बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी विनियोजन

नेपालभ्युज

बागमती प्रदेशमा कृषिमा ७० करोडको बीउ पुँजी विनियोजन
फाइल तस्वीर

काठमाडौं । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि उत्पादन, प्रशोधन र बजारीकरणका लागि रु ७० करोडको बीउ पुँजी विनियोजन गरेको छ । रु १० लाखदेखि एक करोडसम्मको बीउ पुँजी उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको हो ।

परियोजनाको लागतका आधारमा लागतको बढीमा २० प्रतिशतसम्म बीउ पुँजी दिन लागिएको छ । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार यसै महिनादेखि काम अघि बढाइँदैछ । किस्ताबन्दीमा रकम फिर्ता गर्नेगरी बीउ पुँजी दिन लागिएको हो । यसका लागि अतिरिक्त शुल्क र व्याज कृषकले तिर्नुपर्दैन तर दुईदेखि पाँच वर्षभित्रमा रकम भने फिर्ता गर्नुपर्छ ।

प्रदेश अन्तर्गतका किसानलाई मन्त्रालयले अनुदानको सट्टामा बीउ पुँजी उपलब्ध गराउन लागेको र यसबाट किसान प्रत्यक्षरुपमा लाभन्वित हुनाका साथै अनुदान लिने र काम नगर्ने प्रवृत्ति निरुत्साहित हुने उनको भनाइ छ ।

कृषिमा लाग्ने र विगतदेखि नै कृषि पेशामा आबद्ध भएका व्यक्ति, समूह, सहकारीलाई गाई, बाख्रा, भैँसी, बङ्गुरलगायत कृषि फार्म, चिस्यान केन्द्र, प्राङ्गारिक मल कारखाना, दूध प्रशोधन केन्द्र, फलफूल जुस उत्पादनलगायतमा पनि बीउ पुँजी दिइनेछ । कृषि व्यवसाय (उत्पादन प्रशोधन र बजारीकरण) कार्यको थालनी, सुधार र वृद्धि गर्नुपर्दा लाग्ने पुँजीमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको हो ।

अनुदान कार्यक्रमलाई थप व्यवस्थित बनाउँदै प्रभावकारी ढङ्गबाट परिचालन गर्न अनुदान प्रवाहको सट्टामा बीउ पुँजी परिचालनको नीति अगाडि सारिएको सचिव पाण्डेले बताए । गत वर्षमा दिइएको ५० प्रतिशत अनुदान कटौती गरी बीउ पुँजी थालिएको हो । बीउ पुँजीका लागि भदौ १५ गतेसम्ममा सूचना आह्वान गर्ने गरी तयारी थालिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved