ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड रुपैयाँ

अघिल्लो आर्थिक वर्षभन्दा २५ प्रतिशतले वृद्धि

नेपालभ्युज

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड रुपैयाँ

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८्\७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको हो।

आर्थिक वर्ष २०७७\७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९ दशमलव २७ प्रतिशतले बढेको छ। बैंकको कूल सञ्चालन आम्दानी १५ दशमलव ०४ प्रतिशत र सञ्चालन मुनाफा २६ दशमलव ९० प्रतिशतले बढेको छ । गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ।

बैंकले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रुपमा वृद्धि भएको छ।

बैंकको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढेको छ।
बैंकको नाफा सँगै प्रति शेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ। त्यसैगरी जगेडा कोष २० दशमलव ४२ प्रतिशतले बढेको छ।

बैंकले आफ्नो खराब कर्जामा पनि सुधार ल्याएको छ। अघिल्लो आर्थिक वर्ष १ दशमलव ४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १ दशमलव २२ प्रतिशतमा झरेको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढी सेवा केन्द्रबाट २९ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिटेन्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved