पन्तको शतकमा भारतले उचाल्यो एकदिवसीय श्रृंखलाको उपाधि

नेपालभ्युज

पन्तको शतकमा भारतले उचाल्यो एकदिवसीय श्रृंखलाको उपाधि

काठमाडौं। भारतले इंग्ल्याण्डसँगको तेस्रो तथा निर्णायक एकदिवसीय क्रिकेट खेल पाँच विकेटले जितेको छ।

निर्णायक खेलमा इंग्ल्याण्डले दिएको २६० रनको लक्ष्य पछ्याउने क्रममा भारतले ७२ रन जोड्दा चार विकेट गुमाइसकेको थियो। तर यसपछि पन्त र हार्दिक पाण्डेले पाँचौँ विकेटका लागि १३३ रनको साझेदारी गर्दै भारतलाई जित नजिक पुर्‍याए।

शतकिय पारी खेलेका पन्तले ११३ बलमा अविजित १२५ रनको योगदान दिए। पाण्डेयाले ५५ बलमा ७७ रन जोडे।

यसअघि ओपनर रोहित शर्मा, शिखर धवन र विराट कोहली सस्तैमा समेटिएपछि भारतको इनिङ धरापमा परेको थियो। रिषभ पन्तको पहिलो एकदिवसीय शतकमा इंग्ल्याण्डलाई पराजित गर्दै भारतले जित निकालेको हो।

जितसँगै तीन खेलको श्रृंखला भारतले २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको छ। यस एकदिवसीय श्रृंखलाको उपाधि पनि जितेपछि इंग्ल्याण्ड भ्रमणका दौरान यसपटकको ‘मल्टी फर्म्याट’ क्रिकेट श्रृंखलामा भारत अपराजित रह्यो। इंग्ल्याण्ड भ्रमणमा भारतले यो अपराजित यात्रासँगै आफ्नो ३६ वर्ष पुरानो कीर्तिमानलाई दोहोर्‍याएको छ।

यसअघि पछिल्लो पटक सन् १९८६ को इंग्ल्याण्ड भ्रमणका क्रममा मात्र ‘मल्टी फर्म्याट’ क्रिकेट श्रृंखलामा भारत अपराजित रहेको थियो।

भारतले यसअघिको तीन खेलको टी–ट्वान्टी श्रृंखला २–१ ले जितेको थियो भने पाँच खेलको टेष्ट श्रृंखला दुई/दुईको बराबरीमा सक्काएको थियो।

मेन्चेष्टरमा भएको यस निर्णायक खेलमा पहिलो ब्याटिङ गरेको इंग्ल्याण्ड खराब ब्याटिङका कारण ४६ औं ओभरमा २५९ रन अलआउट भएको थियो। भारतका लागि हार्दिक पाण्डेयले सात ओभरमा २४ रन खर्चिएर चार विकेट लिए।

यो उनको एकदिवसीय करियरकै उत्कृष्ठ बलिङ फिगर हो। त्यसैगरी, युजबेन्द्र चहलले तीन विकेट लिएका थिए।

पन्तले प्लेयर अफ दी म्याचको उपाधि पाए भने पाण्डेयाले प्लेयर अफ दी सिरिजको उपाधि हात पारे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved