भरतपुर महानगरले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने, २० लाखको अक्षयकोष स्थापना

नेपालभ्युज

भरतपुर महानगरले ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिने, २० लाखको अक्षयकोष स्थापना

भरतपुर। भरतपुर महानगरपालिकाको सहयोगमा यहाँका ज्येष्ठ पत्रकारलाई मासिक भत्ता दिन शुरु गरिएको छ। महानगरले उपलब्ध गराएको रु २० लाखको अक्षयकोषबाट भत्ता दिन शुरु गरिएको हो।

सो कोषमा नेपाल पत्रकार महासङ्घ चितवन शाखाले रु एक लाख थप गरी भत्ता वितरण थालिएको हो। कोषका लागि भरतपुर महानगरपालिकाले आज एक समारोहकाबीच रकम हस्तान्तरण गरेको छ। महानगर प्रमुख रेनु दाहालले महासङ्घका अध्यक्ष नारायण अधिकारीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेकी छन्।

महासङ्घले कोषमा जम्मा गर्नुपर्ने रकमबाट गत वैशाखदेखि असारसम्म तीन महीनाको चार जना पत्रकारलाई मासिक रु चार हजारका दरले हुन आउने रु १२ हजार जनही वितरण गरिएको छ। योग्यता पुगेका एक जना नेपाल बाहिर रहेकाले पछि सो रकम हस्तान्तरण गरिने महासङ्घले जनाएको छ। महासङ्घ र महानगरपालिका मिलेर भरतपुर महानगर ज्येष्ठ पत्रकार निवृत्तिभरण कार्यान्वयन कार्यविधि २०७८ बनाई सो कार्यविधिअनुसार कोष स्थापना गरी प्राप्त व्याजबाट भत्ता वितरण शुरु गरिएको हो। कार्यविधि बनाएर काम अघि बढाएको महानगरले जनाएको छ।

लाभग्राही पत्रकार थपिएसँगै स्वतः महानगर र महासङ्घले कोषमा रकम थप गर्ने गरी कार्यविधि बनाइएको छ। कोष सञ्चालनका लागि महासङ्घका पदाधिकारी र महानगरका कर्मचारी रहेको पाँच सदस्यीय सञ्चालक समिति रहेको छ।

रकम हस्तान्तरण गर्दै प्रमुख दाहालले महासङ्घसँग सहकार्य विगतमा झै आगामी दिनमा पनि गर्दै जाने बताइन्। उमेर घटाउने र कोषलाई वृद्धि गर्दै लग्ने विषयमा महानगरले छलफल गर्ने उनको भनाइ छ। उनले नेपालमानै पहिलोपटक पत्रकारिता क्षेत्रमा नमूना कार्य गरिएको बताइन्।

महासङ्घले अघि बढाएको पत्रकार तालिम केन्द्रका लागि महानगरले दुई कठ्ठा जमिन संरक्षणका लागि दिएको भन्दै उनले तालिम केन्द्रका लागि आवश्यक रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्। यससँगै लेखनवृत्ति, क्षमता अभिवृद्धिलगायतका कार्यमा महानगरले सहकार्य गर्ने उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved