नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र बनाउन मन्त्री गहतराजको निर्देशन

नेपालभ्युज

नवौं राष्ट्रिय खेलकुदको तयारी तीव्र बनाउन मन्त्री गहतराजको निर्देशन

काठमाडौं। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्र बनाउन निर्देशन दिनुभएको छ । निर्धारित मितिमै प्रतियोगिता सञ्चालनका लागि हरेक दिन छलफल तथा अन्तरक्रिया गरीरहनुभएका मन्त्री गहतराजले शुक्रबार युवा तथा खेलकुदसँग सम्बन्धित विषयगत समितिको वैठक बोलाएर युद्धस्तरमा प्रतियोगिताको तयारीमा जुट्न निर्देशन दिनुभएको हो ।

नवौं राष्ट्रिय प्रतियोगितालाई केन्द्रमा राखेर आयोजना गरिएको बैठकले विभिन्न पाँच बुँदे निर्णय पारितत गरेको छ । मन्त्रालयको हलमा भएको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तथा प्रभावकारीताकालागि हरेक प्रदेशमा आवश्यकता र उपलब्धताका आधारमा प्रशिक्षक तथा जनशक्ति उपलब्ध गराउने निर्णय गरेको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेशमा विनियोजित बजेट अपुग देखिएकाले प्रदेशको आवश्यकता अनुसार अर्थ मन्त्रालयसँग थप बजेट माग गर्नुका साथै विषयगत समितिको गत चैत्र ११ गते बसेको पहिलो बैठकले गरेका १४ बुँदे निर्णयको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित निकायले पहल गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी सबै प्रदेशका खेलकुदसँग सम्बन्धित मन्त्रालय, प्रदेश खेलकुद परिषद÷बोर्ड तथा खेलकुद सँग सम्बन्धित संघ संस्थाले आ–आफ्नो क्षेत्रबाट प्रतियोगितामा सहभागिता जनाउनुका साथै समन्वय र सहजीकरणमा समेत सहयोग गर्ने निर्णय भएको छ ।
बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मुल आयोजक समितिमा सात वटै प्रदेशका युवा तथा खेलकुद मन्त्रालयका मन्त्रीहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।

बैठक अघिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गहतराजले देशभर निष्कृय अवस्थामा रहेका खेलकुदसँग सम्बन्धित जनशक्तीलाई चलायमान गराउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिनुभएको छ ।

राज्यको सेवा सुविधा लिएर निस्कृय बसेका कर्मचारीलाई नवौं राष्ट्रिय प्रतियोगितामा सदुपयोग गर्नुपर्ने बताउँदै मन्त्री गहतराजले सक्रिय रुपमा काममा लगाउन निर्देशन दिनुभएको हो । उहाँले नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारी अघि बढाउन सम्बद्ध प्रदेशका मन्त्री तथा सदस्य सचिवलाई आग्रह समेत गर्नुभएको थियो ।

४ वर्षदेखी हुन नसकेको राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरामा गर्ने निर्णय भईसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved