प्रधानमन्त्रीको निगरानीमा अर्थमन्त्री : कांग्रेस प्रवक्ता महत

‘‘अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, यसको सत्यतथ्य छिट्टै बाहिर आउनेछ’’, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने।

नेपालभ्युज

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले कानूनविपरीत काम गर्ने मन्त्रीलाई कारबाही गरिने बताएका छन्।

मंगलबार सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विवादमा तानिएका अर्थमन्त्री जनार्दशन शर्माको विषयमा धारणा राख्दै प्रवक्ता महतले मन्त्रीले कानूनी घेरा बाहिर गएर काम गर्न नमिल्ने बताए।

प्रधानमन्त्रीले यस विषयमा निगरानी राखिरहेको उनको भनाइ छ। उनले भने, ‘‘मन्त्रीले कानूनी घेरबाहिर गएर काम गर्न मिल्दैन। अहिलेको विवादको विषयमा पार्टीमा छलफल भएको छैन। तर प्रधानमन्त्रीजीले सुक्ष्म निगरानी राखिरहनु भएको छ।’’

बजेटको अघिल्लो रात अर्थात् जेठ १४ मा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर विचौलियाको पक्षमा करको दर हेरफेर गरेको आरोप अर्थमन्त्रीमाथि लागेको छ। प्रमुख प्रतिपक्षी दलले मन्त्रालयको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको थियो। संसद्मा एमाले सांसदले अर्थमन्त्री शर्माको राजीनामा समेत माग गरेका थिए।

अर्थ मन्त्रालयले भने उपभोक्ता हित संरक्षण मञ्चलाई सूचना उपलब्ध गराउँदै सीसीटीभी फुटेज डिलिट भएको जानकारी गराएको थियो। मन्त्रालयको उक्त कदम कानूनविपरीत भएको भन्दै अर्थमन्त्री पुनः विवादमा तानिएका छन्।

तर यसबारे प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै प्रतिक्रिया राखेका छैनन्। सीसीटीभी फुटेज मेटिएको विषयमा पार्टीको धारणा राख्दै प्रवक्ता महतले भने, ‘‘अहिले सीसीटीभी फुटेजको कुरा आइरहेको छ, यसको सत्यतथ्य छिट्टै बाहिर आउनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved