वाम गठबन्धनका लागि ‘साइडलाइन बैठक’ : नारायणकाजी पुगे बालकोट, प्रदीप र वर्षमानको बेग्लै दौडाहा

स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो दल भएसँगै माओवादी केन्द्रका नेतासँग एमाले नेताहरूको सम्पर्क बढ्दै गएको छ।

नेपालभ्युज

वाम गठबन्धनका लागि ‘साइडलाइन बैठक’ : नारायणकाजी पुगे बालकोट, प्रदीप र वर्षमानको बेग्लै दौडाहा

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठबीच आइतबार भेटवार्ता भएको छ। आइतबार साँझा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका माओवादी केन्द्रका नेता श्रेष्ठले ओलीसँग वाम गठबन्धनको विषयमा छलफल गरेका हुन्।

श्रेष्ठनिकट माओवादी केन्द्रका एक नेताका अनुसार एमाले अध्यक्ष ओली र श्रेष्ठबीच करीब २ घण्टाको कुराकानीका क्रममा संघीय निर्वाचनमा वाम गठबन्धन गर्ने विषयमा छलफल केन्द्रित भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छलफलबिनै नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई भेट गरेका हुन्।

अमेरिकी सेनाका प्यासिफिक कमाण्डरको नेपाल भ्रमण, अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नेपाल भ्रमण र केही समयपछि हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानसेनापति प्रभुराम शर्माको अमेरिका भ्रमणको चर्चा हुँदै गर्दा माओवादी केन्द्रका नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई भेट गरेका हुन्।

नेपालमा बढ्दै गएको अमेरिकी चासोको परिप्रेक्ष्यमा नेता श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन्। एमाले र माओवादी केन्द्रका केही नेताले संसदमा बोल्दै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणका विषयमा संसदलाई जानकारी दिनुपर्ने माग गर्दै आएका छन्।

यस्तै १६ जेठमा संसदलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपाल सरकारले लिएको एक चीन नीतिका विषयमा प्रश्न उठाएका थिए। जेठको पहिलो साता तीन दिने नेपाल भ्रमणमा आएकी अमेरिकी उपविदेशमन्त्री जियाले नेपालमा रहेका तिब्बती शरणार्थी शिविर भ्रमण गरेको प्रसंगलाई उठाउँदै ओलीले एक चीन नीतिमा सरकारको धारणा के हो भन्दै प्रश्न उठाएका थिए।

श्रेष्ठ निकट नेताहरूले एमाले अध्यक्ष ओलीसँगको भेटलाई वाम गठबन्धनसँग भन्दा देशमाथि बढ्दै गएको भूराजनीतिक दबाब कारण भएको बताएका छन्। उनी निकट नेताहरूले यस्तो दाबी गरे पनि पार्टीभित्रै कम्जोर रहेका नेता श्रेष्ठले वाम गठबन्धनका विषयमा छलफल गर्न ओलीलाई भेट गरेको स्रोतको दाबी छ।

स्थानीय तहको निर्वाचनमा गोरखाको ११ स्थानीय तहमा माओवादी केन्द्रले ९ स्थानीय तहमा जित्दा दुई स्थानमा हार व्यहोरेको थियो। श्रेष्ठको क्षेत्रमा पर्ने स्थानीय तहमा माओवादी पराजित भएसँगै श्रेष्ठ पार्टीप्रति संशकित रहेका माओवादी केन्द्रका नेताहरू दाबी गर्छन्। श्रेष्ठको कोटाबाट माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा टिकट दिएका प्रायः नेताले निर्वाचन हारेका कारण पनि श्रेष्ठ पछिल्लो समय वाम गठबन्धनको प्रयासमा लागि परेका बुझ्न सकिन्छ।

स्थानीय तहको निर्वाचनमा एमाले दोस्रो दल भएसँगै माओवादी केन्द्रका नेतासँग एमाले नेताहरूको सम्पर्क बढ्दै गएको छ। ३० वैशाखमा भएको स्थानीय निर्वाचनको मत परिणाम सार्वजनिक हुन लागेसँगै ५ जेठमा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले ऊर्जामन्त्री समेत रहेकी माओवादी केन्द्रकी नेता पम्फा भूसालसँग भेट गरेका थिए।

सिंहदरबारस्थित मन्त्री भूसालको कार्यकक्षमा नै भेट गर्न एमाले उपाध्यक्ष पाण्डे पुगेका थिए। दुई नेताबीच करीब ४५ मिनेट एक्लाएक्लै भेट वार्ता भएको थियो। वार्तामा वाम गठबन्धनको सम्भावनाका विषयमा छलफल भएको भेटघाटका विषयमा जानकार स्रोतको दाबी छ।

यस्तै २८ जेठमा एमाले उपमहासचिव प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता वर्षमान पुनबीच खुमलटारमा भेटवार्ता भएको थियो। माओवादी केन्द्रका अध्यक्ष दाहालको निवास खुमलटारमा छ भने नेता पुन पनि त्यही स्थानमा बस्छन्। एमाले नेता ज्ञवाली र माओवादी केन्द्रका नेता पुनबीच निजी निवासमा नभई खुमलटारमा रहेको एक निजी स्थानमा भेटवार्ता भएको थियो। दुई नेताबीचको भेटघाट पनि वाम गठबन्धनकै विषयमा केन्द्रित रहेको स्रोतको दाबी छ।

एमाले र माओवादी केन्द्रका नेताबीच वाम गठबन्धनका विषयमा अनौपचारिक हिसाबमा छलफल चल्दै गर्दा युवा वाम बहस समूहले वामपन्थी एकताको लागि अभियान शुरु गर्दैछ। एमाले स्थायी समिति सदस्य घनश्याम भूसाल प्रमुख वक्ता रहेने कार्यक्रम १ असारमा काठमाडौँमा आयोजना गर्ने तयारी भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved