जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगिन् अमेरिकी उपविदेशमन्त्री उज्रा जिया

शरणार्थीहरुको बसाइ सहजताका विषयमा पनि उनले चासो व्यक्त गरेकी छन्। शिविरमा बस्ने तिब्बतीहरुसँग पनि अमेरिकी उपविदेशमन्त्री जियाले अन्तरक्रिया गरेकी थिइन्।

नेपालभ्युज

जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगिन् अमेरिकी उपविदेशमन्त्री उज्रा जिया

काठमाडौं। नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर भ्रमण गरेकी छन्।

शनिबार अपराह्न अमेरिकी दूतावासका डेपुटी चिफसहित जिया जाउलाखेल पुगेकी हुन्।

तिब्बती शरणार्थी शिविर पुगेकी अमेरिकी उपविदेशमन्त्री जियाले त्यहाँ रहेका शरणार्थीको स्वास्थ्य लगायत आर्थिक अवस्थाका विषयमा जानकारी लिएकी छन्।

यस्तै, शरणार्थीहरुको बसाइ सहजताका विषयमा पनि उनले चासो व्यक्त गरेकी छन्। शिविरमा बस्ने तिब्बतीहरुसँग पनि अमेरिकी उपविदेशमन्त्री जियाले अन्तरक्रिया गरेकी थिइन्।

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता सेवा लम्साललाई नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री जियाले तिब्बती शरणार्थी शिविर भ्रमणका विषयमा मन्त्रालय अनभिज्ञ रहेको बताएकी थिइन्।

परराष्ट्रले अनभिज्ञता प्रकट गरेको भोलिपल्टै उपविदेशमन्त्री अमेरिकी दूतावास प्रतिनिधिसहित शिविरमा पुगेकी हुन्।

जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमणपछि आजै नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री जियाले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट्दैछिन्। नेपाल अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५ आँै वर्ष पुगेको अवसरमा नेपाल भ्रमणमा आएको बताइए पनि जियाको नेपाल भ्रमणको उद्देश्य तिब्बती शरणार्थी हो।

नेपाल भ्रमणअघि भारतको तीन दिने भ्रमण गरेकी जियाले भारतमा निर्वासित जिवन बिताइरहेका तिब्बती धर्म गुरु दलाई लामालाई भेट्न हिमाञ्चल प्रदेशमा रहेको धर्मशाला पुगेकी थिइन्। त्यहाँ रहेका उनले निर्वासित तिब्बती सरकारका प्रमुख लगायतका व्यक्तसँग भेट्नुका अलावा धर्म गुरु दलाई लामालाई पनि भेटेकी थिइन्।

राष्ट्रपति जो बाइडेनको विशेष दूतका रुपमा भारत र नेपाल भ्रमणमा निस्किएकी उनले लामालाई राष्ट्रपति बाइडेनको सुस्वास्थ्यको सन्देश सुनाएकी थिइन्।

दलाई लामाको उमेर बढ्दै जाँदा पछिल्लो समय अमेरिकाले आगामी दलाई लामाका विषयमा चासो देखाउँदै आएको छ। चीनले लामाको अवतार चीनको मुख्य भूमिमा रहेको दाबी गर्दा अमेरिका र निर्वासनमा रहेका तिब्बती समुदायले चीनको दाबीलाई अस्वीकार गर्दै आएको छ।

नेपाल भ्रमणका क्रममा अमेरिकी उपविदेशमन्त्री जियाले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग नेपालमा रहँदै आएका तिब्बती समुदायको मानव अधिकारको रक्षा गर्न आग्रह गर्दैछिन्। अमेरिकी दूतावासको तयारीलाई नजिकबाट नियालेका गृहमन्त्रालयका अधिकारीका अनुसार तिब्बतीहरुको मानव अधिकारको विषयलाई अमेरिकाले प्राथमिकताका साथ उठाउनेछ।

यस्तै, उपविदेशमन्त्री जियाले गृहमन्त्री बालकृष्ण खाँणसँग पनि भेट्ने कार्यक्रम रहेको छ। नेपालमा हाल करीब १२ हजार तिब्बती शरणार्थी बसोबास गर्छन्। उनीहरुले सन् १९९० पछि शरणार्थी परिचयपत्र पाएका छैनन्।

अमेरिकाले तिब्बती शरणार्थीलाई परिचयपत्र दिन आग्रह गर्दै आएकोमा जियाको भ्रमणमा अमेरिकाले नेपाललाई त्यसका लागि विशेष आग्रह गर्ने विभिन्न स्रोतको दाबी छ।

अमेरिकी सहयोग परियोजना एमसीसी पारित नहुने वातावरण बनाउन र एमसीसीलाई गिजोल्न नेपालको उत्तरी छिमेकी देश चीनले ठूलो भूमिका खेलेको अमेरिकीहरुको विश्वास छ। चीनले नेपालमा एमसीसी पारित नगर्ने वातावरण बनाउन खेलेको भूमिका र नेपालमा आफ्नो क्षेत्रीय शक्ति प्रर्दशन गर्न खोजेको चीन असफल भएसँग अमेरिकाले नेपाली भूमिबाट फेरि तिब्बती कार्ड खेल्न लागेको हो।
यसअघि, नेपालस्थित पश्चिमा नियोगका राजदूतहरुले २१ फागुन जाउलाखेलमा रहेको तिब्बती शरणार्थी शिविरको भ्रमण गरेरे त्यो सन्देश दिएका थिए। १७ फागुनमा नेपालले एमसीसी पारित गरेको थियो भने त्यस लगत्तै नेपालमा रहेका पश्चिमा देशका नियोग प्रमुखहरु जाउलाखेल पुगेका थिए।
तिब्बती शरणार्थीका विषय पश्चिमा देशले उछाल्न सक्ने विषयमा चीन सजग रहँदै आएको छ। पछिल्लो केही वर्ष नेपालमा तिब्बती शरणार्थीको विषयले खास प्राथमिकता पनि पाउन छोडेको थियो।
नेपाल एक चीन नीतिको पक्षपाति देश भएका कारण तिब्बती शरणार्थीलाई नेपालले मान्यता प्रदान गरेको थिएन। तर, एमसीसी प्रकरणमा चिनियाँहरुले नेपालमा खेलेको विश्वासमा रहेका अमेरिकीहरु नेपालमा फेरि तिब्बती शरणार्थीका विषयलाई प्राथमिकतामा राख्ने मनस्थितिमा पुगेको देखिन्छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved