यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरले योजना

नेपालभ्युज

यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरले योजना

काठमाडौं। स्थानीय निर्वाचनबाट काठमाडौं जिल्लाका चार मेयरले शपथ लिएका छन्। शपथका क्रममा दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतले जनताको सेवक भएर काम गर्ने बताए।

शुक्रबार जिल्ला निर्वाचन कार्यालय बबरमहलमा मेयर पदको शपथग्रहणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफू जनताको सेवक भएर दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उनको भनाइ थियो। उनले भने, ‘‘म जनताको सेवक, इमान्दारिताको साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु। दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमान्दारीताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु।’’

कीर्तिपुर नगरपालिकाको मेयर राजकुमार नकर्मीले कीर्तिपुरको मौलिकतालाई संरक्षण गर्दै आर्थिक समृद्धि गर्नु आफ्नो प्रतिवद्धता व्यक्त गरे। उनले कीर्तिपुरलाई विश्वमाझ चिनाउने पनि बताए। उनले भने, ‘‘कीर्तिपुर ऐतिहासिक, सांस्कृतिक, धार्मिक शहर भइकन पनि अपेक्षाकृत विकास भइनसकेको अवस्थामा हाम्रो प्राथमिकता कीर्तिपुरको त्यो गौरवशाली इतिहासलाई जिवन्त राख्दै त्यसको मौलिकतालाई संरक्षण, प्रवर्द्धन गर्दै आर्थिक समृद्धितिर लग्नु नै हाम्रो प्रतिवद्धता हुनेछ। त्यस निम्ति विजयी टिम प्रतिवद्ध छौँ। किर्तिपुरलाई विश्वमाझ चिनाउने छौँ।’’

चन्द्रागिरी नगरपालिकाको मेयर घनश्याम गिरीले नगरबासीलाई डिजिटल प्रणालीमार्फत् घरमै बसेर सेवा लिने वातावरण बनाउने बताए। उनले उत्पादन, रोजगार र बजारीकरणमार्फत् नगरको आर्थिक विकास गर्न ध्यान दिने बताए। उनले भने, ‘‘उत्पादन, रोजगार र बजारीकरणमार्फत् नगरपालिकालाई आर्थिक विकास र मानव विकास तर्फ हामी ध्यान केन्द्रीत गर्नेछौँ। नगरपालिकालाई प्रविधियुक्त सुशासनमार्फत्, डिजिटल प्रणालीमार्फत् सम्पूर्ण नगरबासिले घरमै बसेर सेवा लिने वातावरण पाँच वर्षभित्र गर्नेछौँ।’’

टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले नगरपालिकाको प्रशासनिक काम छिटो, छरितो बनाउने बताए। उनले आफ्नो पाँच वर्षे कार्यकालमा खानेपानीको समस्या समाधान गर्ने उनको भनाइ थियो। स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने उनले प्रतिवद्धता व्यक्त गरे। उनले भने, ‘‘टोखाले समृद्ध नगरपालिकाको रुपमा रुपान्तरण हुने हिसाबले अगाडी बढ्ने छौँ। डिजिटल माध्यमद्वारा प्रशासनिक काम कसरी छिटो, छरितो हुन्छ भन्ने सन्दर्भमा हाम्रो दृष्टिकोण अगाडी सार्ने छौँ। खानेपानीको विषय पेचिलो बनेको छ। मेरो पाँच वर्षे कार्यकालमा पूर्णता दिने लक्ष्यका साथ परियोजनाहरू अगाडी सार्नेछु। स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रलाई मुख्य प्राथमिकता राखेर मैले आफ्नो परियोजना अगाडि सार्नेछु।’’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved