक लाभ भने अन्ततः बोरिस यल्तसिनको समूहलाई भयो । यल्तसिनले यनायेवको सत्ताविद्रोहविरुद्ध जनतालाई सडकमा आउन आह्वान गरे । अकल्पनीय ढंगले मस्कोका जनता सडकमा आए । जनविद्रोहका अगाडि यनायेव समूह टिक्न सकेन । सत्ताविद्रोहका कतिपय सदस्यले आत्महत्या गरे । यनायेवलाई पक्राउ गरी जेल हालियो ।

जनविद्रोहको बलमा बोरिस यल्तसिनको हातमा सत्ता पुग्यो । यल्तसिनले सोभियत संघ भंग गरी गणराज्यलाई सार्वभौम राज्यको मान्यता दिए । सोभियत संघबाट छुट्टिएर १५ वटा नयाँ देश बने । बोरिस यल्तसिनले एकदलीय कम्युनिस्ट व्यवस्था अन्त्य गरी प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली प्रारम्भ गरे । पहिलो प्रत्यक्ष निर्वाचित राष्ट्रपति उनी आफैँ भए । यसरी सोभियत संघ, शीत युद्ध, लेनिनवादी सत्ता र गोर्भाचेब युगको एक साथ अन्त्य भयो ।

निरीह गोर्बाचेभ 

गोर्बाचेभमाथि लगाइने आरोप कति वस्तुनिष्ठ हुन, त्यसको भिन्नै समीक्षा र ऐतिहासिक सम्परिक्षण गर्नुपर्छ । के एकदलीय कम्युनिस्ट प्रणालीको अन्त्य र लोकतन्त्रको स्थापना हुनु कुनै नराम्रो कुरा थियो ? यसको उत्तर गोर्बाचेभमाथि आरोप लगाउनेहरूले दिएको देखिन्न। भलै कि त्यसपछि उदाएका बोरिस यल्तसिनका उत्तराधिकार ब्लादिमिर पुटिनको शासन कति लोकतान्त्रिक छ, त्यसको भिन्नै मूल्यांकन हुन सक्ला ।

यथार्थमा यनायेवको सत्ताविद्रोहपछि गोर्बाचेभ चाहेर पनि केही गर्न सक्ने स्थितिमा थिएनन । उनी निरिह र लाचार स्थितिमा पुगिसकेका थिए । आफ्नै उपराष्ट्रपति वा उपमहासचिवले यति ठूलो बेइमानी गर्ला र इतिहासले अर्कै मोड लेला भनेर उनले कल्पना नै गरेका थिएनन् ।

सोभियत प्रणालीमा सत्ता विद्रोह कुनै नयाँ कुरा भने थिएन । सन् १९६४ मै निकिता खुस्चेभ विरुद्ध ब्रेझनेभ समूहले यस्तै ‘कु’ मार्फत् सत्ता हत्याएको थियो । गोर्बाचेभ ब्रेझनेभ कै उत्तराधिकारमा उदाएका नेता थिए । फरक कति भने ख्रुश्चेभविरुद्ध ब्रेझनेभ गुटको सत्ताविद्रोह सफल भएको थियो, गोर्बाचेभविरुद्ध यानायेव गुटको सत्ताविद्रोह असफल त भयो तर सत्ता भने गोर्बाचेभको हातमा फकिएन, बोरिस यल्तसिन हुँदै पुटिनमा पुग्यो ।

विश्व घटनाका महापात्रहरूको पक्ष वा विपक्षमा भविष्यमा पनि तर्क वितर्क भइरहनेछन। त्यो स्वाभाविक हो । गोर्बाचेभ त्यस्तै एक महापात्र थिए । उनीबारेको बहस मानव सभ्यता रहुन्जेल कहिल्यै अन्त्य हुने छैन । तर, मुख्य कुरा कुन ऐतिहासिक परिबन्द र संयोगले यी महापात्रको उत्थान र पतन भएको थियो- इतिहासको त्यो कडीलाई अहिलेको पुस्ताले बुझ्न आवश्यक छ । र सोहीअनुसार धारणा बनाउन पनि ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved