प्रचण्ड–बाबुराम वार्ता आज पनि, समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल हुने

नेपालभ्युज

प्रचण्ड–बाबुराम वार्ता आज पनि, समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल हुने

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच आज (बिहीबार) पनि छलफल हुने भएको छ। कम्युनिस्ट घटकबीच एकताका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग छलफल जारी राखिरहँदा भट्टराईसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ। भेटमा दुई नेताबीच समाजवादी केन्द्र बनाएर जाने विषयमा छलफल  हुनेछ।

यसअघि प्रचण्ड र भट्टराईबीच मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एक घण्टा छलफल भएको थियो। भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए। तर, भट्टराईले गठबन्धन मात्रै गरेर समाजवादी केन्द्र बनाएर जाने भनेका विषय सार्वजनिक भएको थियो।

जसपामा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि जसपा पुनर्गठन प्रयास गरिरहेका भट्टराई पनि प्रचण्डसँग सकारात्मक रहेको स्रोतको दाबी छ। यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा प्रचण्ड– बाबुराम भट्टराईबीच पटक पटक छलफल भएको थियो।

यसअघि प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल गरेका थिए। मंगलबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्डले माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए।

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए। उनले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै सो एकता सत्तारुढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved