चल्दाचल्दैको केबलकार कहिलेकाहीँ किन अड्किन्छ?

यात्राको क्रममा बीचमै रोकिएका तथा यस्ता घना देखेकाहरूलाई त यसको अनुभव होला। तर, यसको अनुभव नगरेकाहरू वा नदेखेकाहरूलाई लाग्न सक्छ बीचमै रोकिएमा तार चुँडिने पो हो कि? वा कसरी र कसले बचाइदेला?

नेपालभ्युज

चल्दाचल्दैको केबलकार कहिलेकाहीँ किन अड्किन्छ?

काठमाडौं। नेपालको केही धार्मिक र ऐतिहासिक स्थानमा जानको लागि तथा पर्यटन गन्तव्यको रूपमा चर्चित छ केबलकार। केबलकार भन्नासाथ धेरैको दिमागमा आइहाल्छ, मनकामना, चन्द्रागिरि, कालिन्चोक र सारंङकोटको केबलकारको यात्रा।

नेपालको धेरै धार्मिक तथा पर्यटकीय डाँडाहरूमा केबलकार सञ्चालनका लागि अनुमति दिइए पनि हालसम्म चार स्थानमा मात्र सञ्चालनमा छन्।

चन्द्रशमशेरको पालामा १९८१ सालमा सरकारी तवरबाट धोर्सिङ्ग–चिसापानी–चन्द्रागिरि रोप–वे सञ्चालनमा थियो। अहिले भने सो रोप वे जीर्ण अवस्थामा छ।

नेपालमा सञ्चालनमा रहेका अधिकांश केबलकार अस्ट्रियाको ’डोप्लमेयर’ कम्पनीको प्रविधि हो। शतप्रतिशत सुरक्षित रहेको भनेर कम्पनीहरूले प्रचार गरिरहेका केबलकार चल्दाचल्दै झ्याप्प बीचमै अड्किएको खबर पनि सुनेका छौँ। यात्राको क्रममा बीचमै रोकिएका तथा यस्ता घना देखेकाहरूलाई त यसको अनुभव होला।
तर, यसको अनुभव नगरेकाहरू वा नदेखेकाहरूलाई लाग्न सक्छ बीचमै रोकिएमा तार चुँडिने पो हो कि? वा कसरी र कसले बचाइदेला?

केबलकार के कारण बीचमै रोकिन्छ?

केबलकारका यात्रा गरेकाहरूले देखेकै होला केबलकारमै लेखेको टाँसिएको हुन्छ ‘ हावाहुरी र चट्टान लागेको बेला रोकिन्छ।’  तर, अरू अवस्थामा पनि कहिलेकाहीँ केबलकार रोकिन सक्छ। केबलकार बिजुलीबाट चल्छ। यो सञ्चालनको लागि ठुलो क्षमताको विद्यूत आवश्यक पर्छ।

कहिलेकाहीँ बिजुली आउने जाने समस्या हुँदा केबलकार रोकिन्छ। चल्दै गर्दा बिजुली गएमा उकालो चढ्दै गरेको र ओरालो झर्दै गरेको केबलकारका डब्बाहरू जहाँ छन् त्यही रोकिन्छन्। यसरी रोकिँदा सबै डब्बाहरू एकसाथ रोकिन्छन्।

चन्द्रागिरि हिल्सद्धारा सञ्चालित चन्द्रागिरि केबलकारका इन्जिनियर सरोज चापागाईँ भन्छन्
‘‘बिजुली गएर केबलकार रोकिएमा तत्काल जेनेरेटर चलाउनुपर्छ। १ मेगावाट क्षमताको जेनेरेटर हामीसँग छ। यो चलाएर केबलकारमा लाइन पठाउँदा जम्माजम्मी पाँच मिनेट लाग्न सक्छ।’’

कहिलेकाहीँ भने प्राविधिक समस्या देखिएमा पनि रोकिन सक्छ। हरेक पटक पर्यटकका लागि खुला गर्नुअघि कम्पनीका इन्जिनियरहरूले केबलकारको अवस्था जाँच्छन्। बिहान ९ देखि साँझ ५ बजेसम्म केबलकार चलिरहँदा पनि इन्जिनियरहरूले निगरानी गरिरहेका हुन्छन्।

उनी भन्छन्, ‘‘ कहिलेकाहीँ प्राविधिक समस्याका कारण रोकिएको केबलकार पुन सञ्चालन गर्न समय लाग्छ। धेरै लामो समय लाग्ने अवस्था आएमा ’इमर्जेन्सी ड्राइभ’ प्रयोग गरेर सञ्चालन गरिन्छ। माथिल्लो स्टेसन जाँदै गरेका र तल झर्दै गरेका यात्रुहरू झारिसकेपछि मर्मतको काम गरिन्छ।’’

इमर्जेन्सी ड्राइभले यात्रुलाई उद्धार गर्न ४० मिनेटसम्म लाग्ने चापागाईँले बताए। यसो गर्दा माथिल्लो स्टेसनमा रहेकालाई गाडीमार्फत तल ल्याइने इन्जिनियर चापागाईँले बताए। केबलकारका इन्जिनियर चापागाईँले केबलकार रोकिएर कुनै पनि हालतमा दुर्घटना नहुने बताए।

केबलकार बीचमै रोकिनु खतरनाक हो?

मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिदा आत्तिनु नपर्ने चन्द्रागिरि हिल्स प्रालिका सेल्स मार्केटिङ प्रमुख प्रभाकर खड्का बताउँछन्।

उनी भन्छन्, ‘‘मेसिनबाट चल्ने भएकाले कहिलेकाहीँ केबलकार रोकिन सक्ने, प्राविधिक समस्या आउन पनि सक्ने भए पनि पूर्ण सुरक्षित रहन्छ, यसमा यात्रु आत्तिनु पर्दैन, तत्काल नभए केही समयमा समस्या समाधान गरेर केबलकार सञ्चालन गरिन्छ।’’

सञ्चालकको दाबी केबलकार शतप्रतिशत सुरक्षित

विश्वकै उत्कृष्ट प्रविधि प्रयोग गरे पनि प्राविधिक समस्याका कारण केही समय केबलकार रोकिन सक्ने तर त्यसका लागि वैकल्पिक व्यवस्थाका लागि सधैँ तयारी अवस्थामा रहने हुनाले पनि कुनै जोखिम नहुने चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन्।

यसै विषयमा जानकारी गराउन चन्द्रागिरि हिल्सले शुक्रबार सम्पूर्ण प्राविधिक पक्षको स्थलगत अध्ययन गराई, केबलकारमार्फत बटम स्टेनसमा लगेर पत्रकार सम्मेलन गरेको थियो। प्राविधिक पक्षको स्थलगत अध्ययनपछि अध्यक्ष ढकालले तीन चरणबाट केबलकार सञ्चालन हुने जानकारी गराए।

उनले भने, ‘‘पहिलो विद्युत्बाट सञ्चालन हुन्छ, विद्युत् गएको खण्डमा एक मेगावाट बराबरको जेनेरेटरबाट सञ्चालन गरिन्छ। यदि त्यसले पनि काम गरेन भने, ‘इमर्जेन्सी ड्राइभ’ भन्ने छ, त्यो सय प्रतिशत चल्छ, त्यसमार्फत जति पनि यात्रु डिब्बामा हुनुहुन्छ, उहाँहरूलाई सकुशल अवतरण गराउने समयसम्ममा नै काम गर्छ।’’

उनले यदि कोही यात्रु रोकिएर माथि रहेमा उनीहरूलाई निःशुल्क रूपमा रिसोर्टमा बस्ने, खाने व्यवस्था गरिने बताए। आकस्मिक रूपमा तल झर्नुपर्ने यात्रुलाई सवारी साधनको समेत व्यवस्था जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved