जनताको काम भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री देउवा

नेपालभ्युज

जनताको काम भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्यो : प्रधानमन्त्री देउवा

धनगढी। प्रधानमन्त्री शेरबहादुर देउवाले जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। नेपाल संघीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको उनले बताए।

उनले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताएका छन्।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताए। उनले भने, “गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुशी लागेको छ।”

यसैगरी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकासका लागि प्रदेश सरकार स्थानीय पालिकासँग साझेदारी गर्न पछि नपर्ने बताए। उनले पश्चिम सेती जलविद्युत् परियोजना र प्रस्तावित गेटा मेडिकल कलेजलाई जतिसक्दो छिटो सञ्चालनमा ल्याउनका लागि पहल हुन जरुरी रहेको बताए।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाले पाँचवर्षे कार्ययोजना अघि बढाएको जानकारी दिए। उनले भने, “सुदूरपश्चिमको प्रवेशद्वार धनगढीको विकास र समृद्धिका लागि प्रदेश र सङ्घीय सरकार विकासका काममा साझेदार बन्न आवश्यक छु।”

नेपाल सरकार र उपमहानगरपालिकाको रु सात करोड २३ लाख ४५ हजारको लागतमा नयाँ भवन निर्माण भएको हो। पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved