बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण शुरु

तयारी धानबाली भित्र्याउने बेला गतवर्ष ३१ असोजदेखि २ कात्तिकसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए।

नेपालभ्युज

बाढीपीडित किसानलाई राहत रकम हस्तान्तरण शुरु

टीकापुर। गतवर्ष कात्तिक महीनामा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढी पीडित किसानलाई राहत वितरण थालिएको छ।

गतवर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्ति स्वरुप राहत रकम पाइरहेका छन्। प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम भजनी नगरपालिकाले वितरण शुरु गरेको छ।

तयारी धानबाली भित्र्याउने बेला गतवर्ष ३१ असोजदेखि २ कात्तिकसम्म आएको वर्षापछिको बाढीले पीडित बनेका किसानलाई क्षतिको आधारमा राहत रकम दिन शुरु भएको भजनी नगरपालिका कृषि शाखा प्रमुख कमल चौधरीले बताए।

“भजनीमा १० हजार किसानको धानबाली नोक्सानी भएको छ। किसानलाई क्षतिका आधारमा राहत दिन थालिएको छ,” उनले भने, “क्षतिका आधारमा प्रदेश सरकारले राहत उपलब्ध गराएको छ। किसानलाई क्षतिको आधारमा १० कट्ठाभन्दा कम जमिन क्षति भएकालाई प्रतिकट्ठा ३१५ रुपैयाँ, ११ देखि ६० कट्ठासम्म क्षति भएकालाई १२५ रुपैयाँ र ६० कट्ठाभन्दा माथि क्षति भएका किसानलाई ७५ रुपैयाँ प्रतिकट्ठा रकम वितरण थालिएको छ।”

एक किसानलाई ५५ हजार रुपैयाँभन्दा बढी नहुने गरी राहत रकम उपलब्ध गराइरहेको नगरपालिकाले जनाएको छ। “मापदण्डअनुसार दिन थालिएको छ। यो राहत रकम हो”, चौधरीले भने, “किसानलाई यो रकमले खेती गर्ने समयमा थोरै राहत हुन्छ।”

राहतको लागि भजनी नगरपालिकामा प्रदेश सरकारबाट दुई करोड ९२ लाख रुपैयाँ आएको छ। राहत रकम किसानलाई बैंकमार्फत वितरण थालिएको छ। वडा नं १ देखि ९ सम्मका पीडित सबै किसानलाई पायक पर्ने बैंकमा खाता खुलाइ बैंकमार्फत वितरण भइरहेको छ।

नगरपालिकाले अहिलेसम्म एक करोड ४० लाख रुपैयाँ किसानको खातामा पठाइसकेको र २० असारसम्म पीडित सूचीकृत सबै किसानको खातामा रकम पठाई सक्ने गरी काम गरिरहेको छ।

यस्तै, टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा पनि वितरण प्रक्रिया थालिएको छ। टीकापुरमा अहिले पीडित किसानलाई राहत रकम हस्तान्तरणका लागि बैंकमा खाता खोल्ने काम भइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतीसिंह विकले बताए।

“प्रदेश सरकारबाट रकम आएको छ। हरेक वडाका नागरिकको एउटै बैंकमा खाता खोलेमा पठाउन सहज हुने भएकाले खाता खोल्न लगाइरहेका छौँ,” विकले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved