मुड अफ नेशनको नतिजा

भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता चुनौतिहीन, केजरीवालको पार्टी दोस्रो हुनसक्ने

मोदीको व्यक्तिगत लोकप्रियता चुनौतिहीन भए पनि भाजपा पार्टीको लोकप्रियता भने घट्दै गएको देखाएको छ । गत चुनावमा भाजपा गठबन्धनले ३०३ लोकसभा सीट हासिल गरेको थियो । सर्वेक्षणअनुसार ठीक यतिखेर आम चुनाव हुने हो भने भाजपा गठबन्धनको सीट २८६ मा झर्ने छ । दलहरुको लोकप्रियताको सूचीमा भने भाजपापछि आम आदमी पार्टी छ ।

नेपालभ्युज

भारतीय प्रधानमन्त्री मोदीको लोकप्रियता चुनौतिहीन, केजरीवालको पार्टी दोस्रो हुनसक्ने

नेपालभ्युज । ‘इन्डिया टुडे’ ले गर्ने ‘मुड अफ नेशन’ सर्वेक्षणको नतिजा गत बिहिबार सार्वजनिक भएको छ । नतिजाअनुसार दोस्रो कार्यकालको मध्यतिर आइपुग्दा पनि प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता कायम देखिन्छ ।

सर्वेक्षणले देशका तीन उच्च लोकप्रिय नेताहरुमा क्रमशः प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल राष्ट्रिय कांग्रेसका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धी र दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई देखाएको छ । तर, मोदीको तुलनामा गान्धी र केजरीवालको लोकप्रियता प्रतिशत निक्कै कम छ । सर्वेक्षणलाई मान्ने हो भने मोदी ५३ प्रतिशतले लोकप्रिय देखिन्छन भने राहुल गान्धीको लोकप्रियता अनुपात ९ प्रतिशत मात्रै छ ।
तेस्रो स्थानमा भएका अरविन्द केजरीवाल भने राहुल गान्धीको नजिक देखिन्छन् । केजरीवालले ७ प्रतिशतको राष्ट्रिय लोकप्रियता हासिल गरेको सर्वेक्षणले देखाएको छ । ५३ प्रतिशतको मोदीको लोकप्रियता निक्कै ठूलो हो । विश्लेषकले दुई कार्यकालका बाबजुद मोदी अझै लोकप्रिय रहेको, चाहेमा उनी सन् २०२४ मा हुने १८ औं लोकसभा निर्वाचनपछि पनि प्रधानमन्त्रीको दाबेदार हुन सक्ने बताउँछन् । भारतको विद्यमान १७ औं लोकसभाको कार्यकाल सन् २०२४ को जुन १६ मा समाप्त हुनेछ । यसको निर्वाचन सन् २०१९ को अप्रिल र मेमा भएको थियो । १८ औं लोकसभा निर्वाचन २०२४ को मेमा हुने अपेक्षा गरिएको छ ।

अर्थात् चुनाव आउन अझै २ बर्ष बाँकी छ । तर, भारतीय राजनीतिमा आगामी चुनावको समीकरणको हिसाब शुरु भइसकेको छ। मोदी तेस्रो कार्यकालमा लागि प्रधानमन्त्री पदका लागि दाबेदार रहनेछन् वा छैनन्, प्रष्ट छैन । तर, अझै लोकप्रिय रहेकाले उनी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुन सक्ने संभावना इन्कार गर्न सकिन्न । आफ्नो करिब ८ बर्षे शासनकालमा मोदीले थुप्रै विवादास्पद र साहसिक निर्णय गरेका थिए । उनको कार्यकालमा भएका नोटबन्दी, जिएसटी, संविधानको धारा ३७० खारेज, तीनतलाक प्रचलनको अन्त्य, कृषि क्षेत्रमा कर्पोरेट प्रचलन संस्थागत गर्ने कानुन निक्कै विवादास्पद भएका थिए ।

यी सबै जसो मुद्धामा ठूल्ठूला आन्दोलन र जनप्रदर्शन भएका थिए । त्यसका अतिरिक्त कोविड–१९ को पहिलो र दोस्रो लहरका समयमा मोदी सरकारको तीव्र आलोचना भएको थियो । पहिलो लहरको लकडाउनका समयमा लाखौं मानिस अलपत्र परेका थिए। दोस्रो लहरमा स्वास्थ्य सेवाको उपलब्धता सीमित भएको थियो । कोविड–१९ को कारण भारतमा ५ लाख २७ हज्जार भन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । रुस-युक्रेन युद्धपछि भारतमा तेल र खाद्यवस्तुको मूल्य तीव्र रुपमा बढेको थियो । गरिबी र बेरोजगारीको दर पनि चुलिएको छ ।

यसका बाबजुद मोदीको लोकप्रियतालाई चुनौति दिन सक्ने नेता कोही देखिएको छैन । मोदीका प्रतिस्पर्धी मानिएका राहुल गान्धी र अरविन्द केजरीवालको कद सर्वेक्षणको नतिजाले निकै पुड्को देखाएको छ। सन् १९५० को सेप्टेम्बरमा जन्मिएका मोदी सन् २०२४ मा दोस्रो कार्यकाल पूरा गरीसक्दा ७४ बर्षका हुनेछन । सन् २०१४ मा पहिलोपटक प्रधानमन्त्री हुँदा मोदी ६४ बर्षका थिए । प्रधानमन्त्री मोदीको स्वास्थ्य अहिले पनि उत्तिकै राम्रो छ ।

तर, सर्वेक्षणकै एक अर्को नतिजाले मोदीको व्यक्तिगत लोकप्रियता चुनौतिहीन भए पनि भाजपा पार्टीको लोकप्रियता भने घट्दै गएको देखाएको छ । गत चुनावमा भाजपा गठबन्धनले ३०३ लोकसभा सीट हासिल गरेको थियो । सर्वेक्षणअनुसार ठीक यतिखेर आम चुनाव हुने हो भने भाजपा गठबन्धनको सीट २८६ मा झर्ने छ । दलहरुको लोकप्रियताको सूचीमा भने भाजपापछि आम आदमी पार्टी दोस्रो, ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेस तेस्रो र भारतीय राष्ट्रिय कांग्रेस चौथो स्थानमा छ ।

भाजपाको लोकप्रियता प्रतिशत ३७ आमआदमी पार्टीको २७, त्रिणमुल कांग्रेसको २० र भारतीय राष्ट्रिय कांग्रेसको १३ प्रतिशत मात्र देखिएको छ । तर, गठबन्धनबीचको तुलना गर्दा भने भाजपा नेतृत्वको एनडिएपछि कांग्रेस नेतृत्वको युपिए गठबन्धन नै दोस्रो स्थानमा हुन सक्ने बताइएको छ ।

यो सर्वेक्षणलाई आधार मान्नेहरुले आगामी चुनावबाट आम आदमी पार्टी दोस्रो ठूलो दलका रुपमा उदित हुन सक्ने संभावना औलाएका छन् । विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका तीन भावी संभावित नेताका रुपमा राहुल गान्धी, सचिन पाइलट र प्रियंका गान्धीलाई देखाएको छ ।

सन् २०१४ मा भाजपा र मोदीको उदयपछि भारतीय लोकतन्त्र कमजोर र शिथिल हुँदै गएको विश्लेषण गर्ने गरिएको छ । सर्वेक्षणमा ४८ प्रतिशत भारतीयले लोकतन्त्र खतरामा छ भन्ने ठान्ने गरेको देखाएको छ ।
इन्डिया टुडेले ६-६ महिनामा ‘मुड अफ नेशन’ सर्वेक्षण गर्ने गरेको छ । गोदी मिडिया भनेर आलोचित भएको यो संस्थाको सर्वेक्षण सधै मोदीकै पक्षमा हुने भन्दै विपक्षीले भने आलोचना गर्ने गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved