पुस्तान्तरणको बहस

मंसिर ४ को चुनावबाट बिदा होलान् तीन ‘बा’ ?

रवि लामिछानेको अभिव्यक्तिले ल्याएको तरंग

अहिलेका शीर्ष नेता दोहोरिएर देश र जनतालाई राम्रो हुने आशा निम्छरो भइसकेको छ। तथापि, नेताहरू दौडबाट बाहिरिन मानिरहेका छैनन्। हाल ४३% मतदाता ४० वर्षभन्दा कम उमेर समूहका छन् । मतदाताले नेतृत्वमा पनि आफ्नो उमेर समूहको प्रतिनिधित्व पक्कै खोज्छ । हर्क र बालेनहरुको उदय हुनुमा एउटा मुख्य कारण यो पनि हो ।

मंसिर ४ को चुनावबाट बिदा होलान् तीन ‘बा’ ?

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अगाडि ‘बा’ लागेका बालेनहरू डोजर लिएर निस्किसकेको हुुँदा पछाडि ‘बा’ लागेका ‘३ बा’ केपी बा, देउवा र ‘नानीका बा’ (प्रचण्ड) लाई मंसिर ४ को निर्वाचनले राष्ट्रिय राजनीतिबाट बिदा गर्नुपर्ने अभिव्यक्ति दिए ।

गत शनिबार खुल्लामञ्चमा आयोजित पार्टी कार्यक्रममा उनले यस्तो धारणा राखेका थिए । उनको यो भनाइ सामाजिक सञ्जालमा खुबै चर्चित भयो । संयोगको कुरा, लामिछानेको पार्टी सभा कुशेऔंशीको दिन थियो । कुशेऔशी नेपाली समाजमा ‘बाको मुख हेर्ने दिन’ हो । बाहरूलाई खुसी बनाउनुपर्ने दिन लामिछानेले भने ‘तीन बा’ लाई बेखुसी पार्ने कुरा गरे । लामिछानेको अभिव्यक्तिले निश्चय नै ‘३ बा’ को मन दुखेको हुनुपर्दछ । ‘३ बा’ अझै राष्ट्रिय राजनीतिको बागडोर छोड्ने मनस्थितिमा छैनन्। बरु तीनै जना मौका परे मंसिरपछि प्रधानमन्त्री हुने आशाका बसिरहेका छन् । मंसिरपछिको प्रधानमन्त्री ‘३ बा’ कै राजनीतिक जीवनको अन्तिम सपना हो।

एमालेले त भावी प्रधानमन्त्री भने ओली बालाई घोषणा गरिसकेको छ । देउवा र नानीका बा मंसिरपछि आलोपालो गर्ने मनस्थितिमा छन भन्ने सुनिन्छ। प्रचण्डले मंसिरपछि तेस्रो र अन्तिमपटक प्रधानमन्त्री हुने इच्छा एक महिनाअघि नै सार्वजनिक गरिसेका छन् ।

लोकतान्त्रिक राजनीतिमा उमेर लक्षित बहस र घोचपेज कति उचित र मानवीय हो भन्ने बहस संसारभरि नै छ । लोकतन्त्रले उमेरका आधारमा व्यक्तिगत सार्वभौमसत्ता र नागरिक अधिकार बीच विभेद गर्दैन । संसारमा त्यस्ता धेरै उदाहरण छन् कि कतिपय राजनीतिज्ञ बुढेसकालमा झनै लोकप्रिय भएका मात्रै हैन, आफ्नो देश र समाजलाई निक्कै ठूूलो योगदानसमेत दिएका छन्। तर, सत्यको अर्को पाटो उत्तिकै प्रखर छ । निवृत्ति, वनप्रस्थ वा संन्यास उमेरमै आधारित हुन्छ। पूर्वीय दर्शन, मान्यता र परम्पराले ‘जेष्ठ नागरिक’ को आत्मसम्मानलाई जति महत्त्व दिएको छ, बुढ्यौली उमेरमा गृहस्थ, कार्यकारी पद वा जिम्मेवारी ओगटी रहनु उचित हैन भन्ने मान्यतालाई पनि उत्तिकै जोडतोडका स्थापित गर्न खोजेको छ।

त्यसो त लामिछानेले यस्तो बहस पहिलोपटक छेडेका हैनन । यो लामो समयदेखि हुँदै आएको सार्वजनिक बहसको निरन्तरता हो । करिब एक दशकयता नेपालमा पुस्तान्तरणको बहस तीव्र छ। उही अनुहार र उस्तै प्रवृत्तिको नेतृत्व जनताले करिब दुई दशकदेखि भोगिरहेका छन् । तसर्थ, जनता, मतदाता र विशेषगरी नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरणको तीर्खा लाग्नु अस्वाभाविक हैन। लामिछानेले पुरानो पुस्ताको नेतृत्वप्रति जनस्तरमा बढ्दै गएको वितृष्णा र अनाकर्षणलाई अझ मुखरित गर्दिएका मात्र हुन् ।

सामाजिक सञ्जालमा ‘पूर्वप्रधानमन्त्री हराउ अभियान’ समेत सञ्चालन भइरहेको छ । देउवालगायत पूर्वप्रधानमन्त्रीहरू  केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले मंसिर ४ गते हुने चुनाव फेरि एकपटक लड्ने इच्छा सार्वजनिक गर्दै आएका छन्। जीवित पूर्वप्रधानमन्त्रीमध्ये राप्रपाका नेता लोकेन्द्रबहादुर चन्द भने यो दौडमा देखिएका छैनन् ।

सबैजसो पूर्वप्रधानमन्त्रीको उमेर ७० वर्षको आसपासमा छ । यिनीहरू पुनश्च: उम्मेद्वार र मंसिर ४ पछिको प्रधानमन्त्री हुने कुरा नयाँ पुस्ताले मन पराइरहेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवा ७४ वर्षका भए । केपी शर्मा ओली ७० कटे । माधव नेपाल, डा. बाबुराम भट्टराई र प्रचण्ड ६९ वर्षमा दौडिरहेका छन्। झलनाथ खनाल ७२ वर्षमा प्रवेश गरे ।

मंसिर ४ को चुनावमा यी सबै पूर्वप्रधानमन्त्रीले चुनाव जितेमा थप पाँच वर्ष देशको राजनीतिक नेतृत्व पनि यही समूहको हातमा रहनेछ । देश ७५ वर्ष उमेरको ‘जेष्ठ नागरिक समूह’द्वारा शासित हुनेछ । जनआन्दोलन २०६२-२०६३ यताको करिब २ दशक देशको नेतृत्व यही समूहले गरिहेको छ । हिजो पञ्चायत तथा शाहवंशीय निरंकुश राजतन्त्र विरोधी लोकतान्त्रिक आन्दोलनको क्रममा यो समूहले राम्रो योगदान गरेको थियो । तर, शासन प्रशासनको गुणस्तर क्षमताको दृष्टिकोणबाट भने यो समूह त्यति प्रभावकारी र परिणाममुखी देखिएन । विशेषगरी, तीन जना ‘बा’सँग जनता खुसी नभएको मात्र हैन, वाक्क दिक्कसमेत भएका छन् । मूलतः भ्रष्टाचार र कुशासन बढेको, देशले आर्थिक विकास र समृद्धि  हासिल गर्न नसकेकोमा यो नेतृत्व समूहसँग असन्तुष्टि बढेको हो ।

शासन प्रशासनमा ७० वर्षमाथिको उमेर समूहको बर्चश्व र हालीमुहालीलाई अंग्रेजीमा ‘जेरोन्टोक्रेसी’ र नेपालीमा ‘वृद्धतन्त्र’ भन्ने गरिन्छ । ‘वृद्धतन्त्र’ नेपालको मात्रै समस्या भने हैन । विभिन्न देशको राजनीतिक इतिहासमा यस्तो अवस्था उत्पन्न भएका उदाहरण धेरै नै पाइन्छन् । राजनीतिशास्त्रले भन्छ-‘वृद्धतन्त्र’ एकप्रकारको असक्षम र अल्पतन्त्री (ओलीगार्की ) शासन हो । वृद्धतन्त्रले राज्य संयन्त्र कब्जा गर्यो भने राष्ट्र र समाज गतिरोधमा फस्दछ। हुनुपर्ने निर्णय नहुने, नहुनुपर्ने हुन थाल्छ । राष्ट्र, समाज र इतिहासका कार्यभार एकातिर हुन्छन, वृद्धतन्त्र अर्कोतिर हिड्न खोज्छ ।

वृद्धतन्त्रको अहं र असक्षमता राष्ट्रको दूर्गतिको कारकतत्व बन्न सक्दछ । ‘गोरु बुढो भए भीर खोज्छ, मान्छे बुढो भए निहुँ खोज्छ’ भन्ने उखान सायद त्यसै बनेको हैन । बुढ्यौली अवस्थामा सिर्जना हुने मनोवैज्ञानिक समस्या, हठ र कुन्ठालाई व्यक्त यो उखान काफी छ । सँगसँगै शारिरिक तथा मानसिक स्वास्थ्य र सक्रियतामा समेत प्रश्न उठ्छ ।

आधुनिक विश्व राजनीतिमा वृद्धतन्त्रको सबैभन्दा गतिलो उदाहरण ब्रेझनेभकालिन सोभियत संघलाई मान्ने गरिन्छ।  इतिहासकार त के समेत भन्छन भने सन् १९९० मा सोभियत संघ विघठनको पूष्ठभूमि यही ब्रेझनेभकालिन वृद्धतन्त्रले तयार गरेको थियो । लियोनिद ब्रेझनेभ आजीवन सत्तामा बसे, मृत्यु हुँदा ७५ वर्षका थिए । ब्रेझनेभको पालमा पार्टी पोलिटब्युरो सदस्यको औसत उमेर ७२ वर्ष थियो भने सरकारमा आधाभन्दा बढी मन्त्री ७० वर्षभन्दा माथिका थिए ।

ब्रेझनेभपछिका आन्द्रोपोभ ६८ र त्यसपछिका चेर्नेन्को ७२ वर्षमा वितेका थिए । चेर्नेन्कोको मृत्युसँगै सोभियत कम्युनिष्ट पार्टीको उच्च तहमा एउटा पुस्ता समाप्त भयो । ब्रेझनेभको वृद्धतन्त्रले सोभियत संघलाई सन् १९७९–१९८९ सम्म १० वर्ष लामो अफगान युद्धमा होम्यो । जुन युद्धमा १५ हजार सोभियत सेना अनाहकमा मरे । अन्ततः सोभियत संघलाई केही पनि हात लागेन, केवल विश्वभरि बदनामी मात्रै बेहोर्नुपर्‍यो । ब्रेझनेभकालीन वृद्धतन्त्रले सिर्जना गरेको नेतृत्व संकटको कारणले गोर्भाचोभको उदय भएको थियो ।

वृद्धतन्त्रले सोभियत संघलाई भित्रभित्रै यति धेरै लथालिङ र भताभुङ बनाइसकेको थियो कि ५४ वर्षीय मिखायल गोर्भाचोले त्यसलाई जोगाउन सकेनन्। राजनीतिशास्त्रीका अनुसार वृद्धतन्त्र कुनै औपचारिक शासन हैन, यो कुनै राष्ट्र वा समाजमा कारणवश उत्पन्न हुने एक यस्तो अवस्था हो, जसले उपलब्धि कम र हैरानी धेरै निम्त्याउँछ। कानुनतः वृद्ध उमेरमा चुनाव लड्न नपाउने, जित्न र सत्ता सञ्चालन गर्न नपाउने भन्ने हुँदैन । संसारको कुनै पनि लोकतन्त्रमा यस्तो व्यवस्था छैन।

अमेरिकामा अहिले जो वाइडन छन जो ७८ वर्षको उमेरमा राष्ट्रपति चुनिए । यस अघि यो रेकर्ड उनकै प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको नाममा थियो । ट्रम्प ७० वर्षको उमेरमा राष्ट्रपति चुनिएका थिए । एक तथ्यांक अनुसार ट्रम्प र वाइडेनको शासनकालमा उच्चपदस्थ अमेरिकीको औसत आयु ७७ वर्ष छ जबकl बिल क्लिन्टन र बाराक ओबामाको कार्यकालमा यस्तो औसत आयु ५५ वर्ष थियो ।

ट्रम्पको शासनकाल अमेरिकी इतिहासमै सर्वाधिक असफल रह्यो । ट्रम्पको भन्दा तुलनात्मक रुपमा केही राम्रो भए पनि वाइडेनको शासनकाल पनि खासै प्रभावकारी हुन सकिरहेको छैन । कानुनी तथा संवैधानिक व्यवस्थाबाट उमेरको छेकबार लगाउन उचित हुँदैन तर प्रचलन, परम्परा र संस्कृतिद्धारा त्यसलाई स्थापित गर्न सकिन्छ । ७० वर्ष कटेपछि राजनीतिक सन्यास लिने प्रचलन स्थापित हुने हो भने त्यसले कसैलाई हानी गर्दैन, सबैलाई फाइदा नै गर्दछ ।

त्यही व्यक्ति कुनै खास उमेरमा जेजति सक्रिय र परिणाममुखी हुन्छ, अर्को समय, परिस्थिति र उमेर समूहमा पुग्दा नहुन सक्छ । त्यसको सबैभन्दा राम्रो उदाहरण मलेसियाका पूर्वप्रधानमन्त्री डा. महाथिर मोहम्मद हुन् । उनको पहिलो प्रधानमन्त्रीत्वकाल असाध्यै सफल र लोकप्रिय मानिएको थिए । सन् १९८१ मा पहिलोपटक प्रधानमन्त्री बन्दा उनी ५६ वर्षका थिए । २२ वर्ष निरन्तर सत्तामा रहेर राजनीतिबाट सन्यास लिए ।

तर, त्यसको १५ वर्षपछि फेरि उनी राजनीतिमा फर्किए । सन् २०१८ मा ९३ वर्षको उमेरमा फेरि प्रधानमन्त्री भए । तर, उनले सन् १९८१–२००३ को अवधिमा जस्तो राम्रो कार्यसम्पादन गर्न सकेनन् । उनको पछिल्लो कार्यकाल निक्कै असफल, विरोधाभाषपूर्ण र विसंगत रह्यो । अन्ततः कार्यकालको बीचमै सत्ताबाट हट्नु पर्‍यो ।

अहिलेका शीर्ष नेता दोहोरिएर देश र जनतालाई राम्रो हुने आशा निम्छरो भइसकेको छ। तथापि, नेताहरू दौडबाट बाहिरिन मानिरहेका छैनन्। युवा मतदाताको अनुपात निरन्तर बढ्दो छ ।  गत आमनिर्वाचन यता करिब २७ लाख नयाँ मतदाता थपिएका छन । कुलमध्ये ४३% मतदाता ४० वर्षभन्दा कम उमेर समूहका छन् ।

मतदाताले नेतृत्वमा आफ्नो उमेर समूहको प्रतिनिधित्व पक्कै खोज्छ । हर्क र बालेनहरुको उदय हुनुमा अरु पनि थुप्रै कारण होलान, तर त्यसको एउटा पाटो युवा मतदाताको बढ्दो अनुपात र फरक प्रकारको रुचि पनि हो । नेतृत्वको पद्धति, कौशल र क्षमतास्तरबारे अहिलेको शीर्ष नेतृत्वको अभ्यास र युवाको सोचबीच ठूलो भिन्नता देखिन्छ।

मंसिर ४ गतेको निर्वाचनबाट ‘३ बा’ राष्ट्रिय राजनीतिको नेतृत्वदायी भूमिकाबाट बिदा होलान वा नहोलान्, यसै भन्न सकिन्न तर रवि लामिछानेको अभिव्यक्तिले गरेको संकेत भने निरर्थक हैन। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणको बहस तलतलसम्म निक्कै सघन हुँदै गएको यथार्थलाई अब स्वीकार्नै पर्छ ।  कदाचित शीर्ष नेताहरू मंसिर ४ को निर्वाचनमा आ-आफ्नो निर्वाचन क्षेत्रमा हारे भने पनि आश्चर्य हुने छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved