भ्रष्टाचार धेरै भो, प्रदेशसभा र जिसस खारेज गरौँ : रवि लामिछाने

नेपालभ्युज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विद्यमान प्रदेश संरचना भ्रष्टाचारको अखडा बनेको निस्कर्ष निकालेका छन् । हालको संरचनामा आमूल सुधारको आवश्यकता औंल्याउँदै उनले प्रदेश सभा र जिल्ला समन्वय समिति खारेजीको प्रस्तावसमेत उनले अघि सारेका छन् ।

सातै प्रदेशमा पार्टीको भेला सम्पन्न गरेपश्चात् लामिछानेले संघीय प्रणालीको समिक्षा गरेका हुन् । संघीयताका तीन तहमध्ये बीचको प्रदेश संरचनालाई लिएर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकता चरम निराशा रहेको उनी बताउँछन् । पार्टीको भेलामा बोल्ने प्राय सबैले प्रदेश संरचनाको आलोचना गरेको उनको भनाइ छ ।

लामिछाने भन्छन्, ‘प्रदेशको अहिलेको संरचना राज्यकोषको दोहन गरेर दलका नेता व्यवस्थापन गर्ने थलो र भ्रष्टाचारको अखडा मात्र बनाइएको देखिन्छ ।’

हरेक राजनीतिक पार्टीले जनताको आवाज सुन्नपर्ने भन्दै उनले यथास्थितमा आफ्नो पार्टी प्रदेशको चुनावमा सहभागी नहुने बताएका छन् ।
आज जारी गरेको भिडियो सन्देशमा उनले भनेका छन्, ‘यथास्थितिमा प्रदेश मातहतको चुनावमा सहभागी हुनु भनेको राज्यकोष दोहनको हिस्सेदार बन्नुबाहेक अरु केही होइन । अहिलेकै अवस्थामा प्रदेश सभामा पुगेर पनि केही उपलब्धी हुने देखिँदैन ।’

जनताको आवाज सुन्ने बताए पनि लामिछाने संघीय प्रणाली खारेजीको पक्षमा भने उभिएका छैनन् । बरु प्रदेश संरचनामै सुधार गरेर कम खर्चिलो बनाउनुपर्ने उनको प्रस्ताव छ ।

लामिछानेले प्रदेश सभा खारेज गरेर जिल्ला प्रमुखहरू नियुक्त गर्नुपर्ने नयाँ सोच अघि सारेका छन् । यसैगरी, पालिका सभा सदस्यहरूबाट २१ देखि ३५ सदस्यीय प्रदेश परिषद् गठन गर्नुपर्ने उनको प्रस्ताव छ । यी परिषद्बाट नीति कार्यक्रम तथा बजेट पारित गर्नुपर्ने उनले बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved