बालेनलाई ब्युँझाउने डीआईजी चौधरी, जसको बलियो साथले सफल हुँदैछ ‘डोजर एक्सन’

अभियानमा डीआइजी मीरा चौधरीको साथ यतिसम्म छ कि बालेन र डोजर जाने प्रायः ठाउँमा उनी पुगेकी छन्। फिल्डमा खटिएर मेयर बालेनको मनोबल उच्च पारिरहेकी छिन्। जुनियर अधिकृतलाई खटाएर पनि उनले अभियानलाई साथ दिन सक्थिन्। तर, मेयर शाह खटिएका ठाउँमा उनी आफैँ पुगेर दरिलो हिम्मत पनि दिएकी छन्। 

नेपालभ्युज

बालेनलाई ब्युँझाउने डीआईजी चौधरी, जसको बलियो साथले सफल हुँदैछ ‘डोजर एक्सन’

काठमाडौं। काठमाडौं महानगरका मेयर बालेन शाहको ‘डोजर एक्सन’ अहिले चर्चामा छ। गत सोमबारदेखि नयाँ बानेश्वरबाट शुरु भएको अभियान काठमाडौँ महानगरपालिकाको विभिन्न स्थानमा चलिरहेको छ। महानगरले सुन्धारास्थित काठमाडौँ मल र बानेश्वरको अल्फाबिटासहित, खिचापोखरी, न्यूरोड, भोटाहिटी लगायतका स्थानमा बनेका अनधिकृत संरचनामा डोजर चलाइसकेको छ।

दरबारमार्ग, तथा न्युरोडका अवैध संरचना भत्काउन तथा अन्डरग्राउन्ड पार्किङ खाली गर्न भनिसकिएको छ। नयाँ वानेश्वर, बुद्धनगर, शंखमुल, कोटेश्वर क्षेत्रमा गएर अवैध संरचना भत्काउन पनि महानगरले निर्देशन दिइसकेको छ। कतिपय ठाउँमा मेयर शाह आफै उपस्थित भएर अवैध संरचना भत्काएका छन्। बालेनको यो डोजर’ एक्सनपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा साँघुरा सडक फराकिलो बनाएको सम्झना धेरैले गरेका छन्। सडकदेखि सामाजिक सञ्जालसम्म मेयर बालेनलाई उत्तिकै प्रशंसा मिलिरहेको छ।

मेयर बालेन शाहसँगको एउटा बैठकमा डिआइजी मीरा चौधरीले बेसमेन्ट पार्किङको अनधिकृत उपयोग भइरहेको बारे सूचना दिइन्। काठमाडौंको कहाँकहाँ त्यसको कसरी उपयोग भइरहेको छ भन्नेबारे नामै किटेर भनिदिएपछि बालेनलाई यस विषयमा जानकारी भयो।

कतिपयले बालेनको अवैध संरचना भत्काउने डोजर एक्सनलाई बलिउडको ‘नायक’ फिल्मका मुख्य अभिनेता अनिल कपुरसँग तुलना गरिरहेका छन्। ‘बालेन शाह नायक फिल्मको अनिल कपुर जस्तै भए निस्किए’’ धेरैले भनिरहेका छन्।

तर, मेयर बालेन शाहको प्रशंसा गर्दा छुटाउनै नहुने नाम हो, डिआईजी मीरा चौधरी। पार्किङ प्रयोजनमा नक्सा पास भएका बेसमेन्ट व्यापारिक रूपमा प्रयोग भइरहेको ट्राफिक प्रहरीको सूचनाले बिउँझिएको हो महानगर। यसरी महानगरलाई बिउँझाउने काम डीआईजी चौधरीले गरेकी ट्राफिक अधिकारी दाबी गर्छन्।

डीआईजी चौधरी जसले बालेनलाई सूचनासँगै बल नदिएको भए यो अभियान यसैगरी चल्न सक्थ्यो या चल्दैथ्यो भन्न नसकिने महानगरकै कतिपय जनप्रतिनिधि बताउँछन्। कहिले फोहोर व्यवस्थापनको सकसले चेपुवामा परेका त कहिले यमबुद्धको शालिक बनाउने भनेपछि विवादमा आएका बालेनलाई केही काम गरेर देखाउनैपर्ने चुनौती थियो। त्यो चुनौती पुरा गर्न उनले मीरा चौधरीको बलियो साथ पाएका छन्।

मेयर शाहसँगको एउटा बैठकमा डिआइजी मीरा चौधरीले बेसमेन्ट पार्किङको अनधिकृत उपयोग भइरहेको बारे सूचना दिइन्। काठमाडौंको कहाँकहाँ त्यसको कसरी उपयोग भइरहेको छ भन्नेबारे नामै किटेर भनिदिएपछि मात्रै बालेनलाई यस विषयमा जानकारी भयो।

मीराकै बलियो साथका आधारमा साउनको पहिलो साता काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउन र बेसमेन्ट पार्किङ खाली गराउन सूचना निकाल्यो। गोरखापत्रमा ३५ दिने सूचना निकालिएको ३७ औँ दिनपछि मेयर शाह  डिआइजी चौधरीलाई सँगै लिएर डोजरसहित मैदानमा निस्केका हुन्।

ट्राफिक व्यवस्थापन गर्न भन्दै मीराले लगेको त्यो प्रस्ताव

काठमाडौं उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा पहिलो पटक पुग्ने महिला प्रमुख हुन् –प्रहरी नायब महानिरीक्षक मीरा चौधरी। नेतृत्व सम्हाल्नासाथ उनमा केही नयाँ र अरूले गर्न नसकेका काम गर्ने सोच आयो।

२३ असारमा काठमाडौं उपत्यका ट्राफिक कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेकी  चौधरीले एक सातापछि काठमाडौं महानगरपालिकालाई प्रस्ताव गरिन्, ‘अन्डरग्राउन्ड पार्किङ पूर्णरूपमा सञ्चालनमा ल्याउने।’ पार्किङ सडक छेउमा जथाभावी गरिँदा सवारी जाम हुने समस्या भएकाले चौधरीले यस्तो प्रस्ताव लगेकी थिइन्।

काठमाडौंंको ट्राफिक व्यवस्थापनबारे महानगरका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोललगायतका जनप्रतिनिधिसँगको बैठकमा उनले पार्किङका लागि बनाइएका ‘अन्डरग्राउन्ड’ अन्य प्रयोजनमा प्रयोग भएको पाइएको बताइन्।

महानगरलाई अन्डरग्राउन्ड पार्किङ पूर्ण रूपमा सञ्चालनमा ल्याउन  पहल गर्न आग्रह गर्दै भनिन्, ‘‘विभिन्न सरकारी, निजी तथा व्यावसायिक भवनमा बनाइएको ‘अन्डरग्राउन्ड’ पार्किङस्थल डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामजस्ता कार्यमा प्रयोग भएको पाइएको छ। यसलाई खाली गर्न महानगरले पहल गर्नुपर्‍यो।’’

‘यसअघिका ट्राफिक प्रमुख र मेयरले आँट गर्न नसकेको अभियान चलाउँदा तपाईंहरूलाई अहिले दबाब पनि त होला नि ?’ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘‘दबाब मेयर साबलाई आयो होला। मलाई छैन।’’

केही दिनपछि २ साउनमा फेरि काठमाडौं उपत्यका ट्राफिक कार्यालय र महानगरबीच छलफल भयो। छलफलमा मेयर शाहले भने, ‘‘उपत्यका ट्राफिक प्रहरी कार्यालयमा डीआईजी मीरा चौधरी आउनासाथ हामीलाई सूचना दिनुभएको थियो। अन्डरग्राउन्ड पार्किङ रहेको ठाउँमा विभिन्न व्यवसाय, रेस्टुरेन्ट, बैंक, कपडा पसलको रूपमा प्रयोग भएका छन् भन्ने सूचना दिनुभएको थियो। त्यो आधारमा हामीले बेसमेन्ट पार्किङको संरचनाको व्यवसायिक प्रयोजन हटाएर पार्किङ नै बनाउन भन्दै हामीले पत्रिकामा सूचना निकालेका छौँ।’’

सोही दिन उनै चौधरीले पत्रकार सम्मेलन गर्दै जे प्रयोजनका लागि बनाइएको स्थल हो, त्यहीअनुसार प्रयोग गर्नुपर्ने बताइन्। (डीआईजी) चौधरीले भनिन् ‘‘पार्किङ स्थललाई अन्य प्रयोजनमा प्रयोग भएकोबारे ट्राफिक प्रहरीले अनुगमन गर्नेछन्। यदि कुनै भवनको पार्किङस्थललाई सोही प्रयोजनमै आउने गरी परिणत नगरे कारबाहीसमेत हुनेछ।’’

त्यति बेलासम्म उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको सुझावअनुसार महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङमा रहेका अरू व्यापारिक संरचना हटाउन भन्दै ३५ दिनको सूचना पत्रिकामा निकालिसकेको थियो।

त्यसको एक महिना एकसातापछि अहिले ‘डोजर एक्सन’ तीव्र गतिमा अघि बढिरहेको छ। अभियानमा डिआइजी मीरा चौधरीको साथ यतिसम्म छ कि बालेन र डोजर जाने प्रायः ठाउँमा उनी पुगेकी छन्। फिल्डमा खटिएर मेयर बालेनको मनोबल उच्च पारिरहेकी छिन्। आफूभन्दा जुनियर अधिकृतलाई खटाएर पनि डीआइजी चौधरीले अभियानलाई साथ दिन सक्थिन्। तर, मेयर शाह खटिएका ठाउँमा उनी आफैँ पुगेर दरिलो हिम्मत पनि दिएकी छन्।

‘यसअघिका ट्राफिक प्रमुख र मेयरले आँट गर्न नसकेको अभियान चलाउँदा तपाईंहरूलाई अहिले दबाब पनि त होला नि?’ भन्ने जिज्ञासामा उनी भन्छिन्, ‘‘दबाब मेयर साबलाई आयो होला। मलाई छैन। मैले त महानगरपालिकालाई सहयोग मात्रै गरिरहेको छु। नेतृत्व उहाँ (मेयर) ले गरिरहनुभएको छ। ट्राफिक व्यवस्थापनको चुनौती सबैभन्दा बढी ट्राफिक प्रहरीले नै भोग्नुपर्छ। त्यसैले सहयोगीको भूमिका खेलिरहँदा मलाई दबाब छैन।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved