प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा, पार्टी एकताको सहमति, औपचारिक घोषणा चुनावपछि

एउटै चिन्ह, बन्द सूची र साझा घोषणापत्र लिएर चुनावमा जाने

१० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा आउन लागेका हुन् । २०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।   

नेपालभ्युज

प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा, पार्टी एकताको सहमति, औपचारिक घोषणा चुनावपछि

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच पार्टी एकता गर्ने सहमति भएको छ ।

विभिन्न चरणमा दुई नेताबीच भएका छलफलमा मिलेर जाने सहमति भएको हो । यद्यपी पार्टी एकताको औपचारिक घोषणा भने चुनावपछि गर्ने सहमति भएको छ । एकीकृत पार्टीको नाम तथा केही वैचारिक विषय मिल्न बाँकी रहेकाले चुनावमा मिलेर जाने र पछि एकता घोषणा गर्ने तयारी भएको नेताहरूले बताएका छन् ।

चुनावको मुखमा पार्टीको नाम परिवर्तन गर्दा गतिलो सन्देश नजाने सुझाव आएपछि एकता घोषणा गर्नेगरी अहिले एउटै चुनाव चिन्ह लिएर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा जाने सहमति बनेको बताइएको छ ।

दुई नेताबीच एउटै घोषणा पत्र, साझा समानुपातिक सूची र एउटै चिन्ह लिएर चुनावी मैदानमा उत्रने सहमति भएको छ । यो सहमतिलाई माओवादी केन्द्रको स्थायी समिति बैठकबाट अनुमोदन हुन भने बाँकी छ । यद्यपि, प्रचण्डले यसबारे पार्टीका अधिकांश शीर्ष नेतालाई ब्रिफिङ गरिसकेका छन् ।

सहमतिअनुसार सम्भवत: सोमबार दुवै दल संयुक्तरूपमा निर्वाचन आयोग पुग्नेछन् । आयोगले दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दल एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । तर, त्यसको सुचना भने दल दर्ता गर्ने बेलामै आयोगलाई गराउनुपर्नेछ । सोहीअनुसार दुई दलले संयुक्त रूपमा आयोग पुगेर एकल चुनाव चिन्ह लिई चुनावमा भाग लिन लागेको निवेदन पेश गर्नेछन् ।

माओवादी केन्द्रको चुनाव चिन्ह हँसिया-हथौडा र समाजवादीको आँखा छ । साझा चुनाव चिन्ह हँसिया-हथौडा हुने बताइएको छ ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने चुनावका लागि साउन २२ देखि ३१ गतेसम्म दल दर्ताको समय तोकेको छ । निर्वाचन ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय दल बन्ने व्यवस्था छ । त्यसैले, चुनावपछि पार्टी एकता गर्नै पर्ने बाध्यता दुवै दललाई हुनेछ ।

दुई दलबीच पहिले प्रत्यक्षमा चुनाव जितेका सांसदले फेरि पनि उठन चाहे सोही क्षेत्रबाटै उम्मेद्वार बनाउने सहमतिसमेत भएको स्रोतले जनाएको छ । यो सहमतिअनुसार भट्टराईले गोरखा २ बाट चुनाव लड्नेछन् ।

यस्तै, नेपाल समाजवादीका अर्का अध्यक्ष महिन्द्र राय यादवले सर्लाही क्षेत्र नम्बर २ तथा सांसद राजकिशोर यादवले सिरहा क्षेत्र नम्बर ४ बाट प्रतिस्पर्धा गर्नेछन् । यसअघि, ढुलमुल देखिएका राजकिशोरले पनि प्रचण्डसँग भेटेर  एकता प्रक्रियामा जान सहमति जनाइसकेको स्रोतले जनाएको छ ।

चुनावपछि एकीकृत पार्टीको नाम के राख्ने भन्नेबारेमा भने बहस चलिरहेको नेताहरूले जनाएका छन् । ‘नेकपा समाजवादी केन्द्र’ मा सहमति जुटाउन प्रयास भइरहेको छ । केन्द्रमा अन्य दललाई पनि समेट्ने भन्दै प्रचण्डले संवाद गरिरहेका छन् ।

१० वर्ष लामो शसस्त्र युद्धको नेतृत्व गरेका प्रचण्ड र बाबुराम ६ वर्षपछि फेरि एकै ठाउँमा आउन लागेका हुन् । २०७३ साल जेठ ३० गते तत्कालिन माओवादी छाडेर भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved