न्यायाधीश घूस प्रकरण : छानबिन गरी कारबाही गर्न बारको माग

नेपालभ्युज

न्यायाधीश घूस प्रकरण : छानबिन गरी कारबाही गर्न बारको माग

काठमाडौं। नेपाल बार एशोसिएशनले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई धरौटीमा छुटाउन मोलमोलाई गरेको श्रव्य सामग्रीको सत्यताबारे अनुसन्धान गर्न माग गरेको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीचमा तामाङलाई धरौटीमा छुटाउन गरेको वार्ताको सत्यतथ्य छानबिन गर्न माग बारले गरेको छ।

बारका सचिव ऋषिराम घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘अडियो रेकर्डेड संवादको विषयले न्यायालयको स्वतन्त्रता, गरिमा र सम्मान तथा कानून व्यवसायीको व्यावसायिक मर्यादा र निष्ठामाथि नै गम्भीर प्रहार गरेको यस बारको ठहर छ। सो घटनाको यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई उक्त अवाञ्छित, अमर्यादित र अनुचित कार्यमा संलग्न सम्पूर्ण व्यक्तिप्रति आवश्यक कारवाहीका लागि सम्बन्धित निकायसमक्ष यो बार एशोसिएशन हार्दिक आग्रह गर्दछ।”

विज्ञप्ति

सर्वोच्च अदालत बार एशोसिएशन न्यायपालिकाको शुद्धीकरण, सुदृढीकरण, स्वच्छ न्याय र व्यावसायिक निष्ठा र मर्यादाप्रति सदैव प्रतिवद्ध रही सोहीबमोजिम क्रियाशील रहँदै आएको छ।

काठमाडौं जिल्ला अदालतका माननीय न्यायाधीश राजकुमार कोईराला र अधिवक्ता रुद्रप्रसाद पोखेलबीच नेपाल सरकारविरुद्ध इच्छाराज तामाङ भएको ठगी मुद्दाको थुनछेक आदेशको विषयलाई लिएर २०७९ साल असार ७ गते News24 टेलिभिजनमार्फत सार्वजनिक भएको भनिएको अंडियो रेकर्डेड संवादले न्यायालय र कानून व्यवसायमाथि नै आघात पुयाएको हुँदा सो विषयप्रति यस बारको गम्भीर ध्यानाकर्षण भएको छ।

उक्त अडियो रेकर्डेड संवादको विषयले न्यायालयको स्वतन्त्रता, गरिमा र सम्मान तथा कानून व्यवसायीको व्यावसायिक मर्यादा र निष्ठामाथि नै गम्भीर प्रहार गरेको यस बारको ठहर छ। सो घटनाको यथाशीघ्र छानबिन गरी सत्यतथ्य पत्ता लगाई उक्त अवाञ्छित, अमर्यादित र अनुचित कार्यमा संलग्न सम्पूर्ण व्यक्तिप्रति आवश्यक कारवाहीका लागि सम्बन्धित निकायसमक्ष यो बार एशोसिएशन हार्दिक आग्रह गर्दछ।

उक्त घटनाको छानबिनबाट उचित निकास नआएसम्म सो संवादमा उल्लेख भएका विवादित व्यक्तिहरुलाई आ-आफ्नो जिम्मेवारीबाट अलग राख्नसमेत सम्बन्धित सबै निकायसमक्ष यो बार एशोसिएशन माग गर्दछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved