‘प्रदेश सरकार खारेज गरेर हिन्दूराष्ट्र कायम गरौं’

नेपालभ्युज

‘प्रदेश सरकार खारेज गरेर हिन्दूराष्ट्र कायम गरौं’

काठमाडौं। राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशलाई हिन्दुराष्ट्र कायम गर्दै प्रदेश सरकार खारेज गर्नुपर्ने माग गरेका छन्।

आज पार्टी आबद्ध जनवर्गीय संगठनहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले आर्थिक रुपमा मुलुक टाट हुने अवस्थामा पुग्न सक्ने डरलाग्दो अवस्था भएको पनि बताए।

संघीय व्यवस्था आर्थिक रुपमा बोझिलो हुँदा पनि राज्य सञ्चालकहरू चिन्तित नहुनु बिडम्बना भएको उनले बताए।

“सुदृढ स्थानीय स्वायत्त शासनअनुरुप अधिकारसम्पन्न स्थानीय निकाय र बलियो केन्द्रीय सरकार भए पुग्छ, बीचको संरचना आवश्यक छैन,” थापाले भने।

यसैगरी देश सनातन हिन्दुराष्ट्र मुलुकको पहिचान भएकाले धार्मिक स्वतन्त्रतासहित हिन्दुराष्ट्रको एजेन्डाले सबैको हित गर्ने उनले स्पष्ट पारे।

राप्रपा नेपालबारे धेरै भ्रम छरिएका भन्दै उनले प्रायोजित रुपमा आफ्नो पार्टी बदनाम गराउने प्रयास भइरहेको चिन्ता गरे।

जनवर्गीय संगठनहरूको गतिविधि र सक्रियताले आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय पार्टी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले पार्टी सँगसँगै समानान्तर रुपमा संगठन निर्माणमा जनवर्गीय संगठन केन्द्रित हुन जोड दिए।

बैठकले आगामी असार १८ गते काठमाडौंमा जनवर्गीय संगठनको संयुक्त भेला गर्ने र असार २४ र २५ गते राष्ट्रिय सनातन धर्म सम्मेलन गर्ने निर्णय गरेको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved